५ वर्ष अगाडि काठमाडौंका प्रशन्न चुँडालले सफ्टवेयर कम्पनी सुरू गरे । सफ्टवेयर कम्पनी सुरू त गरे, उनले सूचना प्रविधि (आईटी) मा काम गर्ने दक्ष जनशक्ति पाएनन् ।
प्रतिष्ठित कलेजका विद्यार्थी ल्याउँदा समेत बजारलाई आवश्यक सीप थिएन । त्यसपछि प्रशन्नलाई लाग्यो यो समस्या माइन्ड राइजर्सको मात्रै होइन, अन्य धेरै आईटी कम्पनीको समेत हो ।
अनि उद्योग र एकेडेमीयाबीचमा देखिएको यही ‘ग्याप’ पुरा गर्न सुरू भयो आईटी तालिम दिने कम्पनी माइन्डराईजर्स एकेडेमी ।
छोटो अवधिका सीपयुक्त तालिम प्रदान गरेर बजारलाई आवश्यक पर्ने जनशक्ति तयार गर्न माइन्डराईजर्स सुरू भएको संस्थापक प्रशन्न चुँडालले बताए ।
‘पाँच वर्ष अगाडि हामीले सफ्टवेयर कम्पनी सुरू गर्यो । कम्पनी त सुरू भयो, तर हामीलाई आवश्यक पर्ने सीपयुक्त जनशक्ति पाइएन,’ प्रशन्नले आइसिटी समाचारसँग भने, ‘यो समस्या हामीले मात्र नभएर अन्य कम्पनीले पनि भोगिरहेका थिए । त्यसपछि हामीले आईटी तालिम दिन थालेका हौं ।’

माइन्ड राइजर्सले प्रोग्रामिङ, डिजाइनिङ, डिजिटल मार्केटिङ, नेटवर्किङ लगायतको तालिम दिदै आएको छ । कम्पनीले हालै बिजनेस एनालिष्टको कोर्ष समेत सुरू गरेको छ ।
तालिम लिन आएका विद्यार्थीलाई इन्टर्नसीपदेखि रोजगारीको अवसर दिनेसम्म माइन्ड राइजर्सले गर्छ । तर त्यसका लागि केही शर्त तोकिएको छ ।
विद्यार्थीलाई उद्योगमै काम गरिरहेका व्यक्तिबाट तालिम दिने गरेको चुँडाल बताउँछन् । ‘हामी सबै विषयमा तालिम दिदैनौं । सिमित विषयमा मात्रै दिन्छौं, जुनमा हामीले काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘विद्यार्थीलाई उद्योगमा काम गरिरहेका दक्ष जनशक्तिबाट तालिम प्रदान गर्छौं ।’
माइन्ड राइजर्सको एउटा बलियो पक्ष भनेको यहाँ सैद्धान्तिक ज्ञान मात्रै हुँदैन् । सैद्धान्तिकका साथसाथै प्रयोगात्मक ज्ञान पनि सँगसँगै दिइन्छ । माइन्ड राइजर्समा बिहान विद्यार्थीले तालिम लिन्छन् । त्यसपछि देखिएका समस्या प्रत्यक्ष रूपमा माइन्ड राइजर्समा काम गरिरहेका व्यक्तिलाई सोध्छन् ।
माइन्डराईजर्समा करियर ओरियन्टेड विद्यार्थीहरू धेरै आउने गरेको उनको भनाइ छ । अहिलेसम्म कम्पनीले ५ हजार बढीलाई आईटी तालिम प्रदान गरिसकेको छ ।
माइन्डराजर्सले आफ्नै कम्पनीमा समेत इन्टर्नसीपदेखि रोजगारीका अवसर प्रदान गर्दै आएको छ । खासमा माइन्डराइर्जस ग्रुप अफ कम्पनीज हो, जसभित्र सफ्टवेयर, कन्सल्टिङ, अनलाइन फुड, रेष्टुरेन्ट लगायतका कम्पनीहरू छन् ।
यस बाहेक अन्य आईटी कम्पनीमा इन्टर्नसीप दिनेदेखि रोजगारीका लागि समेत विद्यार्थीलाई सघाउँदै आएको छ । त्यसका लागि अन्य आईटी कम्पनीसँग सहकार्य गरेको छ ।
माइन्डराईजर्सा धेरै विद्यार्थी रिफरलबाट आउने गरेको उनले जानकारी दिए । उनी अगाडि भन्छन्, ‘सबैभन्दा बलियो पक्ष भनेको हाम्रोमा रिफरलबाट धेरै विद्यार्थी तालिम लिन आउँछन् । अहिलेसम्म तालिम लिएका विद्यार्थीको प्रतिक्रिया पनि राम्रो छ । सधैं कक्षामा आउने, असाइन्मेन्ट गर्ने विद्यार्थीले शत प्रतिशत नै रोजगारी पाएका छन् ।’
माइन्डराईजर्सले प्रदान गर्ने प्राय कोर्षको शूल्क १५ हजार रूपैयाँको हाराहारीमा रहेको छ । कोर्षको अवधि साढे २ देखि ३ महिनासम्म रहने गरेको छ । तर एकेडेमीले अब डिप्लोमा कोर्ष समेत सुरू गर्ने योजना बनाएको छ ।
बजारको माग अनुसार १ वर्षसम्ममको डिप्लोमा कोर्ष पनि सुरू गर्ने तयारीमा रहेको चुँडालले जानकारी दिए । पछिल्लो समय आईटीको पृष्ठभूमि नभएका मानिस आईटीमा आउन इच्छुक रहेको बताउँदै उनले आईटीमा काम गर्न कुनै डिग्री नचाहिने बताए ।
‘आईटी भनेको यस्तो क्षेत्र हो, जहाँ काम गर्न कुनै डिग्री चाहिँदैन् । आईटी भित्र कोडिङ मात्रै नभएर अन्य धेरै रोजगारीका अवसर छन्,’ उनले भने, ‘आईटीमा काम गर्न सीप भए पुग्छ । विश्वका ठूला आईटी कम्पनीले डिग्रीभन्दा पनि सीपलाई महत्त्व दिन्छन् । आईटी भनेको धेरै गार्हो कुरा पनि होइन । यसमा माग बढ्दो छ ।’ 
 
 
                  
                  
               कमल केसी
                                      कमल केसी
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      