कीवर्डहरू -

फोनपेले सुरू गर्‍यो भर्चुअल क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग एपबाटै लिन सकिने

फोनपेले सुरू गर्‍यो भर्चुअल क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग एपबाटै लिन सकिने

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्तर्गत फोनपेले नेपालमा पहिलो पटक पूर्णरूपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसंगको सहकार्यमा सुरुवात गरेको हो । 

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई फोनपे कार्ड स्किम अन्तर्गत रहेर पूर्णरूपमा डिजिटल क्रेडिट कार्ड (फोनपे भर्चुअल कार्ड) आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत उपलब्ध गराउन सक्नेछन् । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । सिटिजन्स बैंकका ग्राहकहरुले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत लिन सक्ने छन् ।  

नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम परियोजना अन्तर्गत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम फोनपे क्रेडिट कार्ड स्किम सञ्चालनमा ल्याउन लागिएको हो । 

यस फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानी उद्योगलाई पुनः परिभाषित गर्ने विश्वास फोनपेले लिएको छ । उक्त क्रेडिट कार्ड पुर्णरुपमा डिजिटल अनबोर्डिङ्ग र जारी हुने तथा हाल फोनपे क्युआरमा आबद्ध करिब १४ लाख व्यावसायीहरुको स्थानहरुमा निर्बाद रुपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।  

फोनपेका सीईओ दिवस सापकोटाले नेपालमा भुक्तानीको नयाँ उपकरणको रूपमा फोनपे कार्ड स्किम प्रस्तुत गर्न पाउँदा उत्साहित भएको बताए । यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ, यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने उनको भनाइ छ ।

फोनपे नेपाल राष्ट्र बैंकद्वारा नियमन गरिएको र भुक्तानी प्रणाली सञ्चालकको इजाजतपत्र प्राप्त संस्था हो जसले अन्तर–बैंक व्यक्ति–देखि–व्यक्ति (पीटुपी) र व्यक्ति–देखि–व्यापारी (पीटुएम) कारोबारहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरू मार्फत सुविधा दिन्छ ।