कीवर्डहरू -

आईफोन १७ एयर पोर्ट-फ्री बन्ने सम्भावना, म्यागसेफ चार्जिङ भने रहने

आईफोन १७ एयर पोर्ट-फ्री बन्ने सम्भावना, म्यागसेफ चार्जिङ भने रहने

एप्पलको आउँदै गरेको आईफोन १७ एयर सम्बन्धी नयाँ जानकारीहरू लगातार बाहिर आइरहेका छन् । रिपोर्टहरूका अनुसार, यो फोन आफ्नो अल्ट्रा–स्लिम डिजाइनको कारणले गर्दा केही महत्वपूर्ण विशेषताहरू हटाउन सक्ने अनुमान गरिएको छ ।

यी विशेषताहरूमा फिजिकल सिम ट्रे र डुअल क्यामेरा जस्ता सुविधाहरू सामेल छन् । अब, ब्लूमबर्गका मार्क गुरमनको नयाँ रिपोर्टअनुसार, यो सूचीमा चार्जिङ पोर्टको अभाव पनि थपिन सक्ने अनुमान गरिएको छ, जसको अर्थ फोनमा चार्जिङ पोर्ट नहुन सक्छ ।

आईफोन १७ एयर कम्पनीको पहिलो पूर्ण रूपमा पोर्ट–फ्री आईफोन बनाउनतर्फको ठूलो कदम मानिएको छ । मार्क गुरमनको रिपोर्टले देखाउँछ कि आईफोन १७ एयर एप्पलको पोर्ट–फ्री भविष्यको सुरूवातको संकेत दिएको छ । यदि यो मोडेल सफल भएमा, एप्पल भविष्यमा अन्य मोडेलहरूलाई पनि यो पातलो डिजाइनमा परिवर्तन गर्ने योजना बनाउन सक्ने छ ।

यसअघि, प्रसिद्ध एप्पल सप्लाई चेन एनालिस्ट मिंग–ची कुओले सन् २०२१ मा एप्पलले चार्जिङ पोर्टबिना आईफोन लन्च गर्नेछ भनेर भविष्यवाणी गरेका थिए, तर अहिलेसम्म त्यो वास्तविकता बन्न सकेको छैन् । एप्पलले आफ्नो लाइटनिङ पोर्ट हटाएर यूएसबीसी पोर्ट अपनाइसकेको छ, तर पूर्ण रूपमा चार्जिङ पोर्टबिनाको आईफोन अहिले पनि एउटा अधुरो सपना नै छ ।

चार्जिङ पोर्ट हटाउने चर्चा भइरहेकै बेला, आईफोन १७ एयरमा म्यागसेफ चार्जिङ सपोर्ट रहनेछ भन्ने पुष्टि भएको छ । पहिले अनुमान गरिएको थियो कि एप्पलले आईफोन १६ई मोडेलझैं आईफोन १७ एयर बाट पनि म्यागसेफ चार्जिङ हटाउन सक्ने छ ।

तर विश्वसनीय टिप्स्टर सन्नी डिक्सनद्वारा लीक गरिएको डमी इमेजले यो दाबी गलत साबित गरेको छ । हालै लीक भएका डमी मोडेलहरू सही साबित भएमा, आईफोन १७ एयरमा म्यागसेफ चार्जिङ अवश्य उपलब्ध हुनेछ, यद्यपि यसको अल्ट्रा–स्लिम डिजाइन ले केही शंका उत्पन्न गर्न सक्छ ।