नेपालकाे अग्रणी फिनेटेक कम्पनी फोनपेले गत माघमा इन्टरनेट नभएपनि भुक्तानी गर्न मिल्ने अफलाइन भुक्तानी सुविधा ल्यायो । यो नेपाली फिनेटक क्षेत्रका लागि आफैमा नयाँ प्रविधि थियो ।
नयाँ र इन्नोभेटिभ सेवा ल्याउँदै आएको फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्था हो ।
नेपालमा पछिल्लो इन्टरनेटको पेनिट्रेसन बढ्दै गएको छ । तर पनि डेटा शुल्क महंगो छ, जसले गर्दा सबैले डेटाको प्रयोग गरेर डिजिटल भुक्तानी गर्न सक्दैनन् । सबै ठाउँमा वाईफाई पनि उपलब्ध हुँदैन् ।
यस्तो अवस्थामा धेरै जनसंख्या डिजिटल भुक्तानीमा जोडिएको छैन् । त्यसकारण सबैलाई डिजिटल भुक्तानीको पहुँच प्रदान गर्न फोनपेले अफलाइन पेमेन्ट सार्वजनिक गरेको हो ।
यस सन्दर्भमा फोनको अफलाइन भुक्तानी प्रविधि के हो ? कसरी काम गर्छ ? फाइदा र वेफाइदा के के छन् ? लगायतका वियषमा फोनपेका सीईओ दिवस सापकोटा सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीको सम्पादित अंशः
फोनपेले २ महिना अगाडि इन्टरनेट नभएपनि भुक्तानी गर्न सकिने सेवा सार्वजनिक गरेको थियो । के हो फोनपेको अफलाइन भुक्तानी सेवा ?
अफलाइन पेमेन्ट सेवा २ महिना अघि सुरू भएको हो । फोनपेले विगत ३ वर्षदेखि क्युआर पेमेन्ट, इन्टर बैंक फन्ड ट्रान्फर लगायतका सेवा प्रदान गर्दै आएको थियो ।
क्युआर पेमेन्टमा ग्राहक र मर्चेन्ट दुवै इन्टरनेटमा जोडिनु पर्छ । त्यसपछि मात्रै क्युआर स्क्यान गरेर पैसा भुक्तानी गर्न सकिन्छ । नेपालमा डेटा शुल्क महंगो छ । डेटा खोलेर जहाँ पनि पेमेन्ट गर्न सहज छैन् । त्यसकारण यो समस्यालाई समाधान अफलाइन भुक्तानी सेवा आएको हो ।
अफलाइन भुक्तानीमा २ वटा प्रविधि छ । एउटा फोन ट्याग (ट्याप एण्ड गो) र अर्को कस्टुमर प्रजेन्टेड (सीपी) क्युआर । पहिला पहिला मर्चेन्ट प्रजेन्ट क्युआर हुन्थ्यो, मर्चेन्टले कस्टुमरलाई क्युआर देखाउथे र भुक्तानी हुन्थ्यो ।
अब अफलाइन पेमेन्ट अन्तर्गत ग्राहकले क्युआर देखाउछन् र मर्चेन्टले क्युआर स्क्यान गरेर भुक्तानी लिनुहुन्छ । त्यस्तै फोन ट्याग नियर फिल्ड कम्युनिकेसन (एनएफसी) प्रविधिमा आधारित छ ।
यसमा ग्राहकले ट्याप गरेर भुक्तानी गर्न सक्छन् । फोन ट्याग प्रयोग गर्ने ग्राहकले पहिलो पटक रजिष्ट्रेसन गर्दा इन्टरनेटमा हुनुपर्छ । त्यसपछि इन्टरनेट चाहिँदैन् ।
एकातिर देशमा इन्टरनेटको पेनिट्रेसन बढ्दै छ । अर्को तर्फ तपाईहरूले अफलाइन भुक्तानी सेवा सार्वजनिक गर्नुभएको छ । यस्तो अवस्थामा अफलाइन भुक्तानीको आवश्यकता थियो ?
