कीवर्डहरू -

आविष्कार केन्द्रका इन्जिनियरले नेपालमै बनाए स्वचालित ड्रोन, परीक्षण पनि सफल

आविष्कार केन्द्रका इन्जिनियरले नेपालमै बनाए स्वचालित ड्रोन, परीक्षण पनि सफल

राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै स्वचालित ड्रोन बनाएको छ । आविष्कार केन्द्रका इन्जिनियरहरुको टिमले ड्रोन विकास र सफल परीक्षण गरेको हो ।

केन्द्रका संस्थापक महावीर पुनले केन्द्रको इन्जिनियरको टिमले विभिन्न किसिमका ड्रोनहरु बनाएर विभिन्न जिल्लाको दुर्गम गाउँहरुमा गएर त्यसको विभिन्न किसिमका क्षमताहरुको परीक्षणहरु गरिरहेको जानकारी दिएका छन् । 

‘राष्ट्रिय आविष्कार केन्द्रमा ९ जना इन्जिनियरहरुको एउटा बलियो ड्रोन टीम छ । त्यस बाहेक अमेरिकाको एमआईटी र नेदरल्याण्डको टीयू डेल्फ विश्वविद्यालयका विद्यार्थीहरुले पनि सो टीमसँग काम गरि रहेका छन,’ पुन भन्छन्, ‘उनीहरुले विभिन्न किसिमका ड्रोनहरु बनाएर दुर्गम गाउँहरूमा गएर परीक्षणहरु गरिरहेका छन् र सो काममा निकै नै सफलता प्राप्त गरेका छन् ।’

केन्द्रमा बनेको लामो दुरीको स्वचालित VTOL Fixed Wing Drone हरुले अहिलेसम्म करिब ३० किलोमिटर सम्म उडेर सफलतापूर्व उडेकै ठाउँमा फर्कन सकेका उनको भनाइ छ ।

टिमले २५ किलोग्रामसम्म बोक्न सक्ने मल्टी रोटर ड्रोन पनि बनाएर परीक्षण गरिरहेको छ । ड्रोनहरु बनाउनको लागि चाहिने पार्टपुर्जाहरु विदेशबाट आविष्कार केन्द्रले ल्याई दिने गरेको छ । तर ड्रोनहरुको सम्पूर्ण डिजाईन र जडान केन्द्रमै हुने गरेको छ ।

ड्रोनहरू स्वचालित रुपमा निश्चित बाटोमा उड्ने गरी विकास गरिएको छ । साथै निश्चित ठाउँसम्म पुर्याएर उडेकै ठाउँसम्म ल्याउन चाहिने सफ्टवेरहरू केन्द्रको टिमले बनाएको छ ।

अबको एक दुइ बर्षपछि नेपालमा पनि राम्रो र उपयोगी ड्रोनहरु बन्ने पुनको दावी छ ।