सूचना तथा सञ्चार प्रविधि (आइसिटी) ले शिक्षाका सबै क्षेत्रहरूमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । हालै प्रा डा एस एम तारिक जफरद्वारा इन्टरनेस्नल जर्नल अफ इन्जिनियरिंग रिसर्च एण्ड टेक्नोलोजीमा प्रकाशित अनुसन्धानले आइसिटीको योगदान, यसले ल्याएका चुनौतीहरू र यसको प्रभावको गहिरो विश्लेषण गरेको छ ।
अध्ययनले आइसिटीलाई शिक्षामा एउटा उत्प्रेरकको रूपमा चित्रण गर्दै शिक्षक र विद्यार्थीहरूका लागि नयाँ अवसरहरू सिर्जना गरेको देखाएको छ । आइसिटीले शिक्षण विधिलाई परम्परागत पद्धतिबाट डिजिटल माध्यममा रूपान्तरण गरेको छ ।
यसले अनलाइन प्लेटफर्म, डिजिटल पुस्तकालय, र स्मार्ट कक्षाकोठाका माध्यमबाट विद्यार्थी र शिक्षकहरूलाई सहज शिक्षण–सिकाइ वातावरण प्रदान गरेको छ । अध्ययनले देखाएको छ कि आइसिटीको प्रयोगले विद्यार्थीहरूको प्रस्तुति क्षमता, समस्याको समाधान गर्ने सीप, र सिर्जनात्मक सोचलाई प्रवर्द्धन गरेको छ ।
नेपालमा आइसिटीको प्रभावकारी प्रयोग शिक्षण प्रणालीलाई सुधार गर्ने दिशामा अगाडि बढिरहेको छ । विशेष गरी डिजिटल उपकरणहरूको पहुँचले शिक्षक र विद्यार्थीलाई समयानुकूल ज्ञान प्राप्त गर्न सक्षम बनाएको छ । उदाहरणका लागि, सरकारी विद्यालयहरूमा सौर्य उर्जाद्वारा सञ्चालित कम्प्युटर प्रयोगशालाहरू र स्मार्ट बोर्डहरूको स्थापना भएका छन् ।
तर, ग्रामीण क्षेत्रमा आइसिटीको सीमित पहुँचले यस प्रविधिको लाभ पूर्ण रूपमा उपयोग गर्न सकेको छैन् । ग्रामीण विद्यालयहरूमा इन्टरनेट पहुँचको कमी, आवश्यक उपकरणहरूको अभाव, र शिक्षकहरूको डिजिटल साक्षरता कम हुनु प्रमुख चुनौतीहरू हुन् ।
अध्ययनले निष्कर्ष निकालेको छ कि आइसिटीको प्रयोगले शिक्षण विधिलाई अझ प्रभावकारी बनाउन सकिन्छ । डिजिटल शिक्षाको प्रभावकारी कार्यान्वयनले शिक्षण–सिकाइलाई सबैभन्दा सहज, गुणस्तरीय, र समावेशी बनाउन मद्दत पुर्याउँछ ।
आइसिटीमार्फत नेपालका दुर्गम विद्यालयहरूमा अनलाइन शिक्षणको पहुँच विस्तार गर्ने पहलले विद्यार्थीहरूको सिकाइमा सकारात्मक प्रभाव पारेको छ । डिजिटल लर्निङ म्यानेजमेन्ट सिस्टको उपयोगले अनलाइन शिक्षालाई अझ सहज र प्रभावकारी बनाएको छ ।
पछिल्लो समय विभिन्न स्कुल, कलेजहरूमा प्रविधिको प्रयोगबाट पढाइ हुन थालेको छ । आइसिटीको प्रयोगले शिक्षण विधिहरूलाई परम्परागत पद्धतिबाट डिजिटल माध्यमतर्फ रूपान्तरण गरेको छ । यसले शिक्षक र विद्यार्थीहरूलाई अनलाइन स्रोतहरू, डिजिटल पुस्तकालयहरू, र इन्टरएक्टिभ लर्निङ प्लेटफर्महरूको पहुँच प्रदान गरेको छ ।
नेपालले आइसिटी शिक्षालाई सही रूपमा अपनाएमा यो विकासशील देशको शिक्षा प्रणालीलाई गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने एक माध्यम बन्न सक्छ। आइसिटीले शिक्षामा व्यक्तिगत अनुकूलन (पर्सनलाइज्ड लर्निंग), समूहमा सिकाइ (कोलाबोरेटिभ र्लिंग), र प्राविधिक समाधान (टेक्निलकल सोल्युसन) उपलब्ध गराएर शैक्षिक असमानता घटाउन मद्दत पुर्याउँछ ।
शिक्षामा आइसिटीको प्रयोगका लागि गर्नुपर्ने कुरा
आइसिटी शिक्षाको प्रभावकारी प्रयोगका लागि ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच विस्तार गर्नुपर्छ । सरकारले सार्वजनिक–निजी साझेदारी (पिपिपि) मोडेलमा लगानी गरेर डिजिटल पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्छ ।
शिक्षकहरूलाई डिजिटल उपकरणहरूको प्रयोग सम्बन्धी प्रशिक्षण दिनु जरुरी छ । अध्ययनले डिजिटल साक्षरता भएका शिक्षकहरूले विद्यार्थीहरूको शैक्षिक प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने देखाएको छ ।
यस्तै ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई डिजिटल शिक्षामा सहभागी गराउन अनुदान, सहुलियतपूर्ण ऋण, र अन्य सहायक कार्यक्रमहरूको व्यवस्था गर्न आवश्यक छ ।