विगत २० वर्षदेखि नेपालको वित्तिय क्षेत्रलाई डिजिटल बनाउन तल्लिन संस्था हो । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) । कार्डबाट सुरू भएको एससीटीको यात्रा फास्ट बैंकिङसम्म आइपुगेको छ ।
गत बिहीबार एससीटीले स्विफ्ट टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ प्रडक्ट फास्ट बैंकिङ सोलसुन सार्वजनिक गरेको थियो । यसले बैंक तथा वित्तिय संस्थाको पछिल्लो आवश्यकता पूरा गर्ने कम्पनीको दावी छ ।
यसै सन्दर्भमा फास्ट बैंकिङ के हो ? किन आवश्यक छ ? के के सुविधा छन् ? लगायतका विषयमा एससीटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण प्रकाश भुजु सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानी सम्पादित अंशः
गत बिहीबार मात्रै एससीटी फास्ट बैंकिङ सार्वजनिक गरेको थियो । के हो फास्ट बैंकिङ ?
विगत २० वर्षदेखि एससीटी डिजिटल भुक्तानीको क्षेत्रमा काम गरिरहेको छ । कार्ड सेवाबाट सुरू भएको एससीटीको यात्रा फास्ट बैंकिङसम्म आएको छ । बजारको आवश्यकता अनुसार डिजिटल पेमेन्ट इकोसिस्टममा नयाँ सेवा थप्दै आइरहेका थियौं ।
पहिला कार्ड सेवा थियो, त्यसपछि हामीले क्युआर सेवा ल्यायौं । अहिले बजारको आवश्यकतालाई मध्यनजर गर्दै फास्ट बैंकिङ सेवा ल्याएका हौं । पछिल्लो समय मानिसहरू डिजिटल पेमेन्टमा आकर्षित भइरहेका छन् । यस्तो अवस्थामा ओम्नी च्यानलमा आधारित फास्ट बैंकिङ सोलुसन प्रयोग गरेर बैंकहरूले धेरैभन्दा धेरै सेवा डिजिटल माध्यमबाट दिन सक्छन् ।
अहिले बैंक तथा वित्तिय संस्थाहरूले भुक्तानीलाई मात्रै बढी प्राथामिकतामा राखेका छन् । अब भुक्तानीलाई मात्रै नभएर बैंकका अन्य सेवा पनि डिजिटाइज गर्न फास्ट बैंकिङ आएको हो ।
बैंकिङ सेवालाई डिजिटल बनाउन बजारमा अन्य प्रडक्ट पनि छन् । फास्ट बैंकिङ नै किन चाहियो ?
नेपालमा मोबाइल बैंकिङ सुरू भएको १२-१५ भइसकेको छ । एसएमएस बैंकिङबाट सुरू भएको यात्रा अहिले विकसित हुँदै मोबाइल बैंकिङसम्म आइपुगेको छ ।
अहिलेको मोबाइल बैंकिङबाट ग्राहकहरूले सामान्यतयाः कारोबार फन्ड ट्रान्सफर, भुक्तानी लगायतका काम मात्रै गर्न सक्छन् । बैंकका ग्राहकहरू बढीरहेका छन् ।
त्यसकारण आजको दिनमा बैंकले ग्राहकहरूलाई आफ्नो शाखाबाट मात्रै सेवा दिन सक्दैन् । बैंकका शाखा सिमित छन् । ग्राहकहरू बढी छन् ।
सरकारले पनि डिजिटल नेपाल बनाउने भनिरहँदा हरेक चीज डिजिटाइज हुँदैछन् । बैंकले आफ्नो ग्राहकलाई डिजिटल्ली सेवा दिनका लागि खाली भुक्तानीलाई मात्रै डिजिटाइज गरेर भएन् । अरू बैंकिङ सेवा पनि डिजिटाइज गर्नुपर्छ ।
