काठमाडौं । नेपालमा साइबर सुरक्षा क्षेत्रको बढ्दो मागलाई सम्बोधन गर्दै दक्ष जनशक्ति तयार पार्ने उद्देश्यका साथ पूर्ण रूपमा अनलाइन माध्यममा आधारित इन्टर्नशिप कार्यक्रम सञ्चालनमा आएको छ ।
साइबर सुरक्षासम्बन्धी परामर्श तथा सेवा प्रदान गर्दै आएको संस्था वन कभर प्रालिले देशभरका विद्यार्थी तथा भर्खरै स्नातक तह उत्तीर्ण गरेका युवाहरूलाई लक्षित गर्दै ६ हप्ता लामो ‘साइबर सेक्युरिटी भर्चुअल इन्टर्नशिप’ सुरु गरेको हो ।
प्राविधिक क्षेत्रमा प्राय: देखिने अनुभवको कमीका कारण रोजगारी नपाउने र रोजगारीविना अनुभव हासिल गर्न नसकिने जटिल समस्यालाई समाधान गर्दै सैद्धान्तिक ज्ञानलाई व्यावहारिक सीपमा ढाल्नु यस कार्यक्रमको मुख्य ध्येय रहेको छ ।
यस कार्यक्रमको सबैभन्दा सबल पक्ष शतप्रतिशत भर्चुअल मोडेल हुनु हो, जसले गर्दा काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब पोखरा, विराटनगर, चितवन वा देशका जुनसुकै दुर्गम स्थानमा रहेका विद्यार्थीहरूले आफ्नै घरबाट यसमा सहभागिता जनाउन सक्नेछन् ।
इन्टर्नशिप अवधिभर सहभागीहरूले साइबर सुरक्षा क्षेत्रमा कार्यरत अनुभवी पेनिट्रेसन टेस्टर तथा सेक्युरिटी इन्जिनियरहरूसँग प्रत्यक्ष १:१ रूपमा मेन्टरसिप र मार्गदर्शन प्राप्त गर्ने सुविधा मिलाइएको छ । छ हप्ताको यस सघन व्यावहारिक प्रशिक्षणमा साइबर सुरक्षाका बहुआयामिक विषयहरू समेटिएका छन् ।
यसअन्तर्गत सहभागीहरूले रिकोनिसेन्स तथा सूचना सङ्कलन, ओडब्लुएएसपी टप १० मा आधारित वेब एप्लिकेसन सुरक्षा, एपीआई सुरक्षा परीक्षण, नेटवर्क तथा पूर्वाधार सुरक्षा, मोबाइल एप्लिकेसन सुरक्षा र व्यावसायिक रिपोर्टिङका साथै ग्राहकसँग गरिने सञ्चार सीपबारे गहन ज्ञान हासिल गर्नेछन् ।
यस कार्यक्रमले तालिम मात्र नदिई रोजगारीको ढोका पनि खोल्नेछ, जहाँ उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई वन कभर प्रालिमै रोजगारीका लागि पहिलो प्राथमिकता दिइनेछ ।
नेपालमा डिजिटल प्रविधिको विस्तार तीव्र गतिमा भइरहेको वर्तमान अवस्थामा व्यावहारिक ज्ञान, विशेषज्ञको प्रत्यक्ष मार्गदर्शन र सम्भावित रोजगारीको अवसरलाई एउटै मञ्चमा जोड्ने यो पहलले साइबर सुरक्षामा करिअर बनाउन चाहने नयाँ पुस्तालाई ठूलो ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार