नेपालमा पहिलो पटक सामाजिक सञ्जाल टिकटक आधिकारिक रूपमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको जानकारीअनुसार टिकटकले आवश्यक कागजात पेश गर्दै तिहारअघि नै दर्ता प्रक्रिया पूरा गरेको थियो। मंगलबार टिकटकका प्रतिनिधिले आधिकारिक दर्ता प्रमाणपत्र लिएको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए।
सामाजिक सञ्जाललाई व्यवस्थित गर्न तयार गरिएको निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ अनुसार टिकटक नेपालमा दर्ता भएको हो। यससँगै टिकटक अब नेपालको ऐन र नियमहरूको परिपालना गर्दै सञ्चालनमा आउनेछ। टिकटकले नेपालको कानूनी व्यवस्था मान्न, पर्यटन प्रवर्द्धनमा सहयोग गर्न, डिजिटल साक्षरतामा योगदान गर्न तथा साइबर अपराध नियन्त्रणमा सरकारलाई सघाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
मन्त्रालयका प्रवक्ता ठाकुरका अनुसार टिकटकले नेपाल सरकारसँगको सहकार्यलाई प्रगाढ बनाउँदै आपत्तिजनक सामग्री हटाउनका लागि आवश्यक कदम चाल्ने, र नेपालमा राजस्व पनि प्रदान गर्ने प्रतिवद्धता जनाएको छ। टिकटकको सिंगापुरस्थित कार्यालयले नेपालमा रहेका गतिविधि नियमन गर्ने जिम्मा लिएको छ।
गत वर्ष नेपाल सरकारले टिकटकलाई देशभरि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। यो निर्णयमा केही दल र नागरिक समाजका समूहले विरोध जनाएका थिए। प्रतिबन्धको निर्णय फुकुवा गर्दै हालका सरकारले टिकटकलाई निर्देशिकाको सर्तहरू पूरा गर्दै आधिकारिक रूपमा दर्ता गर्न अनुमति दिएको हो।