काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा थप सात स्थानमा मोबाइल सेवा पुन: सञ्चालनमा ल्याएको जनाएको छ । बाढीका कारण प्रभावित अधिकांश बीटीएस साइट सञ्चालनमा आएसँगै नेपाल–चीन सीमासम्मका विभिन्न क्षेत्रमा सञ्चार सेवा पुन: सञ्चालन भएको कम्पनीले जनाएको हो ।
नेपाल टेलिकमका अनुसार रसुवा जिल्लाअन्तर्गत नेपाल–चीन सीमामा रहेको रसुवा बोर्डर साइटसहित अपर सेन्जेन, छापकोटे, जिबजिबे र गतलाङ साइट सञ्चालनमा आएका छन् । नुवाकोटको चारघरे र चारघरे मुलबाटीमा रहेका बीटीएस साइट पनि सञ्चालनमा आएका छन् ।
रसुवा बोर्डर बीटीएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेंसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुन: सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।
अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ र आमाछोदिङ्मो गाउँपालिका ५ लगायतका क्षेत्रमा मोबाइल सेवा उपलब्ध हुने भएको छ । छापकोटे साइटबाट बेत्रावती, काउली, त्रिशूली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ क्षेत्रमा सेवा पुग्नेछ ।
त्यस्तै जिबजिबे साइटबाट कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी तथा देउरालीडाँडा क्षेत्रमा मोबाइल सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । गतलाङ बीटीएस साइटबाट गतलाङ, गोल्जुङ, चिलिमे, ठुलो भार्खु, शेर्पा गाउँ, ठुलो स्याफ्रु, स्याफ्रुबेंसी, खाङजुम र बरिम क्षेत्रमा सेवा सञ्चालनमा आएको छ ।
चारघरे तथा चारघरे मुलबाटी बीटीएस साइटबाट विदुर नगरपालिकाका वडा नम्बर १२ र १३ मा मोबाइल सेवा सञ्चालनमा आएको छ । विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमका प्राविधिकहरू निरन्तर खटिरहेको कम्पनीले जनाएको छ । कम्पनीले सेवा सुनिश्चितताका लागि प्रतिबद्ध रहेको जनाएको छ ।
आईसीटी समाचार