कीवर्डहरू -

अनलाइन ट्राभल बुकिङ प्लेटफर्म ईबुकिङ नेपाल डटकम सार्वजनिक

अनलाइन ट्राभल बुकिङ प्लेटफर्म ईबुकिङ नेपाल डटकम सार्वजनिक

सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै मानव जीवनशैली सरल, व्यवस्थित र सुविधाजनक बन्दै गएको छ। यससँगै आतिथ्य तथा पर्यटन क्षेत्र पनि प्रविधिबाट अलग रहन नसक्ने अवस्थामा पुगेको छ। नेपालजस्तो तीव्र रूपमा विस्तार हुँदै गएको आतिथ्य उद्योगमा उन्नत सूचना प्रविधिको अधिकतम उपयोग अब विकल्प नभई आवश्यकता बनेको छ।

यही आवश्यकतालाई मध्यनजर गर्दै नेपालमै केन्द्रित डिजिटल ट्राभल तथा सेवा बुकिङ प्लेटफर्म ईबुकिङनेपाल डटकम औपचारिक रूपमा सार्वजनिक गरिएको छ। ईबुकिङनेपाल डटकमको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गरेका थिए ।

डिजिटल ट्राभल र सेवा बुकिङ प्रणालीलाई अझ प्रभावकारी, प्रयोगमैत्री र सहज बनाउने उद्देश्यका साथ यो प्लेटफर्म सञ्चालनमा ल्याइएको हो। एकीकृत डिजिटल प्लेटफर्ममार्फत होटल बुकिङ, यात्रा व्यवस्थापन, टुर प्याकेज तथा अन्य सेवा बुकिङलाई सरल, सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य ईबुकिङनेपाल डटकमले लिएको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत यसले नेपालको पर्यटन तथा सेवा क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने र राष्ट्रिय राजस्व वृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्लेटफर्मले सेवा विस्तार र रणनीतिक साझेदारीमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच बढाउने लक्ष्य लिएको छ। ईबुकिङनेपाल डटकमलाई नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको प्रमुख डिजिटल गेटवेका रूपमा स्थापित गर्दै यात्रुहरूलाई वास्तविक अनुभवसँग जोड्ने र दिगो तथा समावेशी आर्थिक विकास प्रवर्द्धन गर्ने उद्देश्य रहेको जनाइएको छ।

यस प्लेटफर्ममार्फत नेपालका स्थानीय पर्यटन व्यवसायहरूले अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्न सक्ने विश्वास लिइएको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक प्रविधिको उपयोग तथा नेपाली र अंग्रेजी दुवै भाषामा सेवा उपलब्ध गराइएकाले खोजदेखि बुकिङसम्मको प्रक्रिया सहज, पारदर्शी र सांस्कृतिक रूपमा समृद्ध हुने बताइएको छ।

ईबुकिङनेपाल डटकमले होटल व्यवसायी, ट्राभल एजेन्सी, सेवा प्रदायक र सेवाग्राही सबैलाई लाभ पुग्ने विश्वसनीय डिजिटल इकोसिस्टम निर्माण गर्ने अपेक्षा गरेको छ। उक्त प्लेटफर्मको मोबाइल एप्लिकेसन आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ, जसलाई एप्पल एप स्टोर र गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ।

एकै प्लेटफर्ममार्फत सबै ट्राभलसम्बन्धी सेवाहरू उपलब्ध गराइएकाले प्रयोगकर्ताले समय, श्रम र खर्च बचत गर्नुका साथै सेवा दक्षता र प्रयोग सहजतामा उल्लेखनीय सुधार हुने आयोजकको दाबी छ।