कीवर्डहरू -

त्रिविमा बीसीए पढेका विद्यार्थीले पनि अब सरकारी आईटी अधिकृत पदमा प्रतिस्पर्धा गर्न पाउने

त्रिविमा बीसीए पढेका विद्यार्थीले पनि अब सरकारी आईटी अधिकृत पदमा प्रतिस्पर्धा गर्न पाउने

त्रिभुवन विश्वविद्यालयको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कोर्ष पढेका विद्यार्थीहरूले अब  सरकारी सूचना प्रविधि अधिकृत पदमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । 

यसअघि त्रिविले बीसीएलाई मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत राख्दा विद्यार्थीहरूले नेपाल राष्ट्र बैंकको सूचना प्रविधि अधिकृत पदमा आवेदन दिन नपाएको विषय बाहिर आएको थियो । 

यस विषयमा बीसीए पढ्ने विद्यार्थीहरूले मानविकी तथा सामाजिक विज्ञान संकायमा राखेकै कारण आवेदन दिन नपाउने गरेको विषयमा डीनलाई ज्ञापनपत्र बुझाएका थिए ।  त्यसपछि त्रिविको चर्को आलोचना समेत भएको थियो ।

यो विषय प्रतिनिधि सभाको शिक्षा समितिमा समेत पुगेको थियो । तर अब भने राष्ट्र बैंकसँगै कृषि विकास बैंक, नेपाल प्रहरी, नेपाली सेना, नेपाल टेलिकम लगायत सरकारी सूचना प्रविधि अधिकृतमा बीसीए अध्ययन गरेकाले पनि प्रतिस्पर्धा गर्न पाउने भएका छन् । यस विषयमा त्रिविको शिक्षाध्यक्ष कार्यालयले सम्पूर्ण सरकारी निकायलाई परिपत्र समेत गरेको छ । 

त्रिविका निमित्त उपकूलपति प्रा.डा. शिवलाल भुसालले सम्पुर्ण संकायबाट उत्पादित जनशक्तिले समान तहको समान अवसर पाउने बताए । के विषय पढ्यो ? कति क्रेडिट आवर पढ्यो ? भन्ने महत्त्व हुने र फ्याकल्टीले कुनै फरक नपर्ने उनको भनाइ छ । 

यस्तै लोकसेवा आयोगले जुनसुकै संकायबाट कम्प्युटरमा स्नातक गरेको विद्यार्थी आईटी अधिकृत पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था सूचना प्रविधि विधेयकमा रहेको जनाएको छ । यसअघि राष्ट्र बैंकको आईटी अधिकृत पदमा आवेदन दिएका बीसीए अध्ययन गरेका विद्यार्थीको आवेदन रद्द नहुने समेत जनाइएको छ । 

स्थानीय तहले भने यसअघि नै बीएससी सीएसआईटी, बीआईएम, बीसीए, बीई, बीबीआईएस, बीआईएस र इलेक्ट्रोनिक कम्युनिकेसनलाई समेत एउटै दर्जामा राखेका छन् ।