कीवर्डहरू -

नेपालका दुई ठूला वालेट मर्जर: फिनटेक क्षेत्रमा नयाँ युगको सुरूवात

नेपालका दुई ठूला वालेट मर्जर: फिनटेक क्षेत्रमा नयाँ युगको सुरूवात

नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा नयाँ युगको सुरूवात भएको छ । देशका दुई ठूला वालेट सेवा प्रदायक, खल्ती र आईएमई पे, एकसाथ मिलेर फिनटेक उद्योगमा क्रान्ति ल्याउन ‘एक’ भएका छन् । 

साउन १ गतेदेखि यी दुई सेवा ‘आईएमई खल्ती लिमिटेड’ मा एकीकृत भई संयुक्त कारोबारमा छन् । नयाँ ब्राण्ड नाम ‘खल्ती बाई आईएमई’ राखिएको छ, जसको लोगोमा खल्तीको माथि आईएमई पेको ‘चङ्गा’ आइकन राखिएको छ । मुख्य रङ रातो बनाइएको छ, जुन उर्जाको प्रतिक हो । 

अब एउटै एपमार्फत सेवा प्रदान गर्ने हुँदा खल्ती र आईएमई पेमा भएका १ करोड २७ लाख सेवाग्राहीहरू एउटै प्लेटफर्ममा आएका छन् । यद्यपि, दुबै वालेटमा खाता बनाएका डुप्लिकेट प्रयोगकर्ता पनि भएकाले युनिक प्रयोगकर्ता झण्डै ९० लाख रहेको अनुमान गरिएको छ । यो मर्जर हालसम्म नेपालको फिनटेक इतिहासकै सबैभन्दा ठूलो मर्जर हो । नयाँ कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ, जुन डिजिटल वालेट क्षेत्रमै सबैभन्दा बढी हो ।

null

नेपाल राष्ट्र बैंकले मोबाइल वालेटहरूलाई मर्जरमा जान सक्ने नीति बनाएपछि खल्ती र आईएमई पे एकआपसमा गाभिएका हुन्। सुरुवाती चरणमा यो मर्जरको हल्लाले विभिन्न शंका उत्पन्न गराएको थियो, किनभने बजारका दुई ठूला प्रतिस्पर्धीहरू मर्ज भएको उदाहरण विरलै पाइन्छ । तर खल्ती र आईएमई पेले यो सम्भावनालाई यथार्थमा परिणत गरेर नेपाली फिनटेकमा नयाँ इतिहास कोरेका छन् ।

धेरैले दुबै कम्पनीको मर्जर हुने कल्पना गरेका थिएनन्, तर उनीहरूले त्यो सम्भावनालाई मूर्तरूप दिँदै फिनटेक उद्योगमा नयाँ अध्याय सुरु गरेका छन् । अब खल्ती बाई आईएमईको प्रतिस्पर्धा सिधै इसेवासँग हुने देखिन्छ, जसले अन्ततः प्रयोगकर्तालाई फाइदा पुर्‍याउने विश्वास गरिएको छ । फिनटेक क्षेत्रमा नवीन प्रडक्ट ल्याउने खल्ती बाई आईएमईले बताइसकेको छ । 

मर्जर प्रक्रिया 

गत वर्षको अगस्टदेखि खल्ती र आईएमईपेबीच मर्जरको प्रारम्भिक छलफल सुरू भएको थियो । त्यसपछि २०८१ फागुन ४ गते प्रारम्भिक समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भयो । समझदारी पश्चात सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइको थियो । अनि फागुन २२ गते राष्ट्र बैंकले मर्जरमा जानका लागि सैद्धानिक स्वीकृति दिएको थियो । 

सैद्धान्तिक सहमति प्राप्त गरेपछि दुवै संस्थाले आ-आफ्नो सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न लेखापरीक्षक नियुक्त गरी विस्तृत मूल्याङ्कन प्रतिवेदन (डीडीए) तयार गरी एक आपसमा मर्ज हुनका लागि वैशाख २५ गते अन्तिम सम्झौता गरेका थिए । 

अन्तिम सम्झौता भएपछि अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिइएको थियो । त्यसपछि राष्ट्र बैंकले असार ४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । 

अन्तिम स्वीकृति पाएपछि दुबै संस्थाले साउन १ गतेदेखि एकीकृत कारोबार थालेका हुन् । करिब ११ महिनाको लामो प्रक्रियापछि मर्जर सम्पन्न भएको हो । मर्जरपछि नयाँ बनेको कम्पनीमा आईएमई खल्ती लिमिटेडमा आईएमई समूहको ५५ प्रतिशत र खल्तीको ४५ प्रतिशत शेयर स्वामित्व रहेको बताइएको छ । यद्यपी औपचारिक घोषणा भने भएको छैन् । 

