कीवर्डहरू -

फ्रि भिपिएन प्रयोग नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह

फ्रि भिपिएन प्रयोग नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले फ्रि भिपिएन ( भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग गर्दा विभिन्न जोखिम निम्त्याउने र यो प्रयोग गर्दा सतर्क रहन प्रयोगकर्तालाई आग्रह गरेको छ ।

यसका साथै प्राधिकरणले  भिपिएन  इन्टरनेटको पहुँचलाई सुरक्षित बनाउन प्रयोग गरिने गरेको स्वीकार समेत गरेको छ । 

टिकटकमाथि प्रतिबन्ध लागेसँगै नेपालमा फ्रि भिपिएनको प्रयोग बढिरहेको सन्दर्भमा प्राधिकरणले फ्रि भिपिएन प्रयोगमा ह्याकरले ह्याक गर्ने संभावना बढि रहेको उल्लेख गरेको छ ।

इन्टरनेटको पहुँचलाई सुरक्षित बनाउन भिपिएन प्रयोग गरिने भएपनि फ्रि भिपिएनको जथाभावी प्रयोग जोखिमपूर्ण हुनसक्ने सार्वजनिक सूचनामार्फत प्राधिकरणले जनाएको हो ।

“इन्टरनेटमा सजिलै प्राप्त हुने अधिकांश फ्रि भिपिएनहरुमा डाटाको सुरक्षा तथा गोपनियतासँग सम्बन्धित कमजोरीहरु रहेको अध्ययनहरुले देखाएका छन् । फ्रि भिपिएनको प्रयोग गर्दा देहाय बमोजिमका जोखिमहरु हुने भएकोले फ्रि भिपिएनको प्रयोग नगरौं ÷ नगराऔं ।” प्राधिकरणले सार्वजनिक गरेको सुचनामा  उल्लेख छ । 

फ्रि भिपिएन प्रयोग गर्दा के–के जोखिमहरु हुन्छन् ? 

१. फ्रि भिपिएन प्रदायकहरुले प्रयोगकर्तासँग सम्बन्धित तथ्यांकहरु संग्रह गर्ने र तेस्रो पक्षलाई बिक्री÷वितरण गर्ने सम्भावना हुन्छ ।

२. फ्रि भिपिएन प्रदायकहरुले प्रयोगकर्ताको सबै अनलाइन गतिबिधिहरु अनाधिकृत रुपमा निगरानीगर्ने सम्भावना रहन्छ ।

३. फ्रि भिपिएन मार्फत इन्टरनेट प्रयोग गर्दा इन्टरनेटको गति तथा गुणस्तर कम हुने हुन्छ ।

४. फ्रि भिपिएन को माध्यमबाट प्रयोगकर्ताको कम्प्युटर/मोबाइलमा मालवेयर डाउनलोड हुन सक्ने र यसले प्रयोगकर्ताको प्रणाली र संवेदनशील डाटालाई हानी पुर्याउने सम्भावना रहन्छ ।

५. फ्रि भिपिएन प्रयोग गर्दा ह्याकरले ह्याक गर्ने सम्भावना बढी रहन्छ ।