बैंकका अन्य सेवालाई पनि डिजिटाइज गर्ने गरी फास्ट बैंकिङ सार्वजनिक भएको छ । बैंकमा म्यानुअल्ली भइरहेको कारोबारलाई अटोमटिक रूपमा एपबाटै गर्न सकिन्छ । मोबाइल बैंकिङ एपबाटै खाता खोल्न सकिन्छ । बैंकमा गएर मोबाइल बैंकिङ सेवा नलिने ग्राहकले पनि एपबाटै मोबाइल बैंकिङको सेवा लिन सक्छन् ।
अहिले बजारमा भइरहेका प्रडक्टमा देखिएका कमीकमजोरी र बैंकको आजको आवश्यकतालाई पूरा गर्न फास्ट बैंकिङ सोलुसन ल्याएका हौं । सुरक्षाका हिसाबले पनि फास्ट बैंकिङ बलियो छ ।
अहिले ओटीपी शेयर गर्दा धेरै साइबर आक्रमणका घटना भइरहेका छन् । त्यसलाई रोक्न हामीले फास्ट बैंकिङमा म्यानुअल कोड राख्ने सिस्टम हटाएका छौं । सिस्टमले स्वतः म्यासेजमा आएको ओटीपी कोड राख्छ ।
बैंकले यसबाट नयाँ प्रडक्ट डिजाइन र डेलिभरी गर्न सक्छन् । यसबाट एउटा बैंकले अरू बैंकको जस्तो भन्दा पनि आफ्नै प्रडक्ट बनाउन सक्छ । बजारमा अहिले भएका डिजिटल बैंकिङ प्रडक्टभन्दा यो सुरक्षित, विश्वसनीय र भरपर्दो छ ।
तपाईहरूले फास्ट बैंकिङ सुरक्षित छ भनेर दावी गरिरहनु भएको छ । ग्राहकको डाटा चाहिँ कसरी सुरक्षित गर्नुभएको छ ?
डाटा सबैको प्राथमिक चासोको विषय हो । डाटा सुरक्षामा संवेदनशील छौं । एससीटी आफैमा एउटा पीसीआईडीएस प्रमाणित कम्पनी हो । डाटालाई कम्प्रमाइज हुन नदिन विभिन्न तहले सुरक्षित गरेका छौं ।
डाटाको होस्ट बैंक आफैले गर्छ । हामीले पनि सो डाटामा पहुँच राख्न सक्दैनौं । बैंकलाई हामी सोलुसन मात्रै दिन्छौं । यदी उक्त डाटामा पहुँच पाएपनि हेर्न र पढ्न नसक्ने गरी बैंक भित्र सिस्टमको व्यवस्था गरेका छौं ।
डाटा इन्क्रिप्टेड फर्म्याटमा हुन्छ । कसैले डाटा पाएपनि हेर्न, पढ्न सक्दैन् । साथै डाटा रियल टाइममा ब्याकअप हुन्छ ।
फास्ट बैंकिङमा के के सुविधा छन् ?
फास्ट बैंकिङमार्फत अहिले बैंकले दिइरहेका सबै सुविधा दिन सक्छन् । यस बाहेक कार्ड एक्टिभेट, ब्लक गर्ने, घरबाटै बैंकमा चेकका लागि अनुरोध गर्न सकिने, बैंकमा रकम जम्मा गर्ने टोकन, फिक्स्ड डिपोजिट बराबरको ऋण लगायतका सुविधा छन् ।
बैंकले ग्राहकको आवश्यकता अनुसार कस्तो कस्तो र कतिसम्म कारोबार गर्न दिने नियन्त्रण गर्न सक्छन् । कुनै बेला कारोबार सफल नभएमा छोटो समयमै त्यसलाई पुनः पठाउन वा पैसा फिर्ता ल्याउन सकिन्छ ।
फास्ट बैंकिङ मार्फत अनलाइनबाटै टोकन लिएर ग्राहक बैंकमा सेवा लिन जान सक्ने छन् । एउटै युजरनेम र पससवर्डबाट फास्ट बैंकिङ चलाउन मिल्छ ।
यसमा रिपोर्टिङको सुविधा पनि छ । कुनै पनि थर्डपार्टी सिस्टमलाई सजिलै एकीकृत गर्न सकिने छ । फास्ट बैंकिङमा बैंकले आफुले प्रडक्ट डिजाइन गरेर पनि सार्वजनिक गर्न सक्छ ।
तपाईहरूको फास्ट बैंकिङ सोलुसन ग्लोबल आईएमई बैंकले प्रयोगमा ल्याइसकेको छ । १० लाख बढी प्रयोगकर्ता पनि छन् । कस्तो छ प्रयोगकर्ताको प्रतिक्रिया ?
