कीवर्डहरू -

ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवक पक्राउ

ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवक पक्राउ

काठमाडौं । ई-सेवा डिजिटल वालेटको नक्कली कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको माधव नारायण नगरपालिका वडा नं. २ बस्ने २२ वर्षीय शुभम साह रहेका छन् ।

पक्राउ परेका साहले तपाईंको ई-सेवामा धेरै रिवार्ड पोइन्ट छ, किन प्रयोग नगरेको भन्दै विभिन्न नम्बरबाट फोन गरी झुक्याएर पीडितको ई-सेवा खाताबाट १ लाख ९८ हजार ४ सय ९९ रुपैयाँ इभोलुसन ट्रेडिङ प्रालिको ई-सेवा आईडीमा ट्रान्सफर गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

सो रकमबाट साहले आइफोन १७ मोबाइल समेत खरिद गरी लगेको प्रहरीले जनाएको छ । साइबर ब्यूरोबाट खटिएको विशेष टोलीले साहलाई असार २ गते पक्राउ गरेको हो ।

पक्राउ पर्ने क्रममा उनको साथबाट ४ थान मोबाइल फोन, ४ थान सिमकार्ड र ठगी गर्ने प्रयोजनका लागि टिपोट गरिएका १५३ जना मानिसहरूको ई-सेवा आईडी र मोबाइल नम्बरहरू समेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका साह यसअघि पनि दुई पटक यस्तै प्रकृतिको ठगी मुद्दामा पक्राउ परी अदालतबाट धरौटीमा रिहा भएका व्यक्ति हुन् । 

हाल निज उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।