कीवर्डहरू -

गुगलको इतिहासकै सबैभन्दा ठूलो डिल: ३२ अर्ब डलरमा इजरायली साइबर सुरक्षा कम्पनी विजको अधिग्रहण

गुगलको इतिहासकै सबैभन्दा ठूलो डिल: ३२ अर्ब डलरमा इजरायली साइबर सुरक्षा कम्पनी विजको अधिग्रहण

गुगलले आफ्नो इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता गरेको छ । कम्पनीले साइबर सुरक्षा सेवा प्रदान गर्ने इजरायली स्टार्टअप विजलाई ३२ अर्ब डलर (करिब ४४ खर्ब रुपैयाँ) मा अधिग्रहण गर्न लागेको छ ।

गुगलले १८ मार्च २०२५ मा यस डिलको औपचारिक जानकारी दिएको थियो । यो सम्झौता त्यस्तो समयमा भएको छ जब गुगलको इन्टरनेट स्वामित्वलाई विभाजन गर्ने बहस चलिरहेको छ ।

यसअघि गुगलको सबैभन्दा ठूलो अधिग्रहण सन् २०१२ मा भएको थियो, जब कम्पनीले मोटोरोला मोबिलिटी लाई १२.५ अर्ब डलर मा खरिद गरेको थियो । तर अहिले गुगलले विजलाई ३२ अर्ब डलर मा किनेपछि यो सम्झौता कम्पनीकै इतिहासमा सबैभन्दा ठूलो अधिग्रहण बनेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को माग तीव्र गतिमा बढिरहेको छ, जसका कारण गुगल, अमेजन र माइक्रोसफ्ट बीच कडा प्रतिस्पर्धा छ ।

गुगलको यो नयाँ अधिग्रहणले क्लाउड कम्प्युटिङ व्यवसायलाई विस्तार गर्न सहयोग गर्नेछ । हाल यो डिल नियामक निकायबाट स्वीकृति पाउने प्रक्रियामा छ । डिल पूरा भएपछि पनि विजले गुगल क्लाउड सँगै काम गर्नेछ ।

गुगलको मुख्य आम्दानी सर्च र विज्ञापन बाट भए पनि, एआई प्रविधिको आगमनपछि गुगल क्लाउड पनि महत्वपूर्ण बन्न थालेको छ ।

गुगल क्लाउड डिभिजनले सन् २०२२ मा २६.३ अर्ब डलर आम्दानी गरेको थियो । तर २०२४ मा एआई प्रविधिको वृद्धिसँगै क्लाउड आम्दानीमा ६४ प्रतिशत वृद्धि भएर ४३.२ अर्ब डलर पुगेको छ ।

विजको स्थापना सन् २०२० मा चार इजरायली मित्रहरूले गरेका थिए, जो इजरायली सेनामा कार्यरत थिए । यो स्टार्टअप न्युयोर्कमा आधारित छ र डाटा सेन्टर सुरक्षा उपकरणहरू निर्माण गर्छ ।

कम्पनीका सीईओ असाफ रप्पापोर्ट का अनुसार क्लाउड सुरक्षा लाई बुद्धिमान, सरल र पहुँचयोग्य बनाउन आवश्यक छ ताकि एआई सुरक्षित रूपमा प्रयोग गर्न सकियोस । यस वर्ष कम्पनीले १ अर्ब डलर आम्दानीको लक्ष्य राखेको छ ।

गुगलका सीईओ सुन्दर पिचाई ले भने, “यस सम्झौताले गुगल क्लाउडलाई अझ प्रभावकारी बनाउनुका साथै सुरक्षा बलियो बनाउनेछ र लागत पनि घटाउनेछ ।"

गुगलले विजको अधिग्रहणको प्रयास लामो समयदेखि गर्दै आएको थियो । गुगलले सन् २०२४ को जुलाई मा २३ अर्ब डलर को प्रस्ताव राखेको थियो, तर विजले यो अस्वीकार ग¥यो । त्यसपछि कम्पनीले शेयर बजारमा सूचीकृत हुने योजना बनाएको थियो । तर अहिले ३२ अर्ब डलर को प्रस्ताव स्वीकार गर्दै गुगल र विजबीच सम्झौता तय भएको छ ।

