कीवर्डहरू -

रोबोटिक्स, कोडिङ र एआईमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि नेपाली विद्यार्थी छनोट सुरु

रोबोटिक्स, कोडिङ र एआईमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि नेपाली विद्यार्थी छनोट सुरु

काठमाडौं । नेपालका तर्फबाट ‘कोडेभर अन्तर्राष्ट्रिय’ रोबोटिक्स, कोडिङ तथा एआई प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थी छनोट प्रक्रिया सुरु भएको छ । निमा एजुकेशन फाउण्डेसनले आगामी वर्ष थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली विद्यार्थी छनोट गर्न आजदेखि प्रक्रिया अघि बढाएको हो ।

प्रतियोगितामा ७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । फाउण्डेसनका अनुसार प्रतियोगितामा करिब ५० देशका विद्यार्थी सहभागी हुनेछन् ।

‘कोडेभर नेपाल’का कार्यक्रम संयोजक किरण श्रेष्ठका अनुसार एआई र रोबोटिक्सको प्रयोगमार्फत संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य हासिल गर्न सकिने नवीन समाधान, कार्यक्रम तथा कार्ययोजना विकास गर्न विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको छ ।

उनका अनुसार बदलिँदो विश्व परिवेशमा आवश्यक आलोचनात्मक सोच, सिर्जनशीलता, सहकार्य र सञ्चारजस्ता चार प्रमुख सीप विकासमा कार्यक्रमले जोड दिएको छ ।

साथै नवप्रवर्तन तथा उद्यमशीलता, स्वच्छ ऊर्जा र विश्वव्यापी ऊर्जा सङ्कटसँग सम्बन्धित चुनौतीको समाधान खोज्ने रोबोट निर्माण तथा रोबोटिक्स फुटबल प्रतियोगिता पनि कार्यक्रमका प्रमुख आकर्षण हुन् ।

गत वर्ष इन्डोनेसियाको जाकार्तामा भएको ‘कोडेभर अन्तर्राष्ट्रिय’ प्रतियोगितामा नेपालबाट पाँच हजार विद्यार्थीमध्ये छनोट भएका ९५ विद्यार्थीले ४० टोलीमार्फत सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगितामा नेपाली टोलीले ६ वटा अन्तर्राष्ट्रिय उपाधि जित्नुका साथै नेपालका तीनवटा परियोजना विश्वका ३० उत्कृष्ट परियोजनाभित्र पर्न सफल भएका थिए ।

यसअघि सन् २०२४ मा दुबईमा ६० विद्यार्थी सहभागी २० टोली तथा सन् २०२५ मा कतारको दोहामा ७२ विद्यार्थी सहभागी १९ टोलीले नेपालका तर्फबाट प्रतियोगितामा सहभागिता जनाएका थिए ।

निमा एजुकेशन फाउण्डेसनका कार्यकारी अधिकृत निश्चल प्रधानका अनुसार यसपटक नेपाललाई उत्कृष्ट १० मुलुकभित्र पुर्‍याउने लक्ष्यसहित तयारी अघि बढाइएको छ । थाइल्याण्डमा हुने प्रतियोगिताका लागि देशभित्रबाट हुने छनोट प्रक्रियामा करिब आठ हजार नेपाली विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको उनले बताए ।

कार्यक्रम संयोजक श्रेष्ठले चरणबद्ध रूपमा निर्धारित विधि, प्रक्रिया, कार्यक्षमता र मापदण्डका आधारमा विद्यार्थी छनोट गरिने जानकारी दिए । छनोट भएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली विद्यार्थीले सूचना प्रविधिमा आधारित नवीन परियोजनामार्फत उल्लेखनीय उपलब्धि हासिल गर्ने विश्वास उनले व्यक्त गरे ।

फाउण्डेसनका अनुसार ‘कोडेभर अन्तर्राष्ट्रिय’ प्रतियोगिता आगामी वैशाख–जेठमा थाइल्याण्डमा आयोजना हुनेछ ।