कीवर्डहरू -

ह्वाट्सएपमा लुकेको सुरक्षा फिचर, प्रयोगकर्ताको अकाउन्ट सुरक्षित बनाउन उपयोगी

ह्वाट्सएपमा लुकेको सुरक्षा फिचर, प्रयोगकर्ताको अकाउन्ट सुरक्षित बनाउन उपयोगी

ह्वाट्सएप विश्वकै सबैभन्दा लोकप्रिय मेसेजिङ एपहरूमध्ये एक बनेको छ र आज व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि व्यापक रूपमा प्रयोग हुँदै आएको छ।

यही व्यापक प्रयोगका कारण ह्वाट्सएप अकाउन्टको सुरक्षा प्रयोगकर्ताका लागि अत्यन्तै महत्वपूर्ण विषय बन्दै गएको छ। पछिल्लो समय साइबर ठगहरूले नक्कली फाइल, शंकास्पद लिंक र हानिकारक अट्याचमेन्टमार्फत प्रयोगकर्तालाई ठगी गर्ने प्रयास बढाइरहेका छन्।

यस्ता जोखिमलाई न्यूनिकरण गर्न ह्वाट्सएपमा एउटा उपयोगी तर धेरैलाई थाहा नभएको सुरक्षा फिचर उपलब्ध रहेको छ। ह्वाट्सएपले केही समयअघि आफ्नो प्राइभेसी सेटिङ अन्तर्गत ‘स्ट्रिक्ट अकाउन्ट सेटिङ’ नामक फिचर ल्याएको हो, जसले प्रयोगकर्तालाई शंकास्पद गतिविधिबाट जोगाउन सहयोग गर्छ। तर जानकारीको अभावका कारण धेरै प्रयोगकर्ताले यो फिचर अझै सक्रिय गरेका छैनन्।

यो सुरक्षा फिचर अन गरेपछि अपरिचित वा शंकास्पद स्रोतबाट आउने फाइल, लिंक र अट्याचमेन्ट स्वतः ब्लक हुने व्यवस्था हुन्छ। यसले प्रयोगकर्ताको मोबाइलमा मालिसियस फाइल डाउनलोड हुनबाट रोक्नुका साथै अकाउन्ट ह्याक हुने सम्भावनालाई पनि कम गर्छ, जसले डिजिटल सुरक्षालाई थप मजबुत बनाउँछ।

‘स्ट्रिक्ट अकाउन्ट सेटिङ’ सक्रिय गर्न प्रयोगकर्ताले ह्वाट्सएप खोलेर सेटिङ्समा जानु पर्छ। त्यसपछि प्राइभेसी विकल्प छानेर तल स्क्रोल गरी एड्भान्स सेक्सनमा प्रवेश गर्नुपर्छ। त्यहाँ ‘स्ट्रिक्ट अकाउन्ट सेटिङ’ चयन गरी नेक्स्टमा क्लिक गरेपछि यो फिचर अन हुन्छ।

हाल यो सुविधा सबै ह्वाट्सएप प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छैन। कम्पनीका अनुसार आगामी अपडेटहरूमार्फत यो सुरक्षा फिचर क्रमशः सबै अकाउन्टमा उपलब्ध गराइनेछ। डिजिटल ठगीका घटना बढिरहेका सन्दर्भमा यस्ता सुरक्षा फिचरको प्रयोगले प्रयोगकर्तालाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।