कीवर्डहरू -

यूट्युब म्युजिकमा एआईबाट बनेका गीत छुट्याउन नयाँ लेबल

यूट्युब म्युजिकमा एआईबाट बनेका गीत छुट्याउन नयाँ लेबल

काठमाडौं । यूट्युब म्युजिकले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट तयार पारिएका गीत पहिचान गर्न नयाँ लेबल ल्याएको छ । यस सुविधामार्फत पूर्ण रूपमा एआईबाट सिर्जना गरिएका वा गीतका महत्त्वपूर्ण अंश, जस्तै स्वर निर्माणमा एआई प्रयोग गरिएका ट्र्याकमा ‘एआई’ लेबल देखाइनेछ ।

इन्ग्याजेटका अनुसार गीतको नाममुनि देखिने उक्त लेबलले प्रयोगकर्तालाई एआईको सहयोगमा तयार पारिएका गीत पहिचान गर्न सहज बनाउनेछ । गीत निर्माणमा एआईको उल्लेखनीय भूमिका रहेको अवस्थामा यूट्युब म्युजिकले यस्तो लेबल देखाउने व्यवस्था गरेको हो ।

प्रयोगकर्ताले लेबलमा थिचेपछि गीत निर्माणका क्रममा एआई कसरी प्रयोग गरिएको थियो भन्नेबारे थप जानकारी प्राप्त गर्न सक्नेछन् । यसबाट गीत तयार पार्ने प्रक्रियाबारे बुझ्न र आफूले सुन्न चाहेको संगीत छनोट गर्न प्रयोगकर्तालाई मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यूट्युबले आफ्नो मुख्य भिडियो प्लेटफर्ममा पनि एआईबाट सिर्जना गरिएका सामाग्री पहिचान गर्न यस्तै लेबल प्रयोग गर्दै आएको छ । अब यो सुविधा नियमित यूट्युब एपको भिडियो प्लेयरमा समेत विस्तार गर्ने कम्पनीको योजना छ । यूट्युबमा ठूलो सङ्ख्यामा म्युजिक भिडियो तथा संगीतसम्बन्धी सामाग्री उपलब्ध रहेकाले यस्तो व्यवस्थाले एआईबाट निर्मित सामाग्री छुट्याउन थप सहज बनाउनेछ ।

एआईबाट सिर्जना गरिएका सामाग्री पहिचान तथा व्यवस्थापन गर्ने प्रयासमा यूट्युब मात्र छैन । स्पोटिफाइले नक्कली कलाकार पहिचान गर्न लेबल प्रयोग गर्न थालेको छ भने डिजरले एआईबाट तयार पारिएका सामाग्री पहिचान गरी फिल्टर गर्न सकिने प्रणाली लागू गरिरहेको छ । यस्ता प्रयासले संगीत क्षेत्रमा एआईको बढ्दो प्रयोगसँगै सामाग्रीको पारदर्शिता र पहिचानलाई महत्त्व दिन थालिएको देखाउँछन् ।