कीवर्डहरू -

एमजी नेपालको ईभी चार्जिङ एप सार्वजनिक

एमजी नेपालको ईभी चार्जिङ एप सार्वजनिक

एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले पारामाउन्ट चार्जिङ सोलुसन मोबाइल एप सार्वजनिक गरेको छ । एमजीको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने योजनासहित एप ल्याइएको हो । 

पारामाउन्ट चार्जिङ सोलुसन एप एप्पलको एप स्टोर र गूगलको प्लेस्टोरमा उपलब्ध रहेको छ । यस एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेड एस इभी र एमजी फो इभीका ग्राहकहरुलाई विशेष फाइदा गर्ने छ । हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन छन् । आगामी दिन थप विस्तार गर्ने कम्पनीको योजना छ । 

एप डाउनलोड गरेर ग्राहकहरूले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रोसेस पूरा गरी चार्जिङ शुल्क खल्तीबाट भुक्तानी गर्न सक्ने छन् । पारामाउन्ट मोटर्सले नेपाल विद्युत् प्राधिकरणले तोकेको दरमा प्रति युनिट दरमा थप २० प्रतिशत शुल्क लिने जनाएको छ । प्रति युनिट शुल्क पिक र अफ–पिक आवरमा फरक हुनसक्ने कम्पनीले जनाएको छ । 

एपमा आर.एफ.आइ.डी कार्डमार्फत ग्राहकहरूले देशभरिका कुनै पनि एमजीका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारीसाधन चार्ज गर्न सक्नेछन् । ग्राहकहरूले आर.एफ.आइ.डी कार्ड कम्पनीबाट लिनको लागि भ्याट सहित ५०० रूपैयाँको वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ । 

यो शुल्क चार्जिङ मसिनहरु र स्टेसनहरूको मर्मतमा खर्च गरिने र प्रभावकारिता र दक्षता बढाउने कम्पनीले जनाएको छ । साथै यो एपले २४ घण्टा चार्जिङ सोलुसनहरू उपलब्ध गराइ ग्राहकहरूको चार्जिङ सम्बन्धी समस्यालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ । आरएफआइडी कार्ड रिक्वेस्ट गर्न ग्राहकहरुले अनलाइन र अफलाइन दुवै तरिकाले फारम भर्न सक्नेछन् ।