काठमाडौं । एक्सले आफ्ना प्रयोगकर्ताहरूका लागि केही कडा नियम र एक्शन लिमिटहरू तय गरिदिएको छ । अब तपाईंले दिनभरिमा कति पोस्ट गर्न सक्नुहुन्छ, कति डायरेक्ट मेसेज (डीएम) पठाउन सक्नुहुन्छ र कति मानिसलाई फोलो गर्न सक्नुहुन्छ भन्ने कुरामा कम्पनीले सीमा तोकेको छ ।
कम्पनीको भनाइ छ कि यी लिमिटहरू यसकारण लगाइएका हुन् ताकि संसारभरिका करोडौं प्रयोगकर्ताका लागि यो एप कुनै समस्या वा क्र्यास (सर्भर डाउन) बिना स्मुथ रूपमा चलिरहोस्। यी लिमिटहरू के हुन् र कसरी काम गर्छन्, आउनुहोस् जानौं ।
सबैभन्दा पहिले तपाईंले जान्नुपर्ने कुरा के हो भने यी लिमिट तपाईंको सम्पूर्ण अकाउन्टमा लागू हुन्छन् । तपाईं मोबाइल एप (एन्ड्रोइड/आईओएस) चलाइरहनुभएको होस्, वेब ब्राउजर प्रयोग गरिरहनुभएको होस् वा कुनै थर्ड-पार्टी टूल, तपाईंका सबै गतिविधिहरू एकैसाथ गनिन्छन् ।
यदि एक्सका दैनिक लिमिटहरूको कुरा गर्ने हो भने यहाँ हरेक गतिविधिका लागि छुट्टै दायरा तय गरिएको छ । उदाहरणका लागि, स्प्याम रोक्नका लागि तपाईंले एक दिनमा अधिकतम ४०० नयाँ अकाउन्टहरू मात्र फोलो गर्न सक्नुहुन्छ । यसबाहेक, जब तपाईंको अकाउन्टले ५ हजार मानिसलाई फोलो गरिसक्छ, त्यसपछि अझ बढी मानिसलाई फोलो गर्ने क्षमता तपाईंका आफ्नै कति फोलोअर्स छन् र कस्तो एंगेजमेन्ट छ भन्ने कुरामा निर्भर गर्छ ।
त्यसैगरी, पोस्ट र रिप्लाई गर्ने पनि आफ्नै सीमा छ । यदि तपाईंको अकाउन्ट भेरिफाइड छैन भने, अर्थात् तपाईंकोसँग ब्लू टिक छैन भने, तपाईंले एक दिनमा करिब ५० नयाँ पोस्ट र २०० रिप्लाई गर्न सक्नुहुन्छ । समग्र प्लेटफर्मका लागि एक दिनको अधिकतम सीमा २,४०० पोस्टको छ । तर एक्सले यो कोटालाई हरेक आधा घण्टाको हिसाबले साना-साना भागमा बाँडिदिन्छ, ताकि कुनै पनि प्रयोगकर्ताले एकैचोटि लगातार धेरै पोस्ट गर्न नसकोस् ।
यो बाहेक, जसले आफ्नो एक्स अकाउन्टलाई कुनै शेड्युलिङ एप वा एनालिटिक्स टूलसँग जोडेर राख्छन्, उनीहरूका लागि प्रति घण्टाका हिसाबले एउटा एपीआई लिमिट तय हुन्छ । यस्तो अवस्थामा, यदि तपाईंले एकैसाथ धेरै थर्ड-पार्टी टूलहरू प्रयोग गर्नुभयो भने तपाईंको यो लिमिट तोकिएको समयअगावै समाप्त हुन सक्छ ।
लिमिट सकियो भने के हुन्छ ?
यदि तपाईंले दिनभरिका पोस्ट, मेसेज वा फोलो गर्ने लिमिट पार गर्नुभयो भने पनि धेरै चिन्ता लिनु पर्दैन । यस्तो अवस्थामा एक्सले तपाईंको स्क्रिनमा तुरुन्तै एउटा एरर मेसेज देखाउँछ । त्यसबाट तपाईंलाई कुन लिमिट पार भएको हो भन्ने थाहा हुन्छ ।
यो अकाउन्ट ब्यान वा स्थायी सजाय होइन, बरु टाइम-बेस्ड सिस्टम हो । यसको मतलब तपाईंले केवल त्यही लिमिटको टाइमर रिसेट हुन कुर्नुपर्छ । यसमा केही घण्टा वा अर्को दिन पनि लाग्न सक्छ । जति बेला यो समय पूरा हुन्छ, तपाईंको अकाउन्ट फेरि सामान्य अवस्थामा फर्कन्छ र तपाईंले पुनः पोस्ट वा मेसेज गर्न सक्नुहुन्छ ।
यद्यपि, यो पनि ध्यानमा राख्नुपर्छ कि कहिले काहीँ प्लेटफर्ममा अचानक धेरै ट्राफिक आउँदा एक्सले आफ्ना सर्भर क्र्यास हुन नदिन यी लिमिटहरू केही समयका लागि अझै कम पनि गरिदिन्छ ।
आईसीटी समाचार