कीवर्डहरू -

ह्याकिङको नयाँ तरिकाः सीसीटीभी ह्याक गरेर व्यक्तिगत फुटेज बिक्री, लाखौँ रुपैयाँ आम्दानी

ह्याकिङको नयाँ तरिकाः सीसीटीभी ह्याक गरेर व्यक्तिगत फुटेज बिक्री, लाखौँ रुपैयाँ आम्दानी

मोबाइल, ल्यापटप वा ह्वाट्सएप जस्ता उपकरण तथा एपहरू ह्याक हुने घटना त सामान्य हुँदै गएको छ, तर तपाईंले सायद कमै सुन्नुभएको होला—घर वा अफिसमा जडान गरिएका सीसीटीभी क्यामेरा पनि ह्याक हुन सक्छन्।

हालै दक्षिण कोरियामा यस्तै चकित पार्ने घटना बाहिरिएको छ, जहाँ चार जनालाई १ लाख २० हजारभन्दा बढी आईपी (IP) क्यामेरा ह्याक गरी व्यक्तिगत तथा संवेदनशील फुटेज बेचेकै आरोपमा पक्राउ गरिएको छ। आरोपिहरूले ह्याक गरिएका ती फुटेजहरू विदेशी वेबसाइटमा यौन शोषणसम्बन्धी सामग्रीका रूपमा बिक्री गरेका थिए।

दक्षिण कोरियाली प्रहरीले दिएको जानकारी अनुसार, आरोपिहरूले आईपी क्यामेराको सुरक्षा कमजोरी र कमजोर पासवर्डको दुरुपयोग गरेका थिए। इन्टरनेट नेटवर्कमा आधारित भएकै कारण आजकलका आईपी क्यामेराहरू सामान्य सीसीटीभीभन्दा सस्ता, स्मार्ट र सजिलै ह्याकरको लक्ष्य बन्न सक्ने बनिरहेका छन्—विशेष गरी पासवर्ड सुरक्षित नभएमा।

कहाँ–कहाँबाट क्यामेरा ह्याक भए?

आरोपिहरूले निजी घरदेखि लिएर कराओके रुम, पिलाटेस स्टुडियो, र गायनेकोलोजिस्ट क्लिनिकसम्मका क्यामेरा ह्याक गरेका थिए। ती स्थानका निजी भिडियो बेचेर उनीहरूले लाखौँ रुपैयाँ आम्दानी गरेका थिए।

एक आरोपीले मात्र ६३ हजार क्यामेरा ह्याक गरी ५४५ अश्लील भिडियो बनाए र करिब ३५ मिलियन वन (करिब ३९.५२ लाख रुपैयाँ) कमाएको पाइएको छ। अर्कोले ७० हजार क्यामेरा ह्याक गरेर ६४८ यौन शोषणसम्बन्धी भिडियो बेच्यो र १८ मिलियन वन (करिब २०.३२ लाख रुपैयाँ) कमाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चारै जना अलग–अलग रुपमा काम गर्थे र उनीहरू कुनै संगठित समूहका सदस्य थिएनन्। यस्तै भिडियो हेर्ने वा खरिद गर्ने तीन जनालाई समेत पक्राउ गरिएको छ। साथै, प्रहरी विदेशी निकायहरूसँग समन्वय गरेर उक्त वेबसाइट बन्द गराउने प्रक्रियामा जुटेको छ।

साइबर युनिटका प्रमुख पार्क वू–ह्यूनका अनुसार, “आईपी क्यामेरा हैकिङ र गैरकानुनी रेकर्डिङ अत्यन्तै गम्भीर अपराध हो। यस्ता भिडियो हेर्नु वा राख्नु दुवै अपराध मानिन्छ।”

प्रहरीले हालसम्म ५८ स्थानमा पुगेर पीडितहरूलाई पासवर्ड परिवर्तन गर्न सहयोग गरेको बताइएको छ। कोरियाली नेशनल पुलिस एजेन्सीका अनुसार सुरक्षाको सबैभन्दा ठूलो उपाय भनेको बलियो पासवर्ड नै हो।

कसरी जोगाउने?—यी सुरक्षा टिप्स अवश्य अपनाउनुहोस्

• क्यामेराको पासवर्ड अत्यन्तै बलियो बनाउनुहोस् (अक्षर, अंक, चिन्ह मिश्रण)।
• कम्तिमा हरेक ३० दिनमा पासवर्ड परिवर्तन गर्नुस्।
• डिफल्ट पासवर्ड (admin, 1234 आदि) कहिल्यै प्रयोग नगर्नुहोस्।
• क्यामेराको सफ्टवेयर/फर्मवेयर नियमित रूपमा अपडेट राख्नुहोस्।
• बेडरुम, बाथरुम, लुगा बदल्ने ठाउँ जस्ता संवेदनशील स्थानमा क्यामेरा नलगाउनुहोस्।
• शंका लागेमा तुरुन्तै पासवर्ड परिवर्तन गरी प्रहरी वा साइबर सेलमा रिपोर्ट गर्नुहोस्।