कीवर्डहरू -

अमेरिकाको मिशिगनमा बन्दै छ पहिलो स्मार्ट हाइवे, के के हुनेछन् सुविधा ?

अमेरिकाको मिशिगनमा बन्दै छ पहिलो स्मार्ट हाइवे, के के हुनेछन् सुविधा ?
Credit: Cavnue

मिशिगनले अमेरिकाको पहिलो स्मार्ट हाइवे बनाउन सुरू गरेको छ । मिशिगनको इन्टरस्टेट ९४ को तीन माइल स्ट्रेचलाई स्मार्ट हाइवे (राजमार्ग) मा परिणत हुँदैछ । 

अल्फाबेटको ब्याक गरेको स्टार्टअप क्याभन्यूले पाइलट परियोजनाको रूपमा स्मार्ट हाइवे निर्माण सुरू गरेको एक्सियोसको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

नयाँ स्मार्ट सडक, मिशिगनको यातायात विभाग र राजमार्गका चालकहरूका लागि ठूलो र लामो ट्रयाकिङ प्रणाली हो । 

स्मार्ट राजमार्ग, यातायात विभाग र चालहरूलाई सम्भावित जोखिम जस्तै सडकमा आउने अवरोध, दुर्घटना, जाम लगायतको बारेमा जानकारी दिन डिजाइन गरिएको छ । यसले ट्राफिक जामलाई कम गर्ने, दुर्घटना रोक्न र अधिकारीहरूलाई सडक आपतकालिनमा प्रभावकारी प्रतिक्रिया गर्न सहयोग गर्ने आशा गरिएको छ । 

राजमार्गको पाइलट कार्यक्रम एन आर्बर र डेट्रोइट, मिशिगनको बीचमा अवस्थित रहेको छ । पाइलट कार्यक्रम पूरा भएपछि दुवै शहरमा जोडिने थप ६ चरणमा स्मार्ट राजमार्गलाई ४० माइलसम्म विस्तार गर्ने योजना रहेको छ ।

स्मार्ट राजमार्गको सडक छेउमा प्रत्येक २०० मिटर राखिएका पोलहरूले सेन्सर पोड, कम्प्युट पोड र सञ्चार उपकरणसँग काम गर्नेछन् । 

राजमार्ग छेउमा क्यामेराहरू पनि राखिएको हुनेछ, जसले सडकको प्रत्येक भागलाई निगरानी गर्नेछ र खतरनाक ड्राइभिङ अवस्थाहरू पहिचान गर्न एआई र मेसिन लर्निङ एल्गोरिदमहरूद्वारा विश्लेषण गरिएका फोटोहरू खिच्ने छ । त्यसपछि यातायात विभाग र सडकसँग जोडिएका चालकहरूलाई पठाइने छ । 

क्याभन्यूका अनुसार स्मार्ट राजमार्गको प्रविधिले कनेक्टिभिटी सुविधाहरू भएको कुनै पनि गाडीसँग जोड्न सक्ने छ ।