नयाँ सञ्चालक समितिलाई लाइन्सेस हस्तान्तरण गर्दै डेपुटी गभर्नर

नयाँ कम्पनी आईएमई खल्ती लिमिटेडको अध्यक्षमा कृष्ण प्रसाद शर्मा चयन भएका छन् । सञ्चालक समिति सदस्यमा आईएमईको तर्फबाट दिवाकर पौडेल, सिताराम थापा, प्रविण रेग्मी र खल्तीको तर्फबाट अमित अग्रवाल, अर्बिन्द शाह र मनिष मोदी चयन भएका छन् । नयाँ कम्पनीको मुख्य कार्यालय काठमाडौंको पानीपोखरीमा राखिएको छ ।

आईएमई पेमा आईएमई समूहको लगानी रहेको थियो भने खल्तीमा वर्ल्डलिंक र त्रिवेणी समूहको लगानी रहेको थियो । 

आईएमई पेले नेपाल राष्ट्र बैंकबाट २०७४ असार ५ गते अनुमति पाएको थियो भने खल्तीले २०७६ वैशाख २ गते अनुमति पाएको थियो । नेपालको वालेटमा उद्योगमा इसेवापछि खल्ती र आईएमई पे शीर्ष स्थानमा थिए ।

डिजिटल अर्थतन्त्रको सपना

आईएमई खल्ती लिमिटेडका निर्देशक प्रविण रेग्मीले यो मर्जर नेपालको डिजिटल इकोसिस्टमका लागि ठूलो फड्को भएको बताए । 

‘डिजिटल अर्थतन्त्रमा हामीले ठूलो सम्भावना देख्यौं, जसले गर्दा यो मर्जर सफल भयो,’ उनले भने, ‘दुईवटा एप एक ठाउँमा ल्याउन मर्ज भएका होइनौं । इम्प्याक्टलाई मल्टिपलाई गर्न आएका हौं ।’ 

खल्ती र आईएमई पेबीचको मर्जरले फिनटेक उद्योगमा नयाँ अध्यायको सुरूवात समेत भएको छ । यसले डिजिटल भुक्तानीको क्षेत्रमा नयाँ आयाम थप्ने छ । अब खल्ती बाई आईएमईको प्रतिस्पर्धा सिधैं इसेवासँग हुनेछ, जसले अन्ततः प्रयोगकर्तालाई नै फाइदा पुग्ने विश्वास गरिएको छ । 

आईएमई पे र खल्तीबीचको मर्जर डिजिटल अर्थतन्त्र बनाउने ठूलो सपनाको सुरूवात भएको आईएमई ग्रुपका सह-संस्थापक हेमराज ढकाल बताउँछन् । 

‘यो डिजिटल रूपान्तरणको सुरूवातको कथा हो । डिजिटल अर्थतन्त्रलाई गाउँ गाउँमा पुर्‍याउने नयाँ अध्याय हो,’ बिहीबार काठमाडौं आयोजित औपचारिक घोषणा समारोहमा उनले भनेका थिए, ‘यसले डिजिटल नेपाल अभियानलाई सार्थक पार्न सहयोग गर्नेछ । डिजिटल रूपान्तरणमा पेमेन्टको इकोसिस्टम महत्त्वपूर्ण हुन्छ ।’

यो कुनै संकट आएर भन्दा पनि डिजिटल अर्थतन्त्रको क्षेत्रमा ठूलो सम्भावना देखेर दुई ‘मार्केट लिडर’ मर्ज भएको दावी गरिएको छ । यो दुईवटा कम्पनीको मर्जर मात्रै नभएर प्रविधि र इन्नोभेसनको कन्भर्जन पनि भएको खल्तीका अध्यक्ष मनोज अग्रवालले बताए । 

डिजिटल भुक्तानीको क्षेत्रमा वालेटहरूको भूमिका एकदमै महत्त्वपूर्ण छ । डिजिटल भुक्तानीमा आम नागरिकको बानी बसाल्ने पहिलो श्रेय वालेटलाई नै जान्छ । तर नेपालको अझै पनि धेरै भुक्तानी नगदमै हुन्छ । विस्तारै डिजिटलाइज हुँदैछ । खल्ती बाई आईएमईले डिजिटल भुक्तानीलाई थप गति दिने राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए । 

