भुक्तानी गर्न होस्, जानकारी लिन होस् वा कुनै टिप्पणी गर्न होस्, क्युआर कोडले सजिलै सम्भव बनाएको छ । यो चारकुने तस्वीर स्क्यान गरेर एकैछिनमा काम हुन्छ, तर यसै क्युआर कोडबाट हुने ‘क्विशिङ स्क्याम’ (क्युआर कोड स्क्याम) बाट सचेत रहन आवश्यक छ ।
क्युआर कोडबाट भुक्तानी गर्दा सचेत रहन जरुरी छ । विशेषगरी, इन्टरनेटमा पठाइएको क्युआर कोडको खाताधारकको नाम जाँच गर्नु आवश्यक छ । स्क्यामरहरूले आफैंका क्युआर कोड बनाउन सक्छन् । कोड स्क्यान गर्ने र पिन प्रविष्ट गर्नुअघि निश्चित गर्नुहोस् कि भुक्तानी कुन खातामा जान्छ ।
शंकास्पद क्युआर कोडको पहिचान गर्न गुगल लेंस जस्ता उपकरण प्रयोग गर्न सकिन्छ । सामान्यतया, पैसा माग्न क्युआर कोडको आवश्यकता हुँदैन् । यस्ता अवस्थामा क्युआर स्क्यान गरी यूपीआई पिन हाल्नासाथ ठगी हुन सक्छ । साथै, क्युआर कोडमार्फत सामानको फिडब्याक दिन खोज्दा पनि समस्या हुन सक्छ ।
ठगी कसरी हुन्छ?
सामान्यतया, यसलाई नक्कली क्युआर कोडमार्फत भुक्तानी ठगी भनिन्छ । तर, प्राविधिक रूपमा ’नक्कली क्युआर कोड’ भन्ने कुनै चीज हुँदैन् ।
प्रायः क्युआर कोड स्क्याममा, स्क्यामरले अनलाइन मार्केटप्लेसमा सम्भावित खरीददारको रूपमा आफूलाई प्रस्तुत गर्छ । उनीहरू कुनै वस्तु किन्न चासो देखाएर विक्रेताको यूपीआई आइडी वा बैंक खाताको विवरण माग्छन् । त्यसपछि खाताको जानकारी पुष्टि गर्न भन्दै क्युआर कोड पठाउँछन् ।
तर, व्यक्तिले थाहा पाउँदैन कि उक्त क्युआर कोडले उसलाई बैंकको लगइन पृष्ठ जस्तो देखिने नक्कली वेबसाइटमा पुर्याउन सक्छ । त्यहाँ माग गरिएको जानकारी हाल्ने बित्तिकै स्क्यामरले उसको लगइन जानकारी चोर्छ र बैंक खातामा पहुँच बनाउँछ ।
संवेदनशील जानकारीको सुरक्षाका लागि सतर्कता
क्युआर कोडले तपाईंलाई केवल एउटा यूआरएलमा मात्रै लैजाँदैन, यसमार्फत तपाईंको व्यक्तिगत जानकारी चोर्न वा ठगी गर्न पनि प्रयोग गर्न सकिन्छ । त्यसैले, क्युआर कोड प्रयोग गर्दा हरेक कदममा सतर्क रहनु अत्यावश्यक छ ।