कीवर्डहरू -

भ्रामक सन्देशमार्फत साइबर ठगी बढ्दै, सचेत रहन नेपाल टेलिकमको आग्रह

भ्रामक सन्देशमार्फत साइबर ठगी बढ्दै, सचेत रहन नेपाल टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले SMS सेवाको दुरुपयोग गर्दै ConnectIPS लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढेको भन्दै ग्राहकलाई सतर्क रहन आग्रह गरेको छ ।

टेलिकमले जारी गरेको सूचनाअनुसार केही व्यक्तिहरूले बैंक खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको बहाना बनाउँदै ग्राहकलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गर्ने गरेका छन् । यस्ता गतिविधि फिसिङ (Phishing) प्रकृतिका साइबर ठगीका प्रयास भएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले ग्राहकहरूलाई अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, OTP, Password, PIN, CVV लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्न तथा बैंकिङ एवं डिजिटल भुक्तानीसम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाका आधिकारिक माध्यम मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।

त्यस्तै, कुनै पनि शंकास्पद SMS, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थालाई तत्काल जानकारी गराउन पनि आग्रह गरिएको छ । ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नेपाल टेलिकमले भ्रामक सन्देश तथा साइबर ठगीका गतिविधिबाट सुरक्षित रहन सबै ग्राहकलाई सचेत रहन अपिल गरेको छ ।

null