नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अवैध कल सेन्टर सञ्चालनमा संलग्न दुई भारतीयसहित ५३ जनालाई पक्राउ गरेको छ ।
ललितपुरको सातदोबाटोमा पाँच तले घरको चौथो तला भाडामा लिएर अवैध कल सेन्टर सञ्चालनमा संलग्न ५३ जनालाई सीआईबीले पक्राउ गरेको हो ।
नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैरकानुनी काममा लगाई रहेको भन्ने बिशेष सुचनाको आधारमा ब्यूरोले ५२ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
उनीहरूको साथबाट कल सेन्टरमा प्रयोग गरिएका कम्प्यूटर, मोबाईल लगायतका ईलेक्ट्रोनिक्स उपकरणहरु नियन्त्रणमा समेत लिइएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा सो कल सेन्टरबाट सिंगल लट्री, अन्ना लट्री, बाहु लट्री र इन्डुस बेट लगायतका ग्याब्लिङ एप्सहरूको दूरूपयोग गरी अनलाइन सट्टेबाजी गर्ने गरेको देखिएको छ ।
पक्राउ गरिएका भारतीय नागरिकहरु, केही समय अगाडि विभिन्न देशहरुमा सोही प्रकृतिको कारोबारमा संलग्न भएको र यसै समुहले हाल विभिन्न सात देशहरुमा समेत अवैध सट्टेवाजी क्रियाकलाप संचालन गरीरहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सीईबीले जनाएको छ ।
नेपालमा भने विगत ९ महिना देखि प्रोलिंक टेक सोलुसन प्रालि नामक कम्पनी दर्ता समेत गरेर कल सेन्टर खोली अवैध अनलाइन सट्टेबाजी संचालन गरिरहेको पाईएको छ ।
प्रारम्भिक अनुसन्धान पश्चात घटनामा संलग्न मुख्य ७ (२ विदेशी र ५ नेपाली नागरिक) जना उपर "मुलुकी अपराध संहिता, २०७४ (संशोधन सहित) परिच्छेद ५ दफा १२५ (४) 'सट्टाबाजी गर्न नहुने' सम्बन्धि कसुर अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको र बाँकी ४६ जना उपर थप अनुसन्धान कार्य भईरहेको सीआईबीले जानकारी दिएको छ ।
यस्तै प्रकारको अवैध कारोवार बिभिन्न स्थानहरुमा पनि संचालन हुन सक्ने भएकोले यस्ता गतिबिधीमा आफु संलग्न नहुन र आफना छरछिमेकमा यस्ता अवैध गतिविधी भएमा नेपाल प्रहरीलाई जानकारी गराउन हुन सीआईबीले अनुरोध समेत गरेको छ ।