कीवर्डहरू -

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

काठमाडौं । एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा गरेको छ । यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज र  सरल बनाउनु रहेको छ ।

बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबिच एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले यस सहकार्यका सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई आफ्नो यात्राभर आ–आफ्नो देशमा रहेका परिवार सदस्य र साथी भाइलगायत सबैसँग सम्पर्कमा रहन सहज बनाउने लक्ष्य राखेको छ । नेपालका विभिन्न भागमा यात्रा गर्दा सञ्चारको महत्वपूर्ण आवश्यकतालाई यसले सम्बोधन गर्छ ।

साझेदारीअन्तर्गत एनसेलले पर्यटकहरूलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ भने नाटोले देशभर फैलिएको आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकहरूमाझ एनसेलका सेवा सुविधाका बारेमा जानकारी र सूचना उपलब्ध गराउने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै दत्ताले भने, “देशभर फैलिएको एनसेलको व्यापक नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको विविधतायुक्त पहुँचलाई उपयोग गर्दै यो साझेदारीले नेपाल आउने पर्यटकहरूको यात्रा अनुभव अविश्मरणीय बनाउने विश्वास लिएका छौं । यति मात्र होइन, यो साझेदारीले ‘नेपाल कलिङ’ अभियानलाई प्रवद्र्धन गर्न र नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

“पर्यटनको मर्म भनेकै एक अर्कासँग जोडिनु हो । मानिसहरूलाई मानिसहरूसँग जोड्नु, संस्कृति अनि अनुभवहरूलाई जोड्नु हो । नेपाल आउने हरेक यात्रुलाई आफ्नो यात्राभर सबैसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने एनसेलसँगको यो अर्थपूर्ण सहकार्यले हामी उत्साहित छौँ,” नाटोका अध्यक्ष श्रेष्ठले भने ।

दूरसञ्चार सेवामात्र नभएर, एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गहरूमा आधुनिक वाश (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापना गर्न सहयोग गर्नेछ । यसको सुरुवात धादिङ जिल्लाको गजुरीबाट पाइलट परियोजनाका रूपमा हुनेछ ।

यस पहलले यी मार्गहरूमा यात्रा गर्ने पर्यटक र स्थानीय समुदायलगायत सबैको सुविधाको बढ्दो आवश्यकतालाई सम्बोधन गर्दछ र साथै दुवै संस्थाको नेपालमा दिगो तथा जिम्मेवार पर्यटन विकासप्रति साझा प्रतिबद्धता रहेको देखाउँछ ।