विगत १-२ वर्षदेखि इन्टरनेटको पेनिट्रेसन बढिरहेको छ । पेनिट्रेसन बढेपनि इन्टरनेट सस्तो भने छैन् । वाईफाई तुलानात्मक रूपमा सस्तो भएपनि डेटा महंगो छ ।
घरभन्दा बाहिर गएर भुक्तानी गर्ने चलन हाम्रोमा छैन् । डेटा महंगो भएकै कारण त्यो चलन नभएको हो । भारतमा एकदमै सस्तो डेटा छ । भारतमा मोबाइल जहिले पनि डेटामै जोडिएको हुन्छ ।
नेपालमा डेटा सस्तो हुन अझै समय लाग्छ । त्यसकारण डिजिटल भुक्तानीको इकोसिस्टमलाई प्रवर्द्धन गर्न अफलाइन भुक्तानीले सहयोग गर्नेछ । अर्को कुरा छिटो भुक्तानीको दृष्टिकोणबाट पनि हेर्नुपर्छ । ट्याप एन्ड पेबाट छिटो भुक्तानी हुन्छ । यो प्रविधि अफ्रिकन, यूरोपियन, अमेरिकन बजारमा लोकप्रिय छ ।
अन्य भुक्तानीको माध्यमको तुलनामा आधा समयमै ट्याप एण्ड पेबाट भुक्तानी गर्न सकिन्छ । त्यसकारण सान्दर्भिकता छ जस्तो लाग्छ ।
डिजिटल भुक्तानीमा शतप्रतिशत समावेशीता ल्याउन अफलाइन भुक्तानी प्रविधि ल्याएका हौं । कसैलाई डिजिटल भुक्तानीमा अप्ठ्यारो परिरहेको छ भने त्यसलाई सहज बनाउने काम पनि हाम्रो हो ।
अफलाइन भुक्तानीमा २ वटा प्रविधि ल्याउनु भएको छ । यी प्रविधिले कसरी काम गर्छन् ?
हामीसँग एउटा एनएफसी प्रविधिमा आधारित फोन ट्याग छ भने अर्को सीपी क्युआर छ । एनएफसी प्रविधि प्रयोग गर्न केही पूर्व सर्तहरू समेत छन् । बजारमा एनएफसी सपोर्ट गर्ने फोन महंगो छ ।
एनएफसी प्रविधिलाई स्वीकार्ने माध्यम पनि महंगो छ । भाटभटेनी, बिगमार्ट, रेष्टुरेन्ट, होटलहरूमा देखिने पस मेसिन जस्तै टर्मिनल आवश्यक पर्छ, जुन महंगो हुन्छ । क्युआर ग्रो हुनु र पस नहुनुमा मूल्य प्रमुख कारण हो । एउटै पस मेसिनलाई ३०-४० हजार रूपैयाँ पर्छ ।
एनएफसी भएको फोनलाई पनि २५-३० हजार पर्छ । तर मोबाइलको पेनिट्रेसन पनि बढिरहेको छ र डिभाइसको कस्ट समेत कम भइरहेको छ । सबै क्षेत्रलाई यसले सहयोग नपुर्याए पनि निश्चित क्षेत्रलाई भने सहयोग पुर्याउँछ ।
बसको भाडा तिर्न, पेट्रोल पम्पमा पैसा तिर्न र जहाँ इन्टरनेटको पहुँच छैन् त्यहाँ ट्याप एण्ड पे प्रविधिले सहयोग गर्छ । डेटा नभएको ठाउँमा पसलेको वाईफाई मागेर, कनेक्ट गरेर पैसा तिर्न त्यति फिजिबल देखिदैन् ।
यसले भुक्तानी गर्ने प्रक्रिया लामो हुन्छ । यसका लागि हामीले एनएफसी र टोकनाइजेसन प्रविधिमा आधारित फोन ट्याग विकास गरेका हौं । त्यस्तै अर्को कस्टुमर प्रेजेन्टेड क्युआर चाहिँ मर्चेन्टले ग्राहकको क्युआर स्क्यान गरेर भुक्तानी लिन्छन् ।
पहिला पहिला पसमा कार्ड राखेर पैसा भुक्तानी हुन्थ्यो । भुक्तानीको राशि पनि मर्चेन्ट आफैले राख्थे । अहिले त्यही प्रविधि फोनमा आएको हो । अफलाइन भनेको ग्राहकलाई हो, मर्चेन्टलाई होइन् । मर्चेन्ट भने इन्टरनेटमा जोडिनु पर्छ । यसका साथै फोनपेले पस मेसिन दिने होइन् । बैंकहरूले दिने हो । फोनपले प्रविधि मात्रै तयार गरेको हो ।
मर्चेन्टले ग्राहकको पैसा तान्दा फ्रड गर्ने चान्स हुन्छ की हुँदैन् ?
