विश्वभरका १७० भन्दा बढी मुलुकमा आगामी माघ २९ गते मंगलबारका दिन सुरक्षित इन्टरनेट दिवस मनाइँदैछ। नेपालमा सन् २०१९ देखि यस दिवसको संयोजन गर्दै आएको संस्था चाइल्डसेफनेटले बालबालिका तथा युवाका लागि सुरक्षित, सकारात्मक र जिम्मेवार इन्टरनेट प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
हरेक वर्ष सुरक्षित इन्टरनेट दिवसले डिजिटल दुनियाँमा युवाहरूले भोग्ने प्रमुख चुनौतीहरूलाई उजागर गर्दै आएको छ। यस वर्षको अभियान विशेष गरी अनलाइन ठगीमा केन्द्रित छ। यसको उद्देश्य युवाहरूलाई अनलाइन ठगीबाट आफूलाई कसरी सुरक्षित राख्ने भन्ने जानकारी दिने र यस सम्बन्धमा उपलब्ध सहयोगका स्रोतहरूबारे सचेत गराउनु हो। दिवसका अवसरमा अनलाइन ठगीको वास्तविक प्रभावबारे अध्ययन गरिनुका साथै युवाहरूलाई आफ्ना अनुभव तथा समाधान साझा गर्न प्लेटफर्म प्रदान गरिनेछ।
यस वर्षको अभियानले अनलाइन वित्तीय सेक्सटोर्सन (online financial sextortion) जस्ता जोखिमबारे जनचेतना अभिवृद्धि गर्नेछ। साथै, नयाँ प्रविधि—जस्तै जेनेरेटिभ एआईले ठगीका तरिकामा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा अनुसन्धान गरिनेछ।
यस अभियानले सरकार, नीति निर्माताहरू, कानूनी निकाय, दूरसञ्चार नियामकहरू, प्रविधि कम्पनीहरू, इन्टरनेट सेवा प्रदायकहरू, सञ्चारमाध्यम तथा अन्य सम्बद्ध पक्षहरूलाई सुरक्षित इन्टरनेट सुनिश्चित गर्न आह्वान गरेको छ। साथै, युवाहरू, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, निजी क्षेत्र, विद्यालय तथा समुदायलाई डिजिटल वातावरणलाई सुरक्षित बनाउन प्रेरित गर्ने लक्ष्य राखिएको छ।
चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीका अनुसार, डिजिटल दुनियाँमा बालबालिका तथा युवाहरू अनलाइन ठगी, सेक्सटोर्सन, अनलाइन अन्तरङ्ग सम्बन्धजन्य हिंसा तथा डीपफेक यौन दुरुपयोग जस्ता नयाँ खतराको चपेटामा छन्। उनले भने, "सरकार, विद्यालय, अभिभावक तथा प्रविधि कम्पनीहरूले डिजिटल युगमा बालबालिकाको सुरक्षाका लागि थप लगानी गर्न जरुरी छ।"
चाइल्डसेफनेट र सेक्सुअल भ्वाइलेन्स रिसर्च इनिसिएटिभ (एसभिआरआई) ले नेपालका १० जिल्लामा गरेको एक अध्ययनअनुसार, चारमध्ये एक जना युवाले अनलाइन अन्तरङ्ग सम्बन्धजन्य हिंसा (online IPV) को सामना गरिसकेका छन्। अर्काे अध्ययनले देखाएअनुसार, ८५ प्रतिशत अभिभावकले आफ्ना बालबालिकासँग अनलाइन सुरक्षाबारे छलफल गर्दैनन्। अझ, अनलाइन यौन दुर्व्यवहार तथा शोषणबारे बालबालिकालाई सचेत गराउने अभिभावकको संख्या झनै न्यून रहेको पाइएको छ।
जेनेरेटिभ एआई प्रविधिको तीव्र विकाससँगै अनलाइन सुरक्षामा नयाँ चुनौतीहरू सिर्जना भएका छन्। अपराधीहरूले बाल यौन दुरुपयोगसम्बन्धी सामग्री उत्पादन गर्न एआईको दुरुपयोग गरिरहेका छन्। साथै, गलत सूचना , भ्रामक सूचना तथा घृणा फैलाउने सामग्री पनि यस प्रविधिबाट तीव्र रूपमा फैलिन सक्ने खतरा रहेको विज्ञहरू बताउँछन्।
नेपालमा पनि अनलाइन सुरक्षाबारे व्यापक छलफल आवश्यक भएको भन्दै सरोकारवाला निकायहरूलाई जिम्मेवार बन्न आह्वान गरिएको छ। सुरक्षित इन्टरनेट दिवसको यो वर्षको अभियानले यस विषयलाई गम्भीरताका साथ उठान गर्दै डिजिटल दुनियाँलाई सुरक्षित बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।