कम्प्यूटरलाई नेपाली कसरी आयो होला ? हामीले नेपाली भाषामा लेख्दा कम्प्यूटरले सहजै बुझ्छ । नेपालीमै कम्प्युटरमा तिथिमिति हेर्न सक्छौं । विन्डोज चलाउन सक्छौं । माइक्रोसफ्ट अफिस चलाउन सक्छौं । यी सबै कामलाई सक्षम बनाउने एउटा नाम हो, सुनैना पाण्डे ।
स्कुल बेलामा कम्यूटर गेममा चौथो भएर प्रविधि तर्फ रुची बढाएकी सुनैना घिमिरे पाण्डे २०५५ सालमा कम्प्युटर शिक्षिका भएर आफ्नो करियर सुरु गरेकी थिइन ।
कलेज अफ सफ्टवेयर इन्जिनियरिंगमा डिप्लोमा पढ्दै गर्दा कलेजले एउटा परीक्षा लियो जसले गर्दा उनी विद्यार्थीबाट कम्प्यूटर शिक्षिका हुन् पुगिन् । पढ्दै पढाउन पाउँदा पाण्डेलाई प्रविधि क्षेत्र प्रति थप मोह बढ्दै गयो ।
सुरूमा व्यवस्थापन संकायको अध्ययन गरेपनि प्रविधिप्रतिको रुचीले पाण्डे आजको दिनसम्म पनि हरेक दिन प्रविधि बारे पढ्दै आएको बताउँछिन् । ‘आईटी क्षेत्र परिवर्तनशील रहेको छ । हरेक समय आफूलाई अपडेट गराउँदै गइएन् भने, धेरै पछि परिन्छ,’ उनी भन्छिन्, ‘एउटा प्रोग्रामिङ भाषामा पोख्त भइयो भनेर ढुक्क हुन पाइदैन् । समयसँगै आफूलाई सिकाउँदै अघि बढ्नुपर्छ ।’
शिक्षिकाको यात्रा अगाडि बढाउँदै जाँदा सुनैनालाई पेजरमा काम गर्ने मौका समेत मिलेको थियो । यसमा पनि उनले केही समय व्यतित गरिन् ।
कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकी पाण्डे अनलिमिटेड न्यू मिडियामा विन्डोज एक्सपीको नेपाली भर्सन बनाउन प्रोजेक्ट म्यानेजरको रूपमा काम गरेकी थिइन् । यो माईक्रोसफ्टको आधिकारिक प्रोजेक्ट रहेको थियो ।
विन्डोज र माईक्रोसफ्ट अफिसलाई नेपाली भाषामा पनि रुपान्तरण गर्ने सुनैना लगायतको टिमले काम गरेको थियो । त्यस क्रममा, उनले माइक्रोसफ्टको नेपाली भर्सनमा विभिन्न महत्वपूर्ण कामहरू गर्ने मौका पाएकी थिइन ।
माइक्रोसफ्टमा काम गर्दै गर्दा धेरै कुरा जान्ने अवसर पाएको पाण्डेको भनाइ छ । उनी भन्छिन्, ‘माइक्रोसफ्टसँग काम गर्दा विदेशीहरु कसरी काम गर्छन ? समूहमा कसरी काम गर्ने ? समयको महत्त्व र डेडलाइनमा बसेर कसरी काम गर्ने ? भन्ने बारेमा बुझ्ने मौका पाए ।’
सुनैनाले आईटीको उच्चस्तरीय सूचना प्रविधि आयोग (एचएलसीआइटी) मा सूचना प्रविधिमा नेपाली भाषा भन्ने समिति बनेको थियो । यसमा बसेर पनि सुनैनाले सन् २००९ सम्म काम गरेकी छिन् ।
यसमार्फत पाण्डे र उनको टोलीले नेपालको विभिन्न ठाउँमा टेलिसेन्टरको स्थापना गर्ने र त्यस क्षेत्रमा रहेको समुदायहरुलाई सूचना प्रविधिको क्षेत्रमा जनचेतना फैलाउने काम गर्ने गरेको थियो ।
कम्यूटरलाई तिथिमिति बुझाउन सुरुवात गरिएको लोक्यालमा समेत मंगलराज जोशीसँग मिलेर उनले काम गरेकी थिइन । अंग्रेजी मितिलाई नेपाली मिति र बारमा मिल्ने गरी मापदण्ड तयार पार्न मुख्य भूमिका खेलेको पाण्डे सुनाउँछिन् ।
यसपछि, प्रज्ञा प्रतिष्ठानका उपकुलपति वासुदेव त्रिपाठीसँग मिलेर कम्प्युटरमा हेर्न मिल्ने नेपाली शब्दकोश निर्माण गरिन्, जुन अहिले वेबसाइट र एपको रूपमा उपलब्ध छन् । प्रविधि क्षेत्रमै झण्डै तीन दशक काम गरिसकेकी सुनैनाले नेपालको कम्प्युटरमा स्पेलिङ जाँच गर्ने स्पेल चेकर, नेपाली रुपैयाँको ‘रु’ कसरी लेख्ने, र पूर्वाह्न–अपराह्न कसरी लेख्ने जस्ता नेपाली लोक्याल पनि तयार पारेकी थिइन ।
सबै समुदायमा कम्प्युटरको पहुँच पुर्याउन कम्प्युटरलाई नेपाली भाषा सिकाउनु पर्ने आवश्यकता महसुस गरेको पाण्डेले बताइन् । ‘सबै समुदायका मानिसका लागि कम्प्युटरको पहुँच पुर्याउन कम्यूटरलाई नेपाली सिकाउनै पर्छ भन्ने लागेर यसमा आवद्ध भएकी थिए,’ उनले भनिन, ‘यसले नेपालमा कम्प्यूटरको प्रयोगलाई नै परिमार्जित गरिदियो र आजसम्म पनि हामीले सेट गरेको मानकहरु नै प्रचलनमा रहेका छन् ।’