‘भुक्तानी प्रणालीको आजसम्मको विकासबाट हामी खुसी छौं । तर अझै पनि भुक्तानी प्रणाली डिजिटाइजेनसमा धेरै काम गर्नुपर्ने छ,’ उनले अगाडि भने, ‘बैंक तथा वित्तीय संस्थाहरूमा मर्जरपछि कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ । यस्तो खालको झमेला यसमा नदेखियोस् ।’

काठमाडौंमा मात्र नभएर गाउँ गाउँमा पनि सजिलै चलाउन सक्ने गरी खल्ती बाई आईएमई वालेटको युआई विकास गर्न उनको आग्रह छ । 

खल्ती र आईएमई पेले विगत ८ वर्षदेखि वित्तीय समावेशीतामा काम गरिरहेका थिए । शहरमा मात्र नभएर दूरदराजसम्म वित्तीय पहुँच पुर्‍याएका थिए । 

अब मर्जरपछि बनेको खल्ती बाई आईएमईले वित्तीय समावेशीतालाई अझै द्रुत गतीमा लिएर जाने आईएमई खल्ती लिमिटेडका सीईओ विनय खड्काले बताए । 

आगामी दिनमा सबै नेपालीलाई समेट्ने गरी नवीन वित्तीय सेवा र सुविधाहरूले ल्याउने खल्तीको योजना छ । आईएमईको इकोसिस्टम र खल्तीको युवा उर्जाले डिजिटल रूपान्तरण सहयोग पुग्ने विश्वास गरिएको छ । 

‘डीएनएनमा हामी इन्नोभेसन, एजिलिटी र अजाएल लिएर लिएर हिड्ने छौं,’ सीईओ खड्काले भने, ‘खल्ती बाई आईएमईलाई होम अफ फाइनान्सियल सर्भिसेसको रूपमा स्थापना गर्ने उद्देश्य अनुसार काम गर्छौं ।’ 

बम बहादुर मिश्र

खल्तीले केही समय अगाडि ‘स्मार्ट डिपोजिट’ सुविधा ल्याएको थियो । यस सुविधाअन्तर्गत प्रयोगकर्ताहरूले न्यूनतम १०० रूपैयाँबाट दैनिक, साप्ताहिक वा मासिक रूपमा ६ महिनादेखि ६० महिनासम्म बचत गर्न सक्छन् । खल्ती बाई आईएमईले ल्याउने आगामी सेवाहरूका लागि ‘स्मार्ट डिपोजिट’ सुविधा एउटा झलक भएको प्रमुख प्रविधि अधिकृत (सीटीओ) धुर्व अधिकारी बताउँछन् । 

अहिलेसम्म वालेटहरू साना तथा मझौला व्यवसायहरूमा खासै केन्द्रित भएका छैनन, प्रयोगकर्तामा बढी केन्द्रित छन् । नेपालमा ९ लाख बढी साना तथा मझौला व्यवसायहरू दर्ता भएका छन् । 
अब साना तथा मझौला व्यवसायहरूलाई सहयोग पुग्ने गरी विभिन्न सेवा ल्याउने खल्ती बाई आईएमईको योजना छ । जसरी भएपनि प्रयोगकर्ताहरूलाई धेरै सुविधाहरू वालेटबाटै प्रदान गर्ने लक्ष्य बनाइएको छ । 

चन्द्र ढकाल

दुई वटा वालेट मर्जरपछि आम जनतालाई धेरै भन्दा धेरै सुविधाहरू प्रदान गर्ने आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । त्यसो त, चन्द्र ढकालले मर्जर किङको उपनामले पनि चिनिन्छ । यसअघि बैंक तथा रेमिट्यान्समा  क्षेत्रमा पनि सफल मर्जर गराइसकेका ढकालले वालेट उद्योगमा पनि सफल मर्जर गराउन सफल भएका छन् ।

खल्ती र आईएमई पे मर्जरपछि बनेको आईएमई खल्तीले सरकारको डिजिटल नेपाल अभियानलाई सघाउने उनको विश्वास छ । 

खल्ती र आईएमई पे एक आपसमा मर्ज भएपछि अब कस्तो इम्प्याक्ट आउँला ? यसको जवाफ पाउन भने हामीले केही समय कुर्नु पर्ने हुन्छ । 

नेपाल जस्तो सानो बजारमा धेरै वालेट दीर्घकालीन रूपमा टिक्न मुस्किल छ । यस्तो अवस्थामा मर्जर वा बन्द हुने विकल्पबाहेक अरु उपाय छैन् । खल्ती र आईएमई पेले मर्जरमार्फत डिजिटल भुक्तानी क्षेत्रमा नयाँ युग सुरू गरेका छन् । अब यो बाटोमा अरू कति वालेटहरू हिँड्छन्, त्यो समयले बताउनेछ ।