कीवर्डहरू -

कानुन जारी भएको एक वर्षपछि मदन भण्डारी विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिमा भर्ना

कानुन जारी भएको एक वर्षपछि मदन भण्डारी विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिमा भर्ना

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खुल्ला गरेको छ । कानून जारी भएको करिब १ वर्षपछि विश्वविद्यालयमा नेपालमै पहिलोपटक विश्वस्तरको अनुसन्धानमूलक शिक्षा दिने गरी भर्ना खुला गरिएको हो । 

पहिलो शैक्षिक सत्रमा दुवै तहमा गरी जम्मा ३२ मेधावी विद्यार्थीलाई छनोट गरी भर्ना लिने तयारी गरेको उक्त स्वायत्त विश्वविद्यालयले ती तहमा निःशुल्क शिक्षा र छात्रवृत्तिको प्रबन्ध समेत गरेको छ ।

विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधिमा फरेष्ट बायोमेटेरियल्स साइन्स एण्ड इन्जिनियरिङ, अग्र्यानिक एग्रिकल्चर, स्नातकोत्तरमा टुरिजम इन्फ्रास्ट्रक्चर विषयमा ती तहमा भर्नाका लागि शुक्रबार सूचना प्रकाशन गर्ने भएको हो । 

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित सात सय ४० रोपनी जग्गा पहिचान गरी २०७६ वैशाख १० गते विश्वविद्यालय निर्माणका लागि पूर्वाधार विकास समिति गठन भएको थियो । विश्वविद्यालयले हाल सुविधासम्पन्न प्रयोगशालासहित चारवटा बहुद्देश्यीय भवन निर्माण गरिसकेको छ । हाल एक सय ८० रोपनी जग्गामा विश्वविद्यालयको भोगाधिकार प्राप्त भइसकेको छ ।

यो विश्वविद्यालयको सङ्गठनात्मक प्रक्रिया परम्परागत विश्वविद्यालयभन्दा पृथक रहेको छ । हाल यसको बोर्ड अफ ट्रष्टी (संरक्षक समिति)का अध्यक्ष उद्योगपति पदम ज्योति छन् भने ट्रष्टीमा स्वदेश र विदेशका ख्यातिप्राप्त प्राध्यापक र सूचना प्रविधि विज्ञका साथै अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव पदेन सदस्य छन् । 

कुनै दाताले स्नातकोत्तर तहका विद्यार्थीलाई आफ्नो नामबाट वार्षिक पूर्ण छात्रवृत्ति दिन चाहेमा छ लाख र विद्यावारिधि तहमा १० लाख सहयोग गर्न सकिने प्रबन्ध गरिएको छ ।

सो विश्वविद्यालयको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले गत साउन २२ गते ललितपुरस्थित प्राविधिक कार्यालयबाट उद्घाटन गरेका थिए । सो विश्वविद्यालयका लागि नेपाल सरकारबाट काभ्रेपलाञ्चोकको पाँचखाल र नमोबुद्धमा एघार सय रोपनी जग्गा प्राप्तिको निर्णय भइसकेको छ ।

विश्वविद्यालयले मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान् जनशक्ति, वैज्ञानिक तथा विचारकको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्न भविष्यमा तीन हजारसम्म विद्यार्थी भर्ना लिने लक्ष्य लिएको छ ।

सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी स्थानीय परिवेशअनुरूप ज्ञान र प्रविधिको सिर्जना र अनुकूलन गरी समृद्ध नेपाल निर्माणमा सघाउने उद्देश्यले विश्वस्तरीय अनुसन्धानमूलक विश्वविद्यालयको परिकल्पनासहित उक्त विश्वविद्यालय स्थापना भएकोे हो ।