प्रतिष्ठित टेक कम्पनी माइक्रोसफ्टले आफ्नो नवीनतम क्वान्टम प्रोसेसर म्याजोराना १ को घोषणा गरेको छ । यस चिपसेटले प्रविधि क्षेत्रमा ठूलो हलचल मच्चाएको छ र परम्परागत क्वान्टम प्रोसेसरहरूभन्दा निकै उन्नत मानिने गरिएको छ ।
यसमा प्रयोग गरिएको प्रविधिबाट लाखौं कम्प्युटरलाई स्केल गर्न सकिने र यस प्रोसेसरले प्रविधि क्षेत्रमा व्यापक परिवर्तन ल्याउन सक्ने माइक्रोसफ्टको दावी छ ।
म्याजोराना १ माइक्रोसफ्टको पहिलो क्वान्टम प्रोसेसर हो र यो टोपोलोजिकल सुपरकन्डक्टर प्रविधीमा आधारित छ । परम्परागत क्वान्टम चिपहरूले डाटा प्रशोधनका लागि इलेक्ट्रोनहरूमा निर्भर गर्दछन् ।
म्याजोराना १ मा प्रशोधनका लागि टोपोकन्डक्टर्स र एटमहरूको प्रयोग गरिएको छ । यस चिपको सबैभन्दा ठूलो विशेषता भनेको त्रुटिको सम्भावना लगभग शून्य हुनु हो, साथै यसले पहिलेभन्दा धेरै स्थिर र विश्वसनीय क्वान्टम कम्प्युटिङ अनुभव प्रदान गर्दछ ।
आईबीएम र गूगलका क्वान्टम चिपहरूबाट कति फरक छ?
आईबीएम, गूगल र इन्टेलका जस्ता कम्पनीका क्वान्टम चिपहरू इलेक्ट्रोनमा आधारित हुन्छन् र ती चिपहरूले छिटो र सही ढंगले काम गर्नका लागि जटिल त्रुटि सुधार प्रणालीमा निर्भर रहन्छन् । अर्कोतिर, माइक्रोसफ्टको भनाइ छ कि म्याजोराना १ यी चिपहरूभन्दा बढी स्केलेबल र स्थिर छ ।
माइक्रोसफ्टको क्वान्टम प्रोसेसर प्रविधि हाल अनुसन्धान र विकासको चरणमा रहेकोले यस चिपलाई बजारमा ल्याउन अझ केही वर्ष लाग्नेछ । यस चिपलाई बनाउन १७ वर्ष लागेको कम्पनीको भनाइ छ । एनभिडियाका सीईओले पनि यो प्रविधि आममानिससम्म पुग्न अझ लामो समय लाग्ने बताएका छन् ।
त्रुटि रहित र छिटो स्थिर क्वान्टम कम्प्युटिङको मद्दतले नयाँ औषधिहरूको खोज द्रुत हुनेछ । साथै, उन्नत क्वान्टम चिपको प्रयोगले अझ दक्ष ब्याट्रीहरू र सोलर प्यानलहरू विकास गर्न सकिनेछ ।
यो चिपसेटले कृत्रिम बुद्धिमत्ता (एआई) लाई अझ प्रभावशाली बनाउन सक्छ र इन्टरनेट, साइबर तथा डिजिटल सुरक्षालाई थप मजबुत बनाउनेछ । यस प्रोसेसरले जटिल वैज्ञानिक अनुसन्धान र गणितीय समस्याहरूलाई सजिलै समाधान गर्न सहयोग पु¥याउनेछ ।