फ्रड गर्ने चान्स त हुन्छ । तर यो नेपालमा नयाँ होइन् । विगत १५-२० वर्षदेखि पस मेसिन नेपालमा प्रयोग भइरहेको छ । बजारले स्वीकारेको प्रविधि हो । फ्रड हुने खतरा भएपनि हामीले त्यसको इन्टेनसिटी कम गर्ने हो । त्यसका लागि २-३ वटा कुरा हुन्छ ।
एउटा कुरा सबै मर्चेन्टले यो प्रविधि उपयोग गर्न सक्दैनन् । बैंकले पनि मर्चेन्टलाई अनबोर्ड गर्दा ड्यु डेलिजेन्स गरेको हुनुपर्छ । राम्रोसँग चिनेको हुनुपर्छ । अनि मात्रै यो सेवा दिन सकिन्छ । अर्को कुरा राष्ट्र बैंक आफैले कारोबारको सिमा तोकेको छ । प्रति कारोबार ५ हजारभन्दा बढीको गर्न पाइदैन् ।
हामीले पनि ह्याक गर्न कठिन हुने गरी प्रविधि निर्माण गरेका छौं । त्यति डराइरहनु पर्दैन् । तर पनि फ्रड, ह्याकिङ हुँदैन् भनेर शतप्रतिशत ग्यारेन्टी गर्न सकिदैन् ।
अफलाइन प्रविधि प्रयोग गर्न शुल्क तिर्नु पर्छ की पर्दैन् ?
अहिलेसम्म क्युआर प्रविधि निःशुल्क नै थियो । तर नयाँ प्रविधि महंगो भएका कारण न्युनतम शुल्क लिन्छौं । सुरूवातमा परीक्षणका लागि निःशुल्क गरेका छौं । त्यो ३ देखि ६ महिनासम्म निःशुल्क हुन सक्छ । त्यसपछि भने शुल्क लिन्छौं ।
पछिल्लो समय नेपालमा डिजिटल भुक्तानी बढ्दै गएपनि देशव्यापी हुन सकेको छैन् । अफलाइन भुक्तानीले डिजिटल कारोबारलाई देशभर लैजान मद्दत गर्ला ?
यो प्रविधि आफैमा महंगो छ । त्यसकारण देशभर लैजान सहज छैन् । शुल्कलाई कम गर्न केही काम गरेका छौं । फोनपेको बिजनेस एप पनि छ ।
फोनपे बिजनेस एप प्रयोग गर्ने मर्चेन्टसँग एनएफसी सपोर्ट गर्ने मोबाइल छ भने पस मेसिन नभएपनि भुक्तानी लिन सकिन्छ । तर पनि अहिलेको क्युआर जस्तो फैलिन सक्दैन् ।
यसले मर्चेन्टलाई सजिलो हुन्छ । कतिपय ठाउँमा भुक्तानी भएको स्क्रिनशट देखाएर ग्राहकहरूले फ्रड गरिरहेका हुन्छन् । भारतमा यस्तो खालको फ्रड धेरै भएको छ । त्यसकारण यस प्रविधिले मर्चेन्ट ढुक्क बनाउछ ।
पैसा आउने/नआउने दुविधा हुने भएन । यसलाई अझै प्रवर्द्धन गर्न योजना बनाइरहेका छौं । यस प्रविधिलाई सस्तो बनाउन पनि काम गर्दैछौं ।
कसरी प्रयोग गर्ने अफलाइन भुक्तानी सेवा ?
