काठमाडौं । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले नयाँ संस्करण सार्वजनिक गर्दै दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ । एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ उपकरण तथा सुविधा थप गरिएको हो ।
नयाँ संस्करणमा पीडीएफ कागजात स्क्यान, क्यूआर कोड स्क्यान, इन्टरनेट गति परीक्षण, महिनावारी चक्र विवरण, एकाइ रूपान्तरण, हिसाब, टिपोट तथा सम्झना, ऋण हिसाब, स्थान पत्ता लगाउने र कर हिसाब लगायतका उपकरण समावेश गरिएको छ ।
पीडीएफ कागजात स्क्यान गर्ने उपकरणमार्फत प्रयोगकर्ताले मोबाइलबाटै आवश्यक कागजात स्क्यान गरी पीडीएफ फाइल बनाउन सक्नेछन् । त्यस्तै, क्यूआर कोड स्क्यान गर्ने उपकरणबाट विभिन्न क्यूआर कोड सहजै स्क्यान गर्न सकिनेछ । इन्टरनेट गति परीक्षण सुविधाबाट मोबाइलमा प्रयोग भइरहेको इन्टरनेटको गति परीक्षण गर्न सकिनेछ ।
विशेष गरी महिलाका लागि उपयोगी हुने महिनावारी चक्र विवरण राख्ने उपकरण मार्फत महिनावारीको चक्र तथा सम्बन्धित मितिको विवरण राख्न सकिनेछ । यसबाट सम्भावित महिनावारीको मितिबारे जानकारी लिनुका साथै आवश्यक समयमा सम्झना गराउने सूचना पनि प्राप्त गर्न सकिनेछ ।
त्यसैगरी, एकाइ रूपान्तरण र हिसाब गर्ने उपकरणले दैनिक आवश्यक पर्ने सामान्य गणना तथा विभिन्न एकाइ रूपान्तरणलाई सहज बनाउनेछ । टिपोट तथा सम्झना गराउने सुविधामार्फत प्रयोगकर्ताले महत्वपूर्ण कुरा लेखेर सुरक्षित राख्न तथा आवश्यक समयमा सम्झना गराउन सूचना निर्धारण गर्न सक्नेछन् । यसमा महत्वपूर्ण जानकारीलाई आवाजको टिपोटका रूपमा सुरक्षित राख्न सकिने सुविधा समेत समावेश गरिएको छ ।
ऋण हिसाब गर्ने उपकरणबाट ऋणको किस्ता तथा भुक्तानीसम्बन्धी सामान्य गणना गर्न सकिनेछ भने कर हिसाब गर्ने उपकरणबाट आम्दानी तथा करसम्बन्धी अनुमानित गणना गर्न सकिनेछ । त्यस्तै, स्थानसम्बन्धी सुविधामार्फत प्रयोगकर्ताले आफ्नो स्थानबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।
नेपा एपका अनुसार नयाँ उपकरण तथा सुविधा थप गर्नुको मुख्य उद्देश्य नेपाली प्रयोगकर्ताले दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न डिजिटल सेवा एउटै एपमार्फत सहज रूपमा प्रयोग गर्न सक्ने वातावरण बनाउनु हो । प्रयोगकर्ताको आवश्यकता र सुझावका आधारमा आगामी दिनमा थप उपयोगी सुविधा तथा उपकरण थप गर्दै जाने एपले जनाएको छ ।
नेपा एपमा यसअघि नै नेपाली पात्रो, पञ्चाङ्ग, राशिफल, नेपाली समाचार, जिल्ला समाचार, नेपाली एफएम रेडियो तथा चर्चामा रहेका विषयलगायत विभिन्न सामाग्री उपलब्ध हुँदै आएका छन् । नयाँ उपकरण तथा आगामी सुविधासँगै नेपाली प्रयोगकर्ताका दैनिक आवश्यकता र उपयोगी जानकारीलाई एउटै माध्यमबाट उपलब्ध गराउने लक्ष्य एपले लिएको जनाएको छ ।
आईसीटी समाचार