काठमाडौं । विश्वभर विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको प्रमुख प्राथमिकता बन्न थालेको छ । यही आवश्यकतालाई ध्यानमा राख्दै जीडब्लुएमले आफ्नै ब्याट्री प्रविधिमार्फत विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्ने प्रयास गरेको जनाएको छ ।
धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भएपनि जीडब्लुएम विश्वका ती सीमित अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी एसभोल्ट इनर्जीमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ । यसले ब्याट्रीको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि कम्पनीलाई प्रत्यक्ष नियन्त्रण कायम गर्न सहयोग पुगेको जनाएको छ ।
नेपालमा हालै सार्वजनिक गरिएको जीडब्लुएम ओरा ५ विद्युतीय एसयूभीमा प्रयोग गरिएको ड्रागन आर्मर ब्याट्री पनि जीडब्लुएमअन्तर्गतको अत्याधुनिक ब्याट्री निर्माता कम्पनी एसभोल्ट इनर्जीले विकास तथा उत्पादन गरेको हो ।
वर्षौंको अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले उच्च सुरक्षा, आगो तथा पानी प्रतिरोधी क्षमता, लामो दूरीसम्मको यात्रा क्षमता, छिटो चार्ज हुने सुविधा तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्रविधिमा समेटेको कम्पनीले जनाएको छ ।
‘ड्रागन आर्मर’ नाम यसको विशेष आन्तरिक संरचनाका कारण राखिएको हो । ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा मिलाएर राखिएका छन् । यसले विशेष प्रकारको तलतर्फ हावा निकास हुने प्रणाली निर्माण गर्छ ।
कम्पनीका अनुसार कुनै असामान्य अवस्थामा अत्यधिक ताप वा आगो उत्पन्न भएपनि उक्त प्रणालीले त्यसलाई यात्रु बस्ने भागतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्न सहयोग गर्छ । यही संरचनाका कारण यो ब्याट्रीले यात्रुको सुरक्षाका लागि थप सुरक्षा कवचको भूमिका निर्वाह गर्ने बताइएको छ ।
जीडब्लुएमका अनुसार ड्रागन आर्मर ब्याट्रीले विद्युतीय सवारीसाधनको सुरक्षा प्रविधिमा नयाँ आयाम थप्दै उपभोक्तालाई अझ सुरक्षित र भरपर्दो यात्रा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
आईसीटी समाचार