एप्पलले आइफोन प्रयोगकर्ताका लागि आइओएस २६.५ को सार्वजनिक संस्करण जारी गरेको छ। करिब एक महिनादेखि डेभलपरहरूले यसको बेटा भर्सन परीक्षण गरिरहेका थिए, जसले गर्दा नयाँ फिचरहरूको राम्रै झलक पाइसकिएको थियो। तर एप्पलको इतिहास हेर्ने हो भने, सार्वजनिक लन्चमा कैयौं फिचर थपिने वा हट्ने गरेका छन्। अब आइओएस २६.५ आधिकारिक रूपमा सार्वजनिक भइसकेकाले यसमा के के नयाँ छ भन्ने पूर्ण रूपमा स्पष्ट भएको छ।
सबैभन्दा पहिलो कुरा त, आइफोन प्रयोगकर्ताले डिभाइसलाई आइओएस २६.५ मा अपडेट गर्नुपर्छ। नयाँ फिचर मात्र होइन, पछिल्लो अपरेटिङ सिस्टम अपडेट गर्दा डिभाइस सुरक्षाका दृष्टिले पनि अप-टु-डेट रहन्छ। अपग्रेडका लागि सेटिङ्स एप खोल्नुहोस्, त्यसपछि जनरल र सफ्टवेयर अपडेटमा गएर डाउनलोड तथा इन्स्टल गर्न सकिन्छ। ध्यान दिनुपर्ने कुरा, आइओएस २६.५ चलाउन प्रयोगकर्तासँग आइफोन ११ वा त्यसभन्दा नयाँ मोडल भएको हुनुपर्छ।
अब हेरौं यो अपडेटका प्रमुख आकर्षणहरू:
आरसीएस एन्क्रिप्सन
धेरै पटक बेटामा परीक्षण भएर पनि अन्तिम रिलिजमा नआएको फिचर अन्ततः आइपुगेको छ, एन्क्रिप्टेड आरसीएस मेसेजिङ। आरसीएस (रिच कम्युनिकेसन सर्भिसेज) भनेको त्यो मेसेजिङ प्रोटोकल हो, जसले आइफोन र एन्ड्रोइड प्रयोगकर्ताबीच एप्पल मेसेजेज जस्तै अनुभव दिन्छ। यसले उच्च गुणस्तरको फोटो-भिडियो आदानप्रदान, रिड रिसिप्ट र टाइपिङ इन्डिकेटर जस्ता सुविधा सम्भव बनाउँछ।
तर यो अपडेटअघिसम्म आइफोन र एन्ड्रोइडबीचका यी सन्देशहरू एन्क्रिप्टेड थिएनन्, जसको अर्थ तिनलाई अनाधिकृत तेस्रो पक्षले इन्टरसेप्ट गरेर पढ्न सक्थे। आइओएस २६.५ ले अन्ततः आरसीएस मेसेजिङमा एन्ड-टु-एन्ड एन्क्रिप्सन ल्याएको छ। यद्यपि, यो फिचर सार्वजनिक रिलिजमा आइसकेको भए पनि, एप्पलले यसलाई अझै 'बेटा' फिचरकै रूपमा लेबल गरेको छ र यसको उपलब्धता तपाईंको मोबाइल क्यारियरमा पनि निर्भर रहनेछ। अब आरसीएस च्याटमा एउटा सानो तालाको आइकन देखिनेछ। हरियो बबल भने हरियै रहनेछन्।
एप्पल म्यापमा विज्ञापन र 'सजेस्टेड प्लेसेज'
एप्पलले आफ्नो म्याप एप्लिकेसन सुरु गरेको करिब साढे १३ वर्षपछि, यसमा विज्ञापनले प्रवेश पाएको छ। (यो समाचार लेख्दासम्म एप्पल एड्सको वेबसाइटमा यो फिचर 'कमिङ सुन' अर्थात् चाँडै आउँदै छ भनेर लेबल गरिएको छ।) अब व्यवसायहरूले एप्पल म्याप एपमा विज्ञापन गर्न पैसा तिर्न सक्नेछन्, जसरी एप डेभलपरहरूले एप स्टोरमा विज्ञापन चलाउँछन्। प्रयोगकर्ताले आफ्नो लोकेसनको आधारमा म्याप एपभित्रै स्थानीय विज्ञापनहरू देख्नेछन्।