पहिलो यो सुविधाका लागि बैंकहरू नै फोनपेसँग आवद्ध हुनुपर्छ । बैंक हामीसँग आवद्ध भएपछि मात्रै बैंकहरूका ग्राहकले यो सुविधा लिन पाउँछन् । अहिलेसम्म अफलाइन भुक्तानीका लागि ५-६ वटा बैंक र इसेवा आवद्ध भएका छन् ।
अहिलेसम्म फोनपेको एपबाट मात्रै यो अफलाइन भुक्तानीको सुविधा लिन सकिन्छ । फोनपे एपमा गएर लगइन गरी बैंक खाता लिंक गरेर अफलाइन भुक्तानी सेवा सक्रिय गर्न सकिन्छ । त्यसपछि अफलाइन पेमेन्ट्समा क्लिक गरी फोन ट्याग वा सीपी क्युआर विकल्प छनौट गर्न सकिन्छ ।
यदी तपाईको फोनमा एनएफसी प्रविधि छ भने फोन ट्याग छनौट गर्न सक्नुहुनेछ भने यदी छैन् भने कस्टुमर प्रिजेन्टेड क्युआर विकल्प छनौट गर्न सक्नुहुनेछ ।
फोन ट्याग छनौट गर्नु भयो भने सेटिङमा गएर ‘एनएफसी एण्ड कन्ट्याक्टलेस पेमेन्ट’ इनेबल गर्न सकिने छ । अनि मर्चेन्टको टर्मिनल डिभाइसमा फोनलाई एकछिन होल्ड गरेर अफलाइन भुक्तानी गर्न सकिने छ । तर कस्टुमर प्रिजेन्ट क्युआर छनौट गर्नुभएको छ भने मर्चेन्टले तपाईको क्युआर स्क्यान गरेर भुक्तानी लिनेछ ।
अब अफलाइन भुक्तानीको सुविधा मोबाइल बैंकिङ एपमा पनि ल्याउँदै छौं । अफलाइन भुक्तानीको सुविधा ग्राहकले प्रयोग गर्ने मोबाइल बैंकिङ एपबाटै पनि गर्न सकिने गरी काम गरिरहेका छौं ।
हाल परीक्षण भइरहेको छ । सम्भवतः नयाँ वर्षदेखि फोनपेमा आवद्ध भएका बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले अफलाइन भुक्तानीको सुविधा प्रयोग गर्न पाउनेछन् । तर त्यसका लागि ग्राहकले एक पटक अनलाइनबाट रिक्वेस्ट गरेपछि अफलाइन सेवा प्रयोग गर्न सकिन्छ । रिक्वेष्ट पनि मोबाइल बैंकिङ एपबाटै गर्न सकिने छ ।
अहिलेसम्म प्रयोग गर्ने प्रयोगकर्ताको प्रतिक्रिया कस्तो छ ? कतिले प्रयोग गरिरहेका छन् ?
भर्खर सुरूवात भएकाले धेरै प्रयोगकर्ता छैनन् । अहिले त्यति धेरै प्रतिक्रिया आएको छैन् । कीनकी बजारमा एसेप्टेन्स पूर्वाधार एकदमै कम छ । तर पनि हामीले परीक्षणका लागि राखेको ठाउँबाट भुक्तानी गर्ने ग्राहकको प्रतिक्रिया उत्साहित छ ।
साथसाथै डेटा सेक्युरिटी बारे कन्फ्युजन पनि छ । विदेशमा भने यस्तो कुरा सामान्य छ । नयाँ प्रविधि भित्र्याउदा शंका त उब्जन्छ तर विस्तारै कम हुन्छ । एनएफसी प्रविधिमा आधारित अफलाइन प्रविधि ३ वटा लोकसनमा राखिएको छ । बैंकको पनि आफ्नै प्रक्रिया छ । तर टोकनाइजेसन गरेका ग्राहक ६-७ हजार पुगिसक्नु भएको छ ।
अफलाइनबाट हुने कारोबार रियल टाइममै हुन्छ ?
अफलाइनबाट हुने भुक्तानी रियल टाइममै हुन्छ । संयन्त्र मात्रै फरक हो । पहिला प्रयोगकर्ताले मर्चेन्टलाई पैसा पठाउथे भने अहिले मर्चेन्टले पैसा तान्ने मात्रै हो ।
अफलाइन भुक्तानीका लागि फाइदा र बेफाइदा के के छन् ?
