कीवर्डहरू -

चौंथो वर्षमा आइसिटी समाचार डटकम

आईसीटी समाचार डटकमको तेस्रो वार्षिकोत्सव

चौंथो वर्षमा आइसिटी समाचार डटकम

‘प्रविधि सँगसँगै’ भन्ने नारासहित सुरू भएको आईसीटी समाचार डटकम तेस्रो वर्ष पूरा गरी चौंथो वर्षमा प्रवेश गरेको छ । हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को प्रयोग र विस्तार बढ्दै जाँदा यस क्षेत्रको विधागत पत्रकारिताको रूपमा ३ वर्ष अगाडि आईसीटी समाचार डटकम सुरू भएको थियो । 

आईसीटी पत्रकारितालाई विधागत पत्रकारिताको रूपमा स्थापित गर्नुपर्छ भन्ने हाम्रो यात्रा चौथो वर्षमा प्रवेश गर्दै गर्दा यहाँसम्म ल्याउन साथ, सहयोग दिनु हुने हाम्रा पाठक, दर्शक, विज्ञापनदाता, समाचार स्रोत, सरोकारवाला लगायत शुभेच्छुकहरूमा ह्रदयदेखि नै हार्दिक आभार प्रकट गर्न चाहन्छौं । 

पत्रकारिताको मूलभूत सिद्धान्तलाई अंगिकार गर्दै सूचना तथा सञ्चार प्रविधिलाई मुख्य विधा बनाउँदै हामीले समाचार, अन्तर्वार्ता, स्टोरी, फिचर, रिपोर्ट, प्रकाशन र प्रसारण गर्दै आएको यहाँहरूलाई जानकारी नै छ । आइसिटी समाचार निष्पक्ष सूचनाको संवाहक भएको तथा हाम्रो लक्ष्य र उदेश्य पनि सही सूचना, जानकारी र सामग्रीमार्फत ज्ञानमा आधारित समाजको विकास गर्ने प्रयास नै हो ।

नेपालमा सञ्चार तथा सूचना प्रविधिलाई मुख्य बिट बनाउँदै पत्रकारिता गर्नु आफैमा एउटा चुनौती त छँदैछ । तर पनि तपाईको अगाध माया, स्नेह र विश्वासले त्यो चुनौतीसँग पौठी जोरी खेल्दै अगाडि बढ्ने हौसला प्रदान गरेको छ ।

आईसीटी समाचारको तेस्रो वार्षिकोत्सवको अवसरमा हामीले नयाँ डिजाइनसहितको वेबसाइट समेत सार्वजनिक गरेका छौं । वेबसाइट र हाम्रा कन्टेन्टलाई प्रयोगकर्तामैत्री बनाउने हाम्रो प्रयास निरन्तर जारी छ ।

सन् २०११ मा हामीले लिभिङ विथ आइसिटी म्यागजिन सुरू गरेका थियौं, जुन सम्भवत सूचना प्रविधिमा केन्द्रित पहिलो स्थापित म्यागजिन (मिडिया) थियो । लिभिङ विथ आइसिटी अहिले मिडिया मात्र नभएर डिजिटल इकोसिस्टमको एक बलियो सारथी समेत भएको छ ।

निजी क्षेत्रबाट आईसीटीलाई प्रवर्द्धन गर्ने, स्टार्टअप र इन्नोभेसनको प्लेटफर्मसँगै यस क्षेत्रमा काम गर्ने अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने काम गरिरहेको नै छ । धेरै आईटी प्रोफेसनल र स्टार्टअपहरुको सारथी बन्न पाएकोमा लिभिंग विथ आइसिटी सदैव गर्व गर्दछ ।

कोरोना महामारीपछि म्यागजिनको नियमित प्रकाशन नभएपनि डिजिटल रुपान्तरणका विभिन्न प्रयास, स्टार्टअप फेस्ट र आइसिटी अवार्डमार्फत आइसिटीको क्षेत्रमा लिभिङ विथ आइसिटी सधैं क्रियाशिल छ । कोरोना महामारी सँगसँगै सुरू भएको आइसिटी समाचार डटकम डिजिटल प्रविधिमार्फत सूचना प्रविधिको निष्पक्ष र सही सूचनाको संवाहकको रुपमा काम गर्न हाम्रो समूह निरन्तर कर्ममा छ ।

अबको भविष्य भनेकै सूचना तथा सञ्चार प्रविधिको हो । हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको अनिवार्यता भइसकेको छ । छिटो, छरितो, सेवा प्रवाह गर्न होस् वा सेवा लिन नै किन नहोस् सबै क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको अनिवार्यता तपाई हामी सबैले महशुस गरेका छौं । त्यसैकारण सूचना तथा सञ्चार प्रविधि सम्बन्धि स्वदेश तथा विदेशका सूचना र ज्ञान नेपाली भाषामै सबैले बुझ्ने गरी दिने हाम्रो अभियान निरन्तर जारी छ ।

अन्ततः हाम्रो मुख्य ध्येय भनेकै नेपाली जनतालाई प्रविधि सँगसँगै अगाडि बढाउनु हो । अन्त्यमा, तेस्रो वर्षसम्म आइसिटी समाचार डटकमलाई तपाईले दिएको माया, स्नेह र विश्वासप्रति हामी सधैं कृतज्ञ छौं । आगामी दिनमा पनि तपाईहरूको शुभेच्छा, सद्भाव, सल्लाह र सुझाव यसरी नै पाइरहने छौं भन्ने आशासहित सबैलाई पुनः धन्यवाद ।