काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत भ्रामक सूचना तथा अफवाह फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धीखर्क नगरपालिका ९ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका १३ बस्दै आएका ३९ वर्षीय जनक भुसाल रहेका छन् ।
उनी ‘नेपाली खबर टीभी’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका थिए । साइबर ब्यूरोका अनुसार भुसालले सामाजिक सञ्जालमा फलोअर्स बढाउने तथा आर्थिक लाभ लिने उद्देश्यले राज्यको विद्यमान परिस्थितिमा प्रत्यक्ष असर पार्ने खालका भ्रामक र अफवाहपूर्ण भिडियो सामग्री प्रसारण गरेको आरोप छ ।
प्रहरीका अनुसार उनले जातीय तथा धार्मिक हिंसा भड्काउन सक्ने, ध्वंसात्मक गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई उत्तेजित पार्ने, कानुनले प्रकाशन तथा प्रसारण गर्न निषेध गरेका सामग्री सार्वजनिक गर्ने तथा विभिन्न जातजाति र समुदायबीचको सामाजिक सद्भावमा खलल पुग्ने प्रकृतिका सामाग्री प्रसारण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सामाजिक सञ्जालको नियमित निगरानी तथा प्राविधिक विश्लेषणका क्रममा उक्त गतिविधि फेला परेपछि इलाका प्रहरी कार्यालय बुटवलको समन्वयमा साउन १६ गते उनलाई बुटवलबाट पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।
साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार भुसालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आईसीटी समाचार