कीवर्डहरू -

फेसबुकबाट जागिरको अफर, बैंक खाताबाट रकम गायब : पाँच जना पक्राउ

फेसबुकबाट जागिरको अफर, बैंक खाताबाट रकम गायब : पाँच जना पक्राउ

काठमाडौं । फेसबुकमार्फत वैदेशिक रोजगारीको आकर्षक विज्ञापन देखाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । साइबर ब्युरोले अनलाइन ठगीसँगै अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक नेपाली र चार बंगलादेशी नागरिकलाई नियन्त्रणमा लिएको हो ।

ब्युरोका अनुसार पक्राउ परेकाहरूले फेसबुकमा कतारस्थित कम्पनीमा अन्तर्वार्ताबिनै (डाइरेक्ट हायर) रोजगारी पाइने भन्दै विज्ञापन प्रकाशित गरी सेवाग्राहीलाई प्रलोभनमा पार्ने गरेका थिए । त्यसपछि उनीहरूलाई शंकास्पद मोबाइल एप डाउनलोड गर्न लगाई बैंक खातामा रहेको रकम अनधिकृत रूपमा अन्य खातामा स्थानान्तरण गरी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनापछि परेको उजुरीका आधारमा गरिएको प्राविधिक विश्लेषण र अनुसन्धानका क्रममा संलग्न पाँच जनालाई असार २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश जान लागेका बेला पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

अनुसन्धानका क्रममा उनीहरू बाइनान्स (Binance) प्लेटफर्ममार्फत क्रिप्टोकरन्सी तथा यूएसडीटी (USDT) कारोबारमा समेत संलग्न रहेको खुलेको प्रहरीको दाबी छ ।

पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका ९ स्थायी घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने २१ वर्षीय सुभाष कुमार मण्डल तथा बंगलादेशका एमडी जुबायर अहमेद (२५), एमडी नुर आलम (२६), एमडी नासिम मिया (२४) र एमडी रानी कमाल (२७) रहेका छन् ।

पक्राउ परेकाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।