कीवर्डहरू -

एआईको दुरुपयोगले बढायो साइबर अपराध, प्रहरीको आग्रह- ‘अनलाइनका सबै कुरा नपत्याउनू’

एआईको दुरुपयोगले बढायो साइबर अपराध, प्रहरीको आग्रह- ‘अनलाइनका सबै कुरा नपत्याउनू’

काठमाडौं । नेपाल प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा सिर्जना तथा प्रसारण भइरहेका आपत्तिजनक सामाग्रीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समय एआई प्रविधिको दुरुपयोगमार्फत विभिन्न व्यक्ति तथा संघसंस्थाको कृत्रिम फोटो तथा भिडियो सिर्जना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्रहत्या गर्ने तथा अश्लील सामग्री निर्माण र प्रसारण गर्ने गतिविधि बढिरहेको जनाएको छ । यस्ता गतिविधिबाट आमजनमानसमा त्रास सिर्जना गर्ने कार्य समेत भइरहेको ब्यूरोले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार यस्ता कार्य नैतिक रूपमा गलत हुनुका साथै कानुनी रूपमा समेत दण्डनीय हुन्छन् । प्रविधिको दुरुपयोग गरी कसैलाई त्रास सिर्जना गर्ने, चरित्रहत्या गर्ने वा अन्य गैरकानुनी गतिविधि गर्ने व्यक्ति तथा संघसंस्थालाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनी प्रहरीले दिएको छ ।

साइबर ब्यूरोले अनलाइन माध्यममा भेटिने हरेक विषयलाई तत्काल विश्वास नगर्न र सूचना लिनुपरेमा विश्वसनीय तथा आधिकारिक स्रोतबाट मात्र जानकारी लिन आम नागरिकलाई आग्रह गरेको छ । प्रहरीले एआई लगायत आधुनिक प्रविधिको जिम्मेवार प्रयोग गर्न तथा प्रविधिको दुरुपयोगबाट सिर्जना हुने सामाग्रीप्रति सजग रहन सर्वसाधारणलाई अनुरोध गरेको हो ।