विज्ञापन 'सजेस्टेड प्लेसेज' नामक अर्को नयाँ फिचरमा पनि देखिनेछ। एप्पल म्यापको यो सुविधाले प्रयोगकर्ताको हालैको सर्च रिजल्टको आधारमा नजिकैका ट्रेन्डिङ रेस्टुरेन्ट, पसल वा पर्यटकीय गन्तव्यहरूको सिफारिस दिनेछ। यसमा सशुल्क विज्ञापनका साथै अर्गानिक सिफारिसहरू पनि समावेश हुनेछन्।
युएसबी-सी एक्सेसरी पेयरिङ : म्याजिक माउस र किबोर्ड
आफ्नो आइफोनमा म्याजिक माउस वा म्याजिक किबोर्ड प्रयोग गर्न चाहनुहुन्छ भने अब यो पहिलाभन्दा धेरै सजिलो भएको छ। आइओएस २६.५ मा, तपाईंले युएसबी-सी केबलको माध्यमले यी पेरिफेरल डिभाइसलाई आइफोनमा जोड्नेबित्तिकै ती स्वतः पेयर हुनेछन्। यसको अर्थ, पहिलो पटक युएसबी-सीले जोडेर सकेपछि, केबल हटाएर ब्लुटुथमार्फत कुनै अतिरिक्त सेटअप बिना नै म्याजिक माउस वा किबोर्ड सिधै प्रयोग गर्न सकिन्छ।
आइफोनबाट एन्ड्रोइडमा डेटा ट्रान्सफरका विकल्प
यो एउटा सानो तर धेरै प्रयोगकर्ताका लागि स्वागतयोग्य अपडेट हो। आइओएस २६.५ सँगै, आइफोनबाट एन्ड्रोइड फोनमा स्विच गर्ने प्रयोगकर्ताले आफ्नो डेटा मुभ गर्दा कुन कुन मेसेज एट्याचमेन्टहरू ट्रान्सफर गर्ने भनेर छान्न सक्नेछन्।
प्राइड ल्युमिनेन्स वालपेपर
आइओएस २६.५ ले प्राइड महिना (जुन) को अवसर पारेर एउटा नयाँ वालपेपर ल्याएको छ। यस पटकको 'प्राइड ल्युमिनेन्स' वालपेपर स्थिर छैन; यो एनिमेटेड र कस्टमाइज गर्न मिल्ने छ। प्रयोगकर्ताले उपलब्ध १२ रङ प्रयोग गरेर आफ्नै संस्करणको वालपेपर बनाउन सक्छन्। यो नयाँ वाचओएस २६.५ मा रहेको एप्पल वाचको 'प्राइड ल्युमिनेन्स' वाच फेससँग मेल खाने डिजाइनमा तयार गरिएको छ।
आइओएस २६.५ ले एन्क्रिप्सनदेखि पर्सनलाइजेसनसम्म धेरै पक्षलाई समेटेको छ। एप्पल म्यापमा विज्ञापनको आगमनले सेवाको नयाँ व्यावसायिक आयाम खोलेको छ भने आरसीएस एन्क्रिप्सनले एन्ड्रोइडसँगको सन्देश आदानप्रदानलाई झन् सुरक्षित बनाएको छ। यी सबै परिवर्तनहरू हेर्दा, एप्पलले प्रयोगकर्ता अनुभव र पारिस्थितिक प्रणालीको एकीकरणलाई निरन्तर बलियो बनाइरहेको देखिन्छ।
आईसीटी समाचार