कीवर्डहरू -

डिजिटल बैंकले बैंकिङ कारोबार गर्न सक्ने व्यवस्था प्रस्ताव, डिजिटल मुद्रालाई मान्यता

डिजिटल बैंकले बैंकिङ कारोबार गर्न सक्ने व्यवस्था प्रस्ताव, डिजिटल मुद्रालाई मान्यता

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा डिजिटल बैंकले पनि बैंकिङ तथा वित्तीय कारोबार गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । 

प्रतिनिधि सभामा दर्ता भएको विधेयकमा डिजिटल बैंकले बैंकिङ तथा वित्तीय कारोबार गर्न सक्ने र नेपाल राष्ट्र बैंकले जारी गरेको डिजिटल मुद्रालाई समेत मान्यता दिने प्रस्ताव गरिएको हो । 

डिजिटल बैंकले पनि राष्ट्र बैंकले तोके अनुसार निक्षेप लिने, कर्जा प्रवाह गर्ने समेतका बैंकिङ तथा वित्तीय कारोबार गर्न सक्ने संशोधनमा उल्लेख छ । 

संशोधनमा डिजिटल मुद्रा स्वीकार गर्ने र भुक्तानी दिने व्यवस्था थप गरिएको छ । डिजिटल मुद्राको प्रयोग र प्रवर्द्धनका लागि यो नयाँ व्यवस्था प्रस्ताव भएको हो । 

यस्तै यसमा विद्युतीय माध्यमबाट जम्मा गरेको रकमलाई कानुनी वैधता दिन पनि प्रस्ताव गरिएको छ । यसअघि ऐनमा यस्तो व्यवस्था थिएन । 

संशोधनमा विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा कर्जा प्रवाहलाई विद्युतीय कारोबारको परिभाषामा समेटिएको छ ।