कीवर्डहरू -

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि, सातै प्रदेशका १०० बढी स्टार्टअप सहभागी हुने

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि, सातै प्रदेशका १०० बढी स्टार्टअप सहभागी हुने

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ आजदेखि सुरू हुँदैछ ।  बिहीबार र शुक्रबार २ दिनसम्म काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा आयोजना हुने फेस्टमा सातै प्रदेशका स्टार्टअप तथा इन्नोभेसनहरूको सहभागीता रहने छ ।

बिहीबार बिहान ११ बजेदेखि सुरू हुने फेस्टको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले गर्नेछन् । कार्यक्रममा अन्य विशिष्ट व्यक्तिहरूको समेत सहभागीता रहने छ । 

१०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसहरूको सहभागीता रहने फेस्ट आइसिटी अवार्ड २०२४ को प्रि-इभेन्ट समेत हो । फेस्टमा सह आयोजकको रूपमा द स्क्वाइड अफ चेन्जमेकर रहेको छ भने इन्जिनियरिङ आउटरिचको रूपमा इन्जिनियरर्स भ्लग्सले सहकार्य गरेको छ  ।

स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेमहरु सञ्चालन गर्नेछ भने इन्जिनियर भ्लग्सले रोबोट प्रतिस्पर्धा गराउनेछ । कार्यक्रमलाई टेकस्पायर कलेजले शीर्ष प्रायोजन गरेको छ भने एनसेल फाउन्डेसनको पनि सहकार्य रहेको छ । 

यस फेस्टमा सातै प्रदेशबाट छनौट गरेर ल्याइएका ३० बढी स्टार्टअपका साथै आइसिटी अवार्ड २०२४ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १० स्टार्टअप, १२ राइजिङ स्टार इन्नोभेसन तथा उत्कृष्ट १३ प्रडक्ट र सोसल इन्नोभेसनहरू शोकेस हुनेछन् ।

कार्यक्रमले डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूको नेटवर्किङ, प्रवर्द्धन र थप परिस्कृत गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ । 

बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने फेस्टको अवलोकन निःशुल्क गर्न सकिने छ । सूचना प्रविधिमा रूची राख्ने वा यस क्षेत्रमा काम गरिरहेका जो कोहीले पनि फेस्टको अवलोकन गर्न सक्ने छन् । 

फेस्टमा सहभागी हुनुभन्दा अगाडि सातै प्रदेशका स्टार्टअप र आइसिटी अवार्डका सेमिफाइनलिष्टहरूलाई मेन्टरिङ, बुटक्याम्प र इण्डष्ट्रि भिजिट जस्ता कार्यक्रम सञ्चालन भइसकेका छन् ।

सातै प्रदेशका स्टार्टअपहरुबाट हरेक प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिने छ । अवार्डको ग्राण्ड फिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा आयोजना हुँदैछ । 

अहिले आइसिटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रकृया सञ्चालनमा रहेको छ । फेस्टमै अवार्डको स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसन विधाका सेमिफाइनलिष्टहरूलाई अवलोकनकर्ताले भोट समेत गर्न सक्ने छन् ।