गूगलले आफ्नो ‘फाइण्ड माई डिभाइस’ एपमा ठूलो र महत्वपूर्ण अपडेट जारी गरेको छ । यससँगै अब हराएको डिभाइस खोज्न सक्ने मात्रै नभएर, साथीभाइ र परिवारका सदस्यहरूको वास्तविक–समय (रीयल–टाइम) लोकेशन ट्र्याक गर्न पनि सकिने छ ।
यो नयाँ सुविधा मार्च एन्ड्रोइड फिचर ड्रपको हिस्सा थियो र अब यसलाई अझ धेरै प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको छ । पहिले, साथीभाइ र परिवारका सदस्यहरूको लाइभ लोकेशन हेर्नका लागि ‘गूगल म्याप्स’ को प्रयोग गरिन्थ्यो । तर, अब ‘फाइण्ड माई डिभाइस’ एपमा नै यो सुविधा थपिएको छ, जसले गर्दा यो एप्पलको फाइण्ड माई’ एपको प्रत्यक्ष प्रतिस्पर्धी बनेको छ ।
जो प्रयोगकर्ताहरू पहिले नै ‘गूगल म्याप्स’ मार्फत आफ्नो लोकेशन साझा गरिरहेका थिए (चाहे तिनीहरू आईओएस प्रयोगकर्ता नै किन नहोस्), अब उनीहरूको लोकेशन ‘फाइण्ड माई डिभाइस’ एपमा पनि देखिनेछ । यसको अर्थ, अब तपाईं एकै एपबाट आफ्नो हराएको फोन र प्रियजन—दुवैलाई ट्र्याक गर्न सक्नुहुन्छ ।
‘फाइण्ड माई डिभाइस’ एपमा अब एक नयाँ पिपल ट्याब थपिएको छ, जहाँ ती सबै सम्पर्कहरू देखिनेछन्, जसले आफ्नो लोकेशन तपाईंलाई साझा गर्न अनुमति दिएका छन् । यो नयाँ सुविधासँगै प्रयोगकर्ताले आफ्नो लोकेशन शेयरिङ सेटिङ्सलाई पनि व्यवस्थापन गर्न सक्नेछन् ।