यसकै लागि स्टयाण्डराइजेसन पढ्न उनी अमेरिका समेत गएकी थिइन् । नेपालमा सूचना प्रविधिको कुनै पनि मानक उपलब्ध नभएको पाएर त्यसकै सुरुवातका लागि लोक्यालको विकास गरिएको थियो । यसैसँगै पाण्डेको नेपालका लागि क्यारेक्टर कोड निर्माण गर्नमा पनि उल्लेखनीय भूमिका रहेको छ ।
यसले हामीले स्क्रीनमा नेपाललाई एनपी लेखिएको देख्ने कुरालाई सम्भव बनाएको हो । नेपाली स्पेल चेकरका लागि शब्दकोश चाहिने हुँदा उनी र उनको टिमले त्यसमा पनि निरन्तर काम गरेको थियो ।
तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका वाशुदेव त्रिपाठीको सहयोगमा कम्यूटरमा नेपाली शब्दकोशलाई परिचय गराएको पाण्डे सम्झिनिछन् । यसभन्दा अघि र यसपश्चात अहिलेसम्म नेपाली भाषाको लागि फेरि मानक तयार पारिएको छैन् ।
२०१० मा साइबर संसार नामक आइटी म्यागेजिनमा प्रबन्ध निर्देशकको रूपमा काम गर्दै उनले उक्त म्यागेजिनलाई देशभर विस्तार गरेकी थिइन् । हाल म्यागजिन बन्द भईसकेता पनि सब्सिक्रिप्सनका लागि उनलाई अझै पनि मेसेज आउने गरेको कुरा उनको भनाइ छ ।
सन् २०११ देखि २०१८ सम्म टेकवान ग्लोबल मल्टिनेशनल कम्पनीमा सहायक प्रबन्धकको रूपमा पाण्डेले काम गरेकी थिइन् । त्यसबेला मल्टिनेशनल कम्पनीहरूले नेपालमा सफ्टवेयरको काम नगरेको भए पनि उनले नेपालमै बसेर ७ वर्षसम्म काम गर्ने अवसर पाएकी थिइन् ।
टेकवान ग्लोबलले नेपालमा माइक्रोसफ्टका प्रतिनिधिको रूपमा काम गर्दै माइक्रोसफ्ट अफिस, एक्सेललगायतका प्रडक्टहरू नेपाली बजारमा फैलाउन महत्वपूर्ण भूमिका खेलेको थियो । सुनैनाले नेपालको बैंकहरूको सफ्टवेयर निर्माणमा पनि योगदान दिएकी छन् ।
एनआइसी बैंक र बैंक अफ एसिया मर्ज भएर एनआइसी एसिया बैंक बनेपछि सुनैनाले बनाएको सफ्टवेयर पहिलो पटक अटोमेशन सिस्टममा लागू गरियो, जुन नेपालमा पहिलो प्रविधि थियो । त्यसपछि उनले करिब १० वटा बैंकको ऋण प्रक्रियालाई अटोमेशनमा लैजाने प्रविधिको विकास गरेकी थिइन ।
सन् २०१८ मा सुनैनाले आफ्नै कम्पनी, जेनेरल टेक्नोलोजिज स्थापना गरिन । यो कम्पनीले बैंकिङ कारोबारलाई सघाउ पुर्याउने सफ्टवेयरहरू बनाउने र सेवा दिने काम गर्दै आएको छ । सुनैनाले नेतृत्व गरेको जेनेरल टेक्नोलजिजले २१ बढि बैंकलाई सेवा दिइरहेको छ । ‘सानिमा बैंक, माछापुच्छ्रे बैंक, र स्ट्याण्डर्ड चार्टर्ड बैंकहरूमा हामीले कियोस्क सिस्टम लागू गरिसकेका छौं,’ उनले भनिन् ।
आफ्नो कम्पनीमा उनले महिला कर्मचारीलाई प्राथमिकता दिने गरेकी छन् । कम्पनीको डिजिटल सेक्टरमा ५० प्रतिशत बढी महिला कर्मचारी रहेका छन् ।
२०७२ सालको ठूलो भूकम्प पछि सुनैना र उनको टोली दोलखा गएर त्यहाँको नानीबाबुहरुलाई कम्प्यूटर सिकाउने पढाउने गर्ने गरेको थियो । आफै लुगाा, खानेकुरा, किताब, कापी र ल्यापटप लगेर दिनभरी चौरमै बसेर साना साना नानीबाबुहरुलाई एक महिनासम्म कम्प्यूटर चलाउने तालिम दिएको उनको अनुभव छ ।
सूचना प्रविधि क्षेत्रमा योगदान गरे वापत उनी सन् २०२३ को वुमन आईकन आइसिटी अवार्डबाट समेत सम्मानित भएकी थिइन । यस वर्षको आइसिटी अवार्डको आवेदन समेत खुला भएको छ । यहाँ क्लिक गरेर इच्छुक विधामा आवेदन दिन सक्नुहुनेछ ।
यस बाहेक पाण्डे सामाजिक क्षेत्रमा समेत सक्रिय छिन् । लायन्स क्लब, फोरम फर इन्फर्मेशन टेक्नोलोजी नेपाल, ओपन नलेज नेटवर्क अफ वन वर्ल्ड साउथ एसिया जस्ता संस्थामा आवद्ध हुँदै आफ्नो अनुभव र ज्ञान बाँडिरहेकी छन् ।