कीवर्डहरू -

बाढी-पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङमा एनसेलको नेटवर्क सेवा पुन:स्थापना

बाढी-पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङमा एनसेलको नेटवर्क सेवा पुन:स्थापना

काठमाडौं । बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध एनसेलका मोबाइल टावर पुन: सञ्चालनमा आएका छन् । एनसेलका अनुसार प्रभावित तीन जिल्लाका २७ साइटमध्ये १४ वटा साइट पुन: सञ्चालनमा ल्याइएको हो ।

पुन: सञ्चालनमा आएका साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ साइट रहेका छन् । बाढी तथा पहिरोका कारण करिब ७० देखि ८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा क्षति पुगेपछि २७ वटा मोबाइल टावर प्रभावित भएका थिए ।

ग्राहकलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिन तथा उद्धार, राहत र पुनःस्थापना कार्यमा आवश्यक सञ्चार समन्वय सहज बनाउन एनसेलले प्राविधिक टोली परिचालन गरेको जनाएको छ ।

एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार सम्भव भएका स्थानमा क्षतिग्रस्त फाइबर मर्मत गरेर टावर सञ्चालनमा ल्याइएको छ । फाइबर मर्मत तत्काल सम्भव नभएका केही क्षेत्रमा पुराना माइक्रोवेभ लिंक प्रयोग गरेर नेटवर्क पुन:स्थापना गरिएको उनले बताइन् । केही क्षेत्रमा फाइबर कनेक्टिभिटी पुन:स्थापनाका लागि इन्टरनेट सेवा प्रदायकसँग समेत सहकार्य गरिएको छ ।

बन्द भएको नेटवर्क सञ्चालनमा ल्याउन एनसेलले प्राविधिक टोलीलाई हवाई तथा स्थलमार्ग दुवैबाट प्रभावित क्षेत्रमा पठाएको थियो । सरकारी निकायको सहयोग र समन्वयमा टोलीहरू प्रभावित स्थानमा पुगेर मर्मत तथा पुन:स्थापनाको काममा जुटेका थिए ।

यसैबीच, बिहीबार दिउँसो १२:४७ बजे धादिङको गल्छी क्षेत्रमा बाढीको भग्नावशेष हटाउने क्रममा फाइबर काटिएपछि थप १८ वटा साइट प्रभावित भएका थिए । एनसेलले तत्काल प्राविधिक टोली परिचालन गरी ती सबै १८ साइट समेत पुन: सञ्चालनमा ल्याएको जनाएको छ ।

एनसेलका अनुसार विपद्का बेला दूरसञ्चार सेवा निरन्तर सञ्चालन हुनु उद्धार तथा राहत कार्यका लागि महत्वपूर्ण हुन्छ । प्रभावित क्षेत्रका नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहतसम्बन्धी आवश्यक समन्वय गर्न सञ्चार सेवा उपलब्ध गराउन नेटवर्क पुन:स्थापनालाई उच्च प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

नेटवर्क पुनःस्थापनाका क्रममा सहयोग गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा सञ्चारसम्बन्धी निकाय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, नेपाली सेना लगायत सरकारी निकाय तथा ह्वावे र जेटीईप्रति एनसेलले आभार व्यक्त गरेको छ ।

विपद्को अवस्थामा प्रभावित समुदायलाई सञ्चार सेवाबाट जोडिराख्न आवश्यकताअनुसार नेटवर्क र प्राविधिक स्रोत साधन परिचालन गर्दै सेवा यथासम्भव निरन्तर उपलब्ध गराउने प्रतिबद्धता एनसेलले जनाएको छ ।