कीवर्डहरू -

एनआईसी एशिया बैंकले ग्राहकलाई भन्यो- 'खातामा प्यान र ईमेल तुरुन्त अद्यावधिक गर्नुहोस्'

एनआईसी एशिया बैंकले ग्राहकलाई भन्यो- 'खातामा प्यान र ईमेल तुरुन्त अद्यावधिक गर्नुहोस्'

काठमाडौं ।  एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले करसम्बन्धी विवरणलाई डिजिटल प्रणालीसँग आबद्ध गर्न तथा ग्राहकलाई सेवा प्रवाह थप सहज बनाउन यस्तो अनुरोध गरेको जनाएको छ ।

बैंकका अनुसार निक्षेपमा प्राप्त हुने ब्याजबाट कट्टी गरिएको करको विवरण नेपाल सरकारको ई-टीडीएस (E-TDS) प्रणालीमा प्रविष्ट गर्न ग्राहकको प्यान अनिवार्य हुन्छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण सम्बन्धित प्यानमा स्वतः समावेश हुने र आयकर प्रणालीले त्यसलाई अनुसूची १० मा मिलान गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

यसका लागि ग्राहकले बैंकको अनलाइन प्यान अपडेट पोर्टल वा एनआईसी एशिया मोबैंक एपमार्फत सहजै आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै, देशभरका शाखा कार्यालयबाट समेत आवेदन दिएर प्यान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार प्यान विवरण अद्यावधिक भएपछि करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने मात्र होइन, प्रमाणपत्रका लागि बारम्बार बैंक धाउनुपर्ने अवस्थासमेत कम हुनेछ ।

त्यस्तै, बैंकले ग्राहकलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ । भिडियो केवाईसी सेवा तथा मोबैंक एपको ‘माइ प्रोफाइल’ विकल्पमार्फत ईमेल परिवर्तन गर्न सकिने व्यवस्था रहेको जनाइएको छ । शाखा कार्यालयबाट समेत ईमेल अद्यावधिकका लागि आवेदन दिन सकिनेछ ।

बैंकले यसअघि प्यान उपलब्ध गराइसकेका तर करकट्टी विवरण समावेश नभएका वा ईमेल अद्यावधिक नभएका ग्राहकलाई नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलद्वारा जारी सूचनामा प्यान अद्यावधिक नगरिएका खातामा करसम्बन्धी विवरण ई–टीडीएस प्रणालीमा समावेश नहुन सक्ने उल्लेख गर्दै यसबाट उत्पन्न हुने कर समायोजनसम्बन्धी समस्याको जिम्मेवारी बैंकले नलिने स्पष्ट पारेको छ ।