कीवर्डहरू -

सनवे कलेज काठमाडौँ र कानुन एआईबीच रणनीतिक साझेदारी

सनवे कलेज काठमाडौँ र कानुन एआईबीच रणनीतिक साझेदारी

नेपालमा एआई शिक्षा र कानुनी प्रविधिमा नवप्रवर्तनलाई अघि बढाउने उद्देश्यसहित सनवे कलेज काठमाडौँ र कानुन एआई प्रालिबीच तीन वर्षे रणनीतिक साझेदारी भएको छ। कलेजका निर्देशक कुशल रेग्मी र कानुन एआईका प्रमुख प्राविधिक अधिकृत (CTO) प्राञ्जल तिम्सिनाले हस्ताक्षर गरेको समझदारी पत्र (MoU) ले शैक्षिक क्षेत्र र उद्योगबीच जिम्मेवार एआई विकासका लागि दीर्घकालीन सहकार्यको आधार तयार पारेको हो।

साझेदारीअन्तर्गत दुवै संस्थाले संयुक्त रूपमा ‘आर्टिफिसियल इन्टेलिजेन्स र नैतिकता’ सम्बन्धी विस्तृत पाठ्यक्रम विकास गरी सञ्चालन गर्नेछन्, जसले एआईका आधारभूत सिद्धान्त, नैतिकता, पूर्वाग्रह, निष्पक्षता, सुशासनका ढाँचा तथा कानुनी क्षेत्रमा एआईको व्यावहारिक प्रयोगलाई समेट्नेछ। साथै, कानुनी क्षेत्रका लागि एआई आधारित समाधानहरू विकास गर्न संयुक्त अनुसन्धान अघि बढाइनेछ, जसमा कानुनी कागजात विश्लेषणका लागि NLP, एआई–सञ्चालित मुद्दा व्यवस्थापन प्रणाली, तथा न्यायिक सहयोगका लागि प्रिडिक्टिभ एनालिटिक्सजस्ता विषय समावेश हुनेछन्।

यससँगै, एआई नीतिगत अध्ययनमा पनि दुवै संस्थाले सहकार्य गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुशासन मोडेल, नियमनकारी संरचना र एआई प्रयोगका नैतिक पक्षमा प्राज्ञिक अध्ययन अघि बढाउनेछन्। विद्यार्थी, कानुन व्यवसायी, नीति निर्माता र सर्वसाधारणमा एआईका अवसर र जोखिमबारे जागरूकता बढाउने उद्देश्यले कार्यशाला, गोष्ठी, सम्मेलन तथा सामुदायिक कार्यक्रमहरू संचालन गरिनेछ।

साझेदारीबारे बोल्दै सनवे कलेज काठमाडौँका निर्देशक कुशल रेग्मीले यस कदमले प्राज्ञिक उत्कृष्टतालाई औद्योगिक नवप्रवर्तनसँग जोड्ने कलेजको प्रतिबद्धतालाई झन् मजबुत बनाएको बताए। 
कानुन एआईका CTO प्राञ्जल तिम्सिनाले सहकार्यले नेपालमा कानुनी प्रविधिको भविष्यलाई एआईद्वारा सुदृढ बनाउने र एआई सुशासन तथा न्यायमा पहुँचसम्बन्धी बहसमा नेपाललाई सक्रिय बनाइदिने विश्वास व्यक्त गरे।