रौतहट । टिकटकमा फर्निचर बिक्रीको विज्ञापन राखेर सर्वसाधारणलाई सम्पर्क गर्ने र मोबाइलको स्क्रिन सेयर गराई बैंकिङ विवरण हात पारेर रकम चोरी गरेको आरोपमा रौतहट प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कटहरिया नगरपालिका ३ बिर्ती प्रस्टोकाका रामप्रवेश साह बनिया र सुबोध माली भगत छन् । यसअघि सोही स्थानका २० वर्षीय सुरजप्रसाद यादव र २२ वर्षीय भोलिन्द्रकुमार यादव पक्राउ परिसकेका थिए ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार यसअघि पक्राउ परेका दुई जनासँग गरिएको सोधपुछ तथा अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा थप दुई जनालाई नियन्त्रणमा लिइएको हो ।
घटनाको सुरुवात गत भदौको दोस्रो सातातिर भएको प्रहरीले जनाएको छ । सिरहाको नवराजपुर गाउँपालिका ३ का ४५ वर्षीय वैद्यनाथकुमार यादवलाई टिकटकमार्फत फर्निचर बिक्री गर्ने भन्दै सम्पर्क गरिएको थियो ।
फर्निचर खरिदबारे कुराकानी गर्ने क्रममा पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाइएको र त्यसैबाट मोबाइल बैंकिङको पासवर्डलगायत संवेदनशील विवरण हात पारिएको प्रहरीको दाबी छ । त्यसपछि उनको बैंक खाताबाट ४७ हजार १९८ रुपैयाँ निकालिएको थियो ।
बैंक खाताबाट रकम निकालिएपछि पीडितले बैंकिङ कारोबारमा देखिएको विवरणका आधारमा ठगीमा संलग्न व्यक्तिको पहिचान गर्ने प्रयास गरेका थिए । उनले भदौ १६ गते इलाका प्रहरी कार्यालय कटहरियामा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
सोही क्रममा सुरजप्रसाद यादव र भोलिन्द्रकुमार यादव पक्राउ परेका थिए । उनीहरूलाई भदौ १६ गते बिर्ती प्रस्टोकाबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको थियो । उनीहरूविरुद्ध भदौ १७ गते अनलाइन ठगीसम्बन्धी मुद्दा दर्ता गरिएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले फर्निचर बिक्रीको बहानामा मात्र नभई विभिन्न माध्यमबाट अनलाइन ठगी गर्दै आएको प्रारम्भिक तथ्य फेला परेको डीएसपी आचार्यले बताए ।
प्रहरीका अनुसार उनीहरूले नक्कली नागरिकता र राहदानी समेत प्रयोग गरेर बैंक खाता खोल्ने र ती खातालाई ठगीबाट प्राप्त रकमको कारोबारमा प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चार जनाको पक्राउपछि प्रहरीले उनीहरूसँग जोडिएका बैंक खाता, डिजिटल कारोबार तथा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान गरिरहेको छ । घटनामा थप व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंका गर्दै प्रहरीले संगठित अपराधसम्बन्धी कसुरतर्फ समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।
हाल पक्राउ परेका चारै जना इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन् । प्रहरीले उनीहरूमार्फत सञ्चालित सम्भावित डिजिटल सञ्जाल र अन्य ठगीका घटनाबारे थप प्रमाण संकलन गरिरहेको जनाएको छ ।
आईसीटी समाचार