कीवर्डहरू -

प्रोग्रामिङ तालिम पुरा गरेका आईओईका विद्यार्थीलाई सामसङद्वारा प्रमाणपत्र प्रदान

एआई कोर्ष पनि सुरू हुँदै

प्रोग्रामिङ तालिम पुरा गरेका आईओईका विद्यार्थीलाई सामसङद्वारा प्रमाणपत्र प्रदान

सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एण्ड प्रोग्रामिङ तालिम पूरा गरेका त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामसङले इनोभेसन क्याम्पसमार्फत पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको हो । 

प्रमाणपत्र वितरण समारोहमा सामसङ नेपाल कार्यालयका प्रमुख, इन सु किम, आईओईका डीन प्रा. डा. शशिधर राम जोशी, साथै सहायक डीन बिनोद कुमार भट्टराई ÷ सहायक डीन सुरज लामिछाने र पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख डा. इन्द्र प्रसाद आचार्यको उपस्थिति रहेको थियो । 

सामसङ नेपाल प्रमुख इन स किमले खुसी व्यक्त गर्दै प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङसँग एआई, बिग डाटा र आईओटी जस्ता भविष्यका प्राविधिक डोमेनहरूमा विद्यार्थीहरूलाई उच्च दक्षता हासिल गर्न साझेदारीको अपेक्षा गरेको बताए । 

नेपाली युवाहरूलाई निरन्तर सशक्तीकरण गर्ने र रोजगारीका लागि तयार बनाउने लक्ष्य राखेको उनको भनाइ छ । यस्तै आईओईका डीन डा. शशिधर राम जोशीले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा कोडिङ एण्ड प्रोग्रामिङ कोर्स सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउँदा गौरवान्वित भएको बताए । 

अब आउँदो ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु हुने समेत जनाइएको छ । 

सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन सन् २०२३ को डिसेम्बरमा गरेको थियो। 

यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा र कोडिङ एण्ड प्रोग्रामिङजस्ता प्राविधिक सीपहरूमा तालिम दिएर नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउनेछ।  यस पाठ्यक्रममा छनोट हुनको लागि एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञान हुन आवश्यक छ । 

प्राविधिक प्रशिक्षणका साथ यस कार्यक्रमले विद्यार्थीहरूको रोजगार योग्यता बढाउन उनीहरूको ज्ञानलाई जीवनोपयोगी बनाउन सामान्य सीप तालिम पनि प्रदान गर्नेछ । यसले समस्या समाधान गर्ने क्षमताहरू पनि वृद्धि गर्दछ, जसले विद्यार्थीहरूलाई नवीन खोजकर्ता बन्न पनि सक्षम बनाउने छ ।

इन्स्टिच्युट अफ इन्जिनियरिङमा सामसङ इनोभेसन क्याम्पस अन्तर्गतको पाठ्यक्रमको एक हिस्सा स्वरूप विद्यार्थीहरूले व्यवहारिक परियोजनामा पनि सहभागी बन्नेछन् । यस अन्तर्गत विद्यार्थीहरूलाई सामाजिक महत्वका परियोजनाहरू प्रस्तुत गर्ने चुनौती दिइनेछ, जसमा एआई, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र आइओटिको भूमिका रहनेछ ।

सामसङ इनोभेसन क्याम्पस सन् २०१९ मा सुरु गरिएको हो, जुन सामसङको ग्लोबल सिएसआरले लिएको ‘टुगेदर फर टुमोरो! इनएबलिंग पिपल’ भन्ने नाराको एक हिस्सा हो, जसले विद्यार्थीहरू र युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको प्रमुख प्रविधिहरूको अनुभव दिने छ ।