चलाउन सजिलो रहको प्रयोगकर्ताको भनाइ छ । धेरैले रूचाउन भएको छ, सकारात्मक प्रतिक्रिया दिनु भएको, खुसी छौं । यसका साथै ग्लोबल आईएमई बैंकले पनि फास्ट सोलुसन प्रयोग गर्न थालेपछि स्टाफ हरू कम इंगेजमेन्ट हुनु परेको बताएको छ ।
बैंकले म्याअल्ली रूपमा गर्नुपर्ने मोबाइल एपबाट अटोमेटिक हुन्छ । बैंकका ग्राहक कार्यालयसम्म आउने प्रक्रिया कम भएको छ । प्रयोगकर्ताको प्रतिक्रियाबाट सन्तुष्ट र खुसी छौं ।
कसरी लिने फास्ट बैंकिङ सुविधा ?
फास्ट बैंकिङको सेवा लिन बैंक तथा वित्तिय संस्थाहरूले एससीटीलाई सम्पर्क गर्नुपर्ने हुन्छ । त्यसपछि बैंक तथा वित्तिय संस्थाको आवश्यकता अनुसार एससीटीले उक्त सिस्टम प्रदान गर्छ ।
अनि बैंक तथा वित्तिय संस्थाले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक मोबाइल बैंकिङ सेवा प्रदान गर्न सक्ने छन् । अहिले यो सिस्टम ग्लोबल आईएमई बैंकले प्रयोगमा ल्याइसकेको छ अन्य केही बैंक तथा वित्तिय संस्थासँग पनि सहकार्यको सम्झौता भएको छ ।
एससीटीले के के नयाँ प्रडक्ट ल्याउँदै छ ?
विगत २० वर्षदेखि एससिटीले नयाँ नयाँ प्रविधिहरू ल्याएर डिजिटल पेमेन्टको क्षेत्रमा काम गरिराखेको छ । अब हामी भर्चुअल कार्डको सेवा ल्याउँदै छौं । प्लास्टिकबाट बनेका कार्डलाई भर्चुअल कार्डमा रूपान्तरण गर्ने योजना छ । भर्चुअल कार्डको सेवा थालनी गरिसकेका छौं ।
प्लास्टिक कार्डलाई भर्चुअल कार्डले विस्थापित गर्दा बैंक र ग्राहक दुबैलाई कम खर्चिलो हुन्छ । भर्चुअल कार्डबाटै पैसा निकाल्न मिल्नेदेखि पेमेन्ट गर्न मिल्नेसम्म सबै खालको इकोसिस्टम बनाउन खोजिरहेका छौं ।
एउटै प्लेटफर्मबाट सबै खालका डिजिटल सेवा उपलब्ध गराउने तयारी छ । त्यसैको स्वरूप फास्ट बैंकिङ आएको हो । अब ग्राहकले फरक फरक सेवाका लागि फरक फरक प्रडक्ट चलाउनु पर्ने झन्झट अन्त्य हुनेछ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
प्रविधि गतिशील छ । नयाँ नयाँ प्रविधिहरू आइरहेका छन्, गइरहेका छन् । मानिस र बैंकका आवश्यकताहरू पनि समय सापेक्ष बढीरहेका छन् । त्यसकारण आफ्नो सिस्टमलाई समय अनुसार अपग्रेड गर्दै जानुपर्छ ।
कहिलेकाँही नयाँ प्रविधिलाई आत्मसात गर्न गार्हो पनि हुन्छ । तर पनि समयको माग अनुसार बैंकले नयाँ प्रविधिमा लगानी गर्नुपर्छ । बैंकको पुरै सिस्टम डिजिटाइज गर्नुपर्छ । सकेसम्म बैंकले धेरैभन्दा धेरै सेवा डिजिटलबाटै दिनुपर्ने अहिलेको युगमा जरूरी भइसकेको छ ।
डिजिटाइजका लागि सबै सिस्टम इनहाउस बनाउन बैंकलाई कठिन हुन सक्छ । त्यस्तो अवस्थामा बैंकका लागि हामी जस्तो राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्था सारथी बन्न सक्छौं ।