अफलाइन भुक्तानी सेवाको फाइदा मर्चेन्टलाई बढी छ । मर्चेन्टलाई भुक्तानीको कन्फर्मेसन सजिलै हुन्छ । ग्राहकले पेमेन्ट गरेपछि मर्चेन्ट एसएमएस कुर्नु पर्ने अवस्था छ ।
एसएमएस भन्ने कुरा हाम्रो नियन्त्रणमा हुँदैन् । कति बेला समयमै आउँछ, कतिबेला आउँदैन् । त्यसले गर्दा मर्चेन्टलाई पनि एसएमएस नआउँदा सामान दिन गार्हो र ग्राहकलाई पनि एसएमएस आउनुजेलसम्म कुर्नुपर्ने झन्झट छ । त्यसलाई अफलाइन प्रविधिले सजिलो बनाउँछ ।
प्रयोगकर्ताका लागि फाइदा भनेको छिटो भुक्तानी गर्न सकिन्छ । ट्याप एण्ड पे गरेर चाँडै सेवा लिन सकिन्छ । छिटो सेवा लिन पाएपछि अनुभव पनि फरक हुन्छ ।
यस प्रविधिको बेफाइदा भनेको कारोबारमा सिमा तोकिएको छ । प्रति कारोबार ५ हजार रूपैयाँ बढी भुक्तानी गर्न पाइदैन् । प्रयोगकर्तालाई एक्सेस पोइन्ट कम हुन्छ । सबै ठाउँमा अफलाइन सेवा उपलब्ध नहुन सक्छ ।
नयाँ प्रविधि भित्र्याउँदा डेटा सुरक्षामाथि प्रश्न उठेको बताउनु भयो । फोनपे आफैमा आईएसओ सर्टिफाइड कम्पनी पनि हो । ग्राहकलाई तपाईको डेटा सुरक्षित छ भनेर कसरी विश्वस्त बनाउनु हुन्छ ?
फोनपेको व्यवसायको प्रकृति भनेको सकेसम्म ‘डेटा नलिने’ हो । हामीसँग धेरै डेटा छैन् । डेटा हुने भनेको बैंकसँग हो । हामीसँग हुने भनेको कारोबारको डेटा हो । नेपालमा ग्राहकहरूले डेटामा त्यति ध्यान दिएको देखिदैन् । फोनपेको हकमा मात्र नभएर अन्यको हकमा पनि त्यस्तै छन् ।
कुन डेटा कसलाई दिने/नदिने भनेर धेरै प्रयोगकर्तासँग साक्षरता छैन् । तर एउटा जिम्मेवार रेगुलेटेड कम्पनी भएका कारण डेटालाई सुरक्षित गर्ने मापदण्डहरू छन् । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै डेटालाई सुरक्षित गरिरहेका छौं । त्यसमा लाग्ने पूर्वाधार, सेक्युरिटी मेकानिजम सबै कार्यान्वयन गरेका छौं ।
विश्वस्त बनाउने एउटा तरिका भनेको ‘सर्टिफिकेसन’ हो । कुनै थर्टपार्टी आएर तपाईहरूको डेटा सुरक्षित छ भनिदिनु पर्यो । त्यो भनेको सर्टिफिकेसन हो । फोनपे आईएसओ, पीसीआईडीएसबाट सर्टिफाइड कम्पनी हो । समय समयमा नेपाल राष्ट्र बैंक आएर पनि सुरक्षा अडिट गर्ने गरेको छ ।
अफलाइन प्रविधि आफैमा महंगो छ । यस प्रविधिलाई देशैभर विस्तार गर्न सरकारबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
सरकारसँग खासै अपेक्षा छैन् । यस्ता प्रविधि ल्याउने भनेको सरकारले भन्दा पनि हामी जस्ता कम्पनी वा बैंक तथा वित्तीय संस्थाले हो । तर यसका लागि चाहिने पूर्वाधारमा सरकारले सहयोग गर्न सक्छ । डेटाको शुल्क घट्नु पर्छ ।
पस मेसिन आयातमा लाग्ने कर पनि घटाउन सकिन्छ । हामीलाई नेपाल राष्ट्र बैंकले रेगुलेटेड गर्छ । अहिलेसम्म राष्ट्र बैंकबाट राम्रो सहयोग र समन्वय भइरहेको छ ।
अझै राष्ट्र बैंकले यस प्रविधिलाई प्रवर्द्धन गरे जनमानसमा विश्वास बढ्छ । अफलाइन भुक्तानीका लागि आवश्यक पर्ने पूर्वाधारका लागि राष्ट्र बैंकले सरकार वा सरोकारवाला निकायसँग समन्वय गरिदिन सक्छ ।
मानौं, कुनै दिन नेपालमा डेटा सस्तो भयो भने अफलाइन प्रविधिको भविष्य कस्तो देख्नुहुन्छ ?
