कीवर्डहरू -

गुनासो पेटिका ‘इतिहास’ बन्दै, प्रशासन डिजिटल सेवातर्फ मोडिँदै

गुनासो पेटिका ‘इतिहास’ बन्दै, प्रशासन डिजिटल सेवातर्फ मोडिँदै

महोत्तरी । सरकारी कार्यालयहरूमा सेवाग्राहीका गुनासा, सुझाव तथा उजुरी संकलनका लागि राखिएका ‘गुनासो पेटिका’ पछिल्लो समय प्रयोगविहीन बन्दै गएका छन् ।

संघ, प्रदेश र स्थानीय तहका अधिकांश कार्यालयमा राखिएका यस्ता पेटिका प्राय: रित्तै रहने गरेका छन् भने कतिपय कार्यालयमा लामो समयदेखि नखोलिएको अवस्था समेत देखिएको छ ।

पहिले सेवाग्राहीका उजुरी तथा सुझाव संकलन हुने गरेपनि अहिले पेटिका खाली भेटिने प्रवृत्ति बढेको सम्बन्धित कार्यालयहरूले जनाएका छन् ।

महोत्तरीको गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोका अनुसार आफू निर्वाचित भएको चार वर्षको अवधिमा गुनासो पेटिकामा कुनै पनि उजुरी नपरेको बताए । उनका अनुसार सेवाग्राहीले आफ्नो समस्या प्रत्यक्ष रूपमा जनप्रतिनिधि वा कार्यालय प्रमुख समक्ष राख्ने प्रवृत्ति बढेकाले पेटिकाको प्रयोग घटेको हो ।

यस्तै, औरही नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार खड्काले पनि सेवाग्राहीसँग प्रत्यक्ष भेटघाट बढेकाले गुनासो पेटिका प्रयोगमा नआएको बताए । उनका अनुसार समस्या सिधै जनप्रतिनिधि तथा कर्मचारी समक्ष राख्ने अभ्यास विकसित हुँदै गएको छ ।

सेवाग्राहीको अत्यधिक चाप हुने जिल्ला प्रशासन कार्यालय महोत्तरीमा समेत गुनासो पेटिका प्रभावकारी रूपमा प्रयोग हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सेवाग्राहीले आफ्ना गुनासा सिधै कार्यालयमै पुगेर वा सम्बन्धित अधिकारीसँग सम्पर्क गरेर राख्ने भएकाले पेटिकाको प्रयोग घटेको हो ।

सूचना प्रविधिको विकाससँगै गुनासा दर्ता गर्ने शैलीमा पनि परिवर्तन आएको देखिएको छ । बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीका अनुसार धेरै कार्यालयहरूले अहिले आफ्ना वेबसाइटमार्फत अनलाइन गुनासो तथा उजुरी दर्ता गर्ने व्यवस्था गरेका छन् ।

मालपोत तथा भूमिसुधार कार्यालय जलेश्वरमा पनि गुनासो पेटिका खाली रहने गरेको छ । कार्यालयका सूचना अधिकारी अजयकुमार कर्णका अनुसार सेवाग्राहीले समस्या परे सिधै कार्यालय प्रमुखसँग सम्पर्क गर्ने तथा कतिपयले सामाजिक सञ्जालमार्फत पनि गुनासा सार्वजनिक गर्ने गरेका छन् ।

त्यस्तै, सूचनाको हकका क्षेत्रमा क्रियाशील धर्वेन्द्रकुमार यादवले गुनासो पेटिका राम्रो व्यवस्था भएपनि यसको प्रभावकारी प्रयोगबारे पर्याप्त जानकारी नहुँदा प्रयोग घटेको बताए । उनका अनुसार नियमित निगरानी र व्यवस्थापन अभावले यसको महत्व कमजोर हुँदै गएको छ ।

सूचना प्रविधिको विस्तारसँगै अनलाइन गुनासो प्रणाली र प्रत्यक्ष सम्पर्कको अभ्यास बढ्दै गएको भएपनि परम्परागत गुनासो पेटिका भने क्रमशः औपचारिकतामा सीमित हुँदै इतिहास बन्ने देखिएको छ ।