नयाँ सरकार गठनपछि नियामक वातावरण पहिलेभन्दा अनुकूल हुने अपेक्षा गरिएको थियो।  यसै कारण गुगलले जुलाई २०२३ मा विजलाई २३ अर्ब डलर मा खरिद गर्ने प्रस्ताव राखेको थियो । तर पछि यो रकम बढाएर ३२ अर्ब डलर पु¥याइयो ।

यस सम्झौतालाई थप सुरक्षित बनाउन गुगलले ब्रेकअप शुल्क ३.२ अर्ब डलर भन्दा बढी तोकेको थियो, जुन कुल डिलको १० प्रतिशत भाग थियो । यसको अर्थ, यदि कुनै नियामक समस्या वा अन्य कारणले यो डिल रद्द भएमा गुगल विजलाई यो ठूलो रकम तिर्न तयार हुने थियो ।

यसअघि पनि गुगल र विजबीच सम्झौताको प्रयास भएको थियो, तर २०२३ मा सम्झौता टुंगोमा पुग्न सकेन् । विजका अधिकारीहरूले आफ्नो कम्पनीलाई सार्वजनिक रूपमा सूचीबद्ध गरी पूँजी संकलन (आईपीओ) गर्ने योजना बनाएकाले गुगलको प्रस्ताव अस्वीकार गरेका थिए ।

२० जनवरी २०२५ मा डोनाल्ड ट्रम्प पुनः अमेरिकी राष्ट्रपति बनेपछि यो सम्झौतासम्बन्धी छलफल पुनः सुरु भयो ।

ट्रम्प प्रशासनमा भएका केही प्रमुख नियुक्तिहरूले यो सम्झौताले स्वीकृति पाउने सम्भावना बढाइदियो । एन्ड्रू फग्र्युसनलाई फेडरल ट्रेड कमिसन (एफटीसी) को अध्यक्ष बनाइयो भने गेल स्लेटरलाई न्याय विभाग (डीओजे) को प्रतिस्पर्धा विरोधी मामिलाको प्रमुख बनाइयो ।

यसका कारण विज र गूगलका अधिकारीहरूमा विश्वास बढ्यो कि अब नियामक अवरोधहरू पार गर्न सकिनेछ । अघिल्लो सरकारको पालामा बजारमा नकारात्मक माहोल थियो । विशेष गरी, जब एडोबले २० अर्ब डलर मा फिग्मा खरिद गर्न खोज्दा प्रतिस्पर्धा विरोधी कानुनका कारण सम्झौता रद्द भयो ।

यस घटनाले विजका अधिकारीहरूलाई चिन्तित बनाएको थियो कि उनीहरूको डिल पनि असफल हुन सक्छ । तर ट्रम्प प्रशासन आएपछि स्थिति फेरि अनुकूल बन्यो । 

तर, गुगल हालै पनि अमेरिकी न्याय विभाग (डिओजे) द्वारा दुईवटा ठूला मुद्दाहरू को सामना गरिरहेको छ :

  • सर्च इन्जिन बजारमा एकाधिकार कायम राखेको आरोप 
  • विज्ञापन प्रविधिमा प्रतिस्पर्धाविरोधी गतिविधि (ad technology antitrust practices)

तर, एफटीसी अध्यक्ष एन्ड्रू फग्र्युसन र न्याय विभागका गेल स्लेटर को नियुक्तिपछि विज र गुगल का अधिकारीहरूमा सम्झौता सफल हुने विश्वास बढेको छ ।

यी कानुनी चुनौतीहरू भएता पनि गुगल आफ्नो विस्तार योजनामा अघि बढिरहेको छ । विजको अधिग्रहण यो रणनीतिको ठूलो हिस्सा हो । गुगलले विजमा रुचि देखाउनुको मुख्य कारण भनेको यसको तीव्र व्यापारिक वृद्धि हो ।

विजको वार्षिक आम्दानी वृद्धिदर ७० प्रतिशत छ । यसको वार्षिक राजस्व ७०० मिलियन डलर भन्दा बढी भइसकेको छ । यो कम्पनी क्लाउड सुरक्षामा अग्रणी मानिन्छ । गुगल क्लाउड को सुरक्षालाई अझ बलियो बनाउन विजले ठूलो भूमिका खेल्न सक्छ ।

यो सम्झौता सफल बनाउन गुगल र विजका केही अधिकारीहरूको विशेष योगदान रहेको छ ।