कीवर्डहरू -

पाटन अस्पतालमा अब अनलाइनबाटै ओपीडी टिकट, लाइन बस्नुपर्ने झन्झट हट्ने

पाटन अस्पतालमा अब अनलाइनबाटै ओपीडी टिकट, लाइन बस्नुपर्ने झन्झट हट्ने

काठमाडौं । पाटन अस्पताल लगनखेलले बिरामीको सहजताका लागि अनलाइन ओपीडी टिकट सेवा सुरु गरेको छ । अब सेवाग्राहीले अस्पतालको वेबसाइटमार्फत घरबाटै ओपीडी टिकट लिन सक्नेछन् ।

सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत रहेको बुँदा नं. ३२ कार्यान्वयन गर्ने क्रममा अस्पतालले डिजिटल टिकट प्रणाली सञ्चालनमा ल्याएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयको अनुगमन टोलीले मंगलबार अस्पतालको निरीक्षण गरेकी थिइन् । सो क्रममा अस्पताललाई सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाउन निर्देशन दिइएको थियो ।

अस्पतालका अनुसार नयाँ प्रणाली लागू भएपछि ओपीडी टिकट लिन बिहानै अस्पताल पुगेर लामो समय लाइन बस्नुपर्ने समस्या कम हुनेछ । अनलाइनबाट टिकट लिने बिरामीले डिजिटल माध्यमबाटै शुल्क भुक्तानी गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ ।

अस्पतालले डिजिटल सेवाले बिरामीलाई छिटो, सहज र पारदर्शी स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने जनाएको छ । हाल अस्पतालको ओपीडी सेवा सार्वजनिक बिदाबाहेक अन्य दिन बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

अनलाइन टिकट लिएका बिरामीलाई बिहानको सेवाका लागि ९:३० बजेदेखि १२:३० बजेसम्म र दिउँसोको सेवाका लागि २:३० बजेदेखि ४:३० बजेसम्म अस्पतालमा उपस्थित हुन अनुरोध गरेको छ ।