कीवर्डहरू -

संघीय निजामती सेवामा ‘नेपाल सूचना प्रविधि सेवा’ थप, अब ११ वटा सेवा समूह रहने

संघीय निजामती सेवामा ‘नेपाल सूचना प्रविधि सेवा’ थप, अब ११ वटा सेवा समूह रहने

संघीय निजामती सेवामा अब ११ वटा सेवा समूह रहने भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्तावित निजामती सेवा विधेयकको दफा ५ सर्वसम्मत रूपमा पारित गरेपछि यो निर्णय आएको हो ।

हाल निजामती सेवामा १० वटा समूह छन्, तर नेपाल सूचना प्रविधि सेवा समूह थपिएसँगै अब सेवा समूहको संख्या ११ पुगेको हो।

यसअघि सांसदहरूले संसद् सेवा र स्वास्थ्य सेवा पनि निजामती सेवाभित्र राख्नुपर्ने प्रस्ताव राखेका थिए। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यी सेवा विशिष्ट प्रकृतिका भएकाले छुट्टै राख्नुपर्ने तर्क गरे । संसद् सेवाको स्वायत्ततालाई समेत ध्यानमा राख्दै यसलाई छुट्टै राखिएको बताइएको छ।

यद्यपि, स्वास्थ्य सेवा र संसद् सेवाबारे पुनः छलफल गरिने समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

नयाँ संरचनाअनुसार संघीय निजामती सेवाका ११ समूह यस प्रकार रहनेछन्:

  1. नेपाल प्रशासन सेवा
  2. नेपाल लेखापरीक्षण सेवा
  3. नेपाल वन सेवा
  4. नेपाल विविध सेवा
  5. नेपाल शिक्षा सेवा
  6. नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा
  7. नेपाल इन्जिनियरिङ सेवा
  8. नेपाल कृषि सेवा
  9. नेपाल न्याय सेवा
  10. नेपाल परराष्ट्र सेवा
  11. नेपाल सूचना प्रविधि सेवा

समितिले यसअघि नै दफा १, ३, र ४ पारित गरिसकेको छ। १४७ दफाहरू रहेको प्रस्तावित विधेयकमा बुधबार दफा ५ मात्रै पारित भएको हो। अब बाँकी दफाहरूमा छलफल हुने र आवश्यक परिमार्जनपछि विधेयकलाई संसद्मा टेबल गरिनेछ।