भविष्यमा आजको दिनको जस्तो पेमेन्ट सोलुसन नहुन सक्छ । यो प्रविधि मुख्य गरी डेटा शुल्क महंगो र फास्टर पेमेन्टको दृष्टिकोणबाट आएको छ । प्रविधि परिवर्तन भइरहने कुरा हो । अहिलेको जस्तो हुनुपर्छ भन्ने होइन् ।
यसकै विभिन्न भर्सनहरू आउन सक्छन् । आजभोलि फेस रिकग्निसन र आँखाको रेटिना स्क्यानबाट भुक्तानी भइरहेको छ । सार्वजनिक यातायातमा पनि यो प्रविधिलाई कार्यान्वयन गर्न सकिन्छ । तर पूर्वाधारमा अभावमा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन् ।
एक प्रविधि आइसकेपछि त्यस्तो खालको क्षेत्रमा कार्यान्वयन गर्न सकिन्छ । डेटा सस्तो हुँदैमा यसको एप्लिकेसन कम हुन्छ जस्तो लाग्दैन् । डेटाको नजरबाट कम होला, मान्छे आफै नै कनेक्टेड होलान । तर यस प्रविधि अन्य विभिन्न क्षेत्रमा प्रयोग गर्न सकिन्छ । यसको विभिन्न भर्सनहरू चाँहि आउँदै गर्छन् होला ।
तपाईले बस भाडामा पनि एनएफसी प्रविधिमा आधारित भुक्तानी कार्यान्वयन गर्न सकिने बताउनु भयो । तपाईहरूले यो प्रविधिमा ल्याएपछि कार्यान्वयनका लागि यातायात व्यवसायीसँग कुराकानी गर्नुभएको छ ?
नेपालमा यो प्रविधि भर्खर सुरू गर्दैछौं । यो पहिलो संस्करण हो । गाडीमा एनएफसी प्रविधिको प्रयोगमा लागि व्यवसायीसँग एक चरणको कुरा भएको छ । अझै पनि छलफल भइरहेको छ । तर केही समयपछि अब बसको भाडा पनि ट्याप एण्ड पे गरेर तिर्न सकिने छ ।
फोनपेका आगामी योजनाहरू के के छन् ?
फोनपे बजारलाई ड्राइभ गर्ने र सेवा तथा प्रडक्टमा इन्नोभेसन ल्याउने कम्पनी हो । अब हामी कार्डमा इन्नोभेसन ल्याउँदै छौं । मार्केटमा क्रेडिट कार्डको पेनिट्रेसन कम छ । त्यसको एउटा कारण ऋण लिन हुँदैन् भन्ने हाम्रो कल्चर हो ।
क्रेडिट कार्ड लिन आफैमा अप्ठ्यारो छ र लिएपछि चलाउने सिमितता छन् । त्यसकारण क्रेडिट कार्ड प्रयोग गर्ने संख्या एकदमै कम छ ।
हामीले भर्चुअल कार्ड ल्याउने तयारी गरिरहेका छौं । अब तपाईले मोबाइलमा रहेको भर्चुअल क्रेडिट कार्डबाट सामान किन्न सक्नुहुनेछ । नयाँ आर्थिक वर्ष यो सेवा सुरू गर्ने गरी तयारी गरिरहेका छौं ।