कीवर्डहरू -

भोटेकोशी बाढीको चपेटामा एनसेल, एक टावर पूर्ण रुपमा नष्ट

भोटेकोशी बाढीको चपेटामा एनसेल, एक टावर पूर्ण रुपमा नष्ट

काठमाडौं । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण एनसेलको दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको छ । बाढीले रसुवाको टिमुरेमा रहेको एनसेलको एक मोबाइल टावर पूर्णरूपमा नष्ट गर्नुका साथै ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइनमा क्षति पुर्‍याएको छ ।

कम्पनीले गरेको प्रारम्भिक आकलनअनुसार बाढी तथा पहिरोबाट भएको क्षतिका कारण एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको छ ।

विपद्बाट प्रभावित ग्राहकलाई सञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले एनसेलले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । यसबाट ३ लाखभन्दा बढी ग्राहक लाभान्वित भइरहेका छन् ।

बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकलाई नि:शुल्क सेवाका लागि योग्य बनाइएको कम्पनीले जनाएको छ । सुरुमा गत बुधबारदेखि तीन दिनका लागि उपलब्ध गराइएको निःशुल्क सेवा पछि शनिबारदेखि थप सात दिनका लागि विस्तार गरिएको थियो ।

एनसेलका अनुसार सोमबारसम्म ग्राहकहरूले प्रयोग गरेको नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य १ करोड २० लाख रुपैयाँभन्दा बढी पुगेको छ । प्रभावित क्षेत्रमा डाउन भएका मोबाइल टावरको संख्या घट्दै गएसँगै नि:शुल्क सेवाको प्रयोग समेत बढिरहेको कम्पनीले जनाएको छ ।

बाढी तथा पहिरोका कारण फाइबर लिंकमा क्षति पुगेपछि नुवाकोट, रसुवा र धादिङका २७ वटा एनसेल टावर प्रभावित भएका थिए । तीमध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकिएको छ । बाँकी तीनमध्ये रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एउटा टावर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । 

नुवाकोटको त्रिशूली, बिदुरस्थित एउटा टावर र रसुवाको तिरुमा रहेको टावर पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोलीलाई फिल्डमा खटाइएको छ । आवश्यक मर्मत तथा पुन:स्थापनाको काम भइरहेको कम्पनीले जनाएको छ ।

यसैबीच, आपतकालीन अवस्थामा ग्राहकहरू निरन्तर सम्पर्कमा रहन सकून् भन्ने उद्देश्यले एनसेलले २५ हजारभन्दा बढी ग्राहकको सेवा पुन: सक्रिय गरिदिएको जनाएको छ । ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएका वा आउटगोइङ र इनकमिङ दुवै सेवा बन्द भएका सिमलाई समेत पुनः सक्रिय गरिएको कम्पनीको भनाइ छ ।

सेवा पुन: सक्रिय भएपछि ती ग्राहकले पनि एनसेलले उपलब्ध गराएको नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको सुविधा पाएका छन् । यसबाट विपद्को कठिन समयमा उनीहरू परिवार तथा आफन्तसँग सम्पर्कमा रहनुका साथै उद्धार तथा राहतका लागि आवश्यक सहयोग लिन सहज भएको कम्पनीले जनाएको छ ।

एनसेलले नेपाल सरकार तथा नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामूलक कल टोन र एसएमएस समेत सम्प्रेषण गरिरहेको छ । त्यस्ता सन्देशमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउनुअघि बैंक खाता, क्यूआर कोड वा लिंक आधिकारिक हो वा होइन भन्ने सुनिश्चित गर्न अपिल गरिएको छ ।

त्यस्तै, सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विपद्सँग सम्बन्धित विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो, भिडियो लगायतका सामाग्री पोस्ट नगर्न र त्यस्ता सामाग्री पोस्ट भइसकेका भए तत्काल हटाउन समेत एनसेलले अनुरोध गरेको छ ।

बाढीबाट आफ्नै पूर्वाधारमा ठूलो क्षति भएपनि प्रभावित क्षेत्रमा सञ्चार सेवा निरन्तर राख्न तथा आपतकालीन अवस्थामा ग्राहकलाई सम्पर्कमा रहन सहज बनाउन कम्पनीले प्राविधिक तथा सेवा